रोनाल्डो सुस्ताउँदा जागेका मेस्सी : रोनाल्डोलाई यसरी गर्दैछन् ‘ओभरटेक’

काठमाडौं, वैशाख १०

जारी सिजन २०२०–२१ को सुरुआती दिनहरूमा स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड तथा कप्तान लिओनल मेस्सी गोलको चर्को खडेरीबाट गुज्रिए । उनले ला लिगा र च्याम्पियन्स लिगमा गरेका सुरुआती ५ गोल त सबै पेनाल्टीमार्फत् मात्रै भएका थिए । त्यसैगरी, उनले गरेका सुरुआती ७ गोलमध्ये ६ गोल पेनाल्टीमार्फत् मात्रै भएका थिए भने एक गोल मात्रै ओपन गोल थियो । पेनाल्टीबिना गोल गर्न नसक्दा त्यसबेला मेस्सीको कम्ता मात्रै आलोचना भएन ।

सिजन सुरु हुनुअघि अप्रत्यासित रूपमा क्लब छाड्ने निर्णय गरेका मेस्सीलाई चाहेअनुसार क्लबले फ्री ट्रान्सफरमा जान दिएन । अन्ततः मेस्सी बाध्य भएर थप एक सिजन बार्सिलोनमै रहन बाध्य भएका थिए । क्लब छाड्ने निर्णय गरेपछि चर्को दबाब र तनावमा रहेर पनि पुनः बार्सिलोनामै रहनुपर्ने भएपछि उनी त्यही तनाव र दबाब बोकेर नयाँ सिजनमा होमिए, बार्सिलोनाकै जर्सीमा । जसको असर सिजनका सुरुआती दिनमा मैदानको प्रदर्शन र व्यक्तिगत तथ्यांकमा पनि प्रष्टै देखियो ।

प्रशिक्षण दौरान र मैदानमा खेल्दा पनि अक्सर निराश देखिने गरेका मेस्सीको मैदानको प्रदर्शन पनि त्यस्तै थियो । उनलाई गोल गर्न पनि ठूलै लडाइँ लडे झैं भएको थियो । च्याम्पियन्स लिगमा गरेका सुरुआती ४ वटै गोल पेनाल्टीमार्फत् मात्रै गरेका उनको आलोचना बढ्दै गर्दा मेस्सी सम्हालिँदै अघि बढे । धेरैले बार्सिलोना करिअरमा मेस्सीको अन्तिम सिजन ज्यादै खराब ढंगले बित्ने भन्दै त्यहाँसम्मको सोच्न पनि भ्याएका थिए । तर, केही समयपछि उनको प्रदर्शन क्रमशः सुधारिँदै गयो । मेस्सीले लय समात्दै गए ।

यसरी यो सिजनको सुरुआत गरेका मेस्सी मध्य सिजनबाट शानदार लयमा फर्किए । सिजन मध्य भागमा पुगेदेखि नै उत्कृष्ट लयमा खेलिरहेका मेस्सी अहिले सिजन सकिनै लाग्दा झनै राम्रो गरिरहेका छन् । बार्सिलोना यो सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा फ्रेन्च क्लब पिएसजीसँग लज्जास्पद हार भोग्दै आउट भए पनि मेस्सीकै प्रेरणामा बार्सिलोनाले कोपा डेल रे उपाधि जितिसकेको छ भने ला लिगाको उपाधि होडमा पनि बलियो भएर फर्किएको छ ।

तर धेरैले ख्याल नगरेको कुरा के छ भने, शानदार लयमा फर्किए पनि मेस्सी अधिकांश साना टिम र तुलनात्मक रूपमा कमजोर टिमविरुद्धका खेलमा मात्रै चम्किएका छन् । तथ्यांकले यही बताउँछ । मेस्सीले यो सिजन च्याम्पियन्स लिगमा खेलेका अधिकांश ठूला र महत्त्वपूर्ण खेलहरूमा गतिलो प्रदर्शन रहेन । यता, ला लिगामा पनि इएल क्लासिको र एथ्लेटिको मड्रिडविरुद्धका महत्त्वपूर्ण खेलमा मेस्सीको प्रदर्शन बिर्सनलायक रह्यो । इएल क्लासिकोमा त उनका नाममा इतिहासकै खराब रेकर्ड नै बन्यो ।

कुनैबेला बार्सिलोना ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिडभन्दा १३ अंकले पछि थियो । तर, अहिले एक खेल कम खेलेको अवस्थामा पनि मात्रै ५ अंकले पछि छ । यदि बाँकी खेल जिते उसले एथलेटिकोसँगको दूरी २ मा झार्नेछ । र, बार्सिलोनाका लागि उपाधि होडमा उत्रिन यो निकै राम्रो अवस्था छ । यदि एथ्लेटिकोसँग खेल्न बाँकी दोस्रो लेगको खेल र बाँकी आफ्ना सबै खेल जिते बार्सिलोनाले सबैलाई रियल मड्रिड र एथ्लेटिकोलाई जिल्याउँदै लिग च्याम्पियन बन्नेछ ।

यो स्थितिबाट बार्सिलोना अघि बढ्दा कप्तान मेस्सीले टिमलाई ठूलो टेवा दिँदै आएका छन् । उनको व्यक्तिगत तथ्यांकले पनि यो देखाउँछ । गत राति बार्सिलोनाले ला लिगामा ३१औं साताको खेलमा आफ्नो मैदानमा गेटाफेलाई ५–२ को फराकिलो अन्तरमा हरायो । सोक्रममा मेस्सीले २ सुन्दर गोलका साथै १ गोलमा असिस्ट पनि प्रदान गरेका थिए । टिमका लागि उनले ३ गोलमा सोझै योगदान दिए । र, मेस्सीकै प्रेरणामा बार्सिलोना उपाधितर्फ एक कदम अघि बढ्यो ।

मेस्सीले रोनाल्डोलाई गर्दैछन् ओभरटेक

यो सिजन सुरुआती १० खेल सकिँदा मेस्सी आफ्ना खास प्रतिस्पर्धी इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा निकै पछि थिए । मेस्सीले सुरुआती ४ गोल पेनाल्टीमार्फत् गर्दा रोनाल्डोका नाममा कूल ११ गोल भइसकेको थियो । जतिबेला मेस्सी चर्को गोलको खडेरीबाट गुज्रिरहेका थिए, ठीक त्यसबेला रोनाल्डो भने इटालीमा चम्किरहेका थिए । तर, अहिले अवस्था बदलिएको छ । मध्य सिजनबाट नाटकीय रूपमा जागेका मेस्सी सिजन सकिनेतर्फ अघि बढ्दै गर्दा झनै चम्किरहेका छन् भने सिजनको सुरुआतमा जागेका रोनाल्डो अहिले लगातार सुस्ताइरहेका छन् । उनी आलोचित बनिरहेका छन् ।

घरेलु लिगको मात्रै कुरा गर्दा कुनै बेला मेस्सीले ११ खेलबाट ४ गर्दा रोनाल्डोले मात्रै ७ खेलबाट ११ गोल गरिसकेका थिए । तर, अहिले रोनाल्डोलाई मेस्सीले ‘ओभरटेक’ गर्न लागेका छन् । गत राति मेस्सीले २ गोल गरेपछि मेस्सीका नाममा ला लिगामा कूल २५ गोल भएको छ । यता, रोनाल्डोले सिरी ए लिगमा कूल २५ नै गोल गरेका छन् । सिनजको सुरुआतमा आधाभन्दा बढीले पछि परेका मेस्सीले अहिले रोनाल्डोको लिग गोल संख्यासँग बराबरी गरिसकेका छन् ।

रोनाल्डोले सिरी ए लिगमा यो सिजन २८ खेलबाट २५ गोल र ३ गोलमा असिस्ट गरेका छन् । यता, मेस्सीले ला लिगामा २९ खेलबाट २५ गोल र ९ असिस्ट गरेका छन् । समग्रमा हेर्दा रोनाल्डोले लिगमा कूल २८ खेलबाट २८ नै गोलमा योगदान दिएका छन् भने मेस्सीले २९ खेलबाट कूल ३४ गोलमा योगदान दिएका छन् । समग्रमा हेर्दा अहिले नै रोनाल्डोभन्दा मेस्सीको व्यक्तिगत तथ्यांक निकै शानदार छ । रोनाल्डो र मेस्सी यो सिजन आ–आफ्नो लिगका एकल सर्वाधिक गोलकर्ता हुन् । दुवैलाई शीर्ष स्थानमा सहज गोलअन्तर छ ।

प्रकाशित मिति १० बैशाख २०७८, शुक्रबार १४:१८
Loading...