च्याम्पियन्स लिगका मुखमा हाजार्ड र कार्भाहाल एकसाथ टोलीमा फर्किए

एजेन्सी, वैशाख १०

युरोपियन च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको महत्त्वपूर्ण खेलका मुखमा स्पेनिस क्लब रियल मड्रिडका २ जना प्रमुख खेलाडी टोलीमा फर्किएका छन् । प्लेमेकर इडेन हाजार्ड र डिफेन्डर ड्यानी कार्भाहाल दुवैजना एकसाथ प्रशिक्षणमा साथै टोलीमा फर्किएका हुन् । च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीको सामना गर्नुअघि रियलले घरेलु लिग ला लिगामा रियल बेटिससँग खेल्दै छ ।

सो खेलका लागि प्रशिक्षक जिनेदिन जिदानले घोषणा गरेको प्रारम्भिक टोलीमा विगत लामो समयदेखि चोटसँग जुध्दै आएका दुवैजना खेलाडी समेटिएका छन् । रियलले लिगको ३३औं साताको खेल भोलि राति बेटिससँग खेल्दै छ । सो खेलपछि च्याम्पियन्स लिगमा चेल्सीसँगको महत्त्वपूर्ण खेल हुनेछ ।

राइट ब्याक कार्भाहाल र हाजार्डको कमब्याक रियलका लागि सुखद् खबर हो । पछिल्लो समय लगातार रक्षापंक्तिमा समस्या भोग्दै आएको रियललाई अब कार्भाहालको कमब्याकले पक्कै पनि ठूलो राहत मिलेको छ । तर, अझै पनि प्रमुख डिफेन्डर तथा कप्तान सर्जियो रामोस र राफाएल भाराने भने टोलीबाहिर नै रहेका छन् ।

चेल्सीको खेलअघि कार्भाहाल र हाजार्ड दुवैजनाले भोलि ला लिगामा बेटिसविरुद्धको खेलबाट कमब्याक गर्नेछन् । बेल्जियन स्टार हाजार्ड पूर्वक्लब चेल्सीविरुद्धको खेलअघि चोटमुक्त हुँदै टोलीमा फर्किएकाले यसलाई निकै महत्त्वसाथ हेरिएको छ । दुई वर्षअघि नै चेल्सी छाडेर रियल आएका हाजार्डले चेल्सीविरुद्ध केही दिनपछि पहिलोपटक च्याम्प्यिन्स लिगमा उत्रिँदैछन् ।

प्रकाशित मिति १० बैशाख २०७८, शुक्रबार १५:१८
Loading...