हुएस्कामाथि एथ्लेटिको मड्रिडको सहज जित : शीर्ष स्थानमा दूरी बढायो

काठमाडौं, वैशाख १०

स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि होडमा रहेको एथ्लेटिको मड्रिडले लिगको ३२औं साताको खेलमा सहज जित दर्ता गरेको छ । गत राति भएको खेलमा एथ्लेटिकोले १८औं स्थानको हुएस्कालाई २–० ले हरायो । वान्डा मेट्रापोलिटनो रंगशालामा घरेलु टोलीलाई जिताउनका लागि २ जना खेलाडीले गोल गरे ।

एथ्लेटिकोको जितमा युवा खेलाडी मार्कोस लोरेन्टोको योगदान पनि महत्त्वपूर्ण रह्यो । उनले टोलीका २ वटै गोलमा असिस्ट प्रदान गरेर योगदान गरे । पहिलो गोल खेलको ३९औं मिनेटमा एन्जल कोरेरियाले गरेका थिए । लोरेन्टोले दिएको पासमा उनले कुनै गल्ती नगरी बललाई जाली चुमाएका थिए ।

त्यसपछि दोस्रो गोल गर्न एथ्लेटिकोलाई अन्तिम समयसम्म लड्नु परेको थियो । यसपटक खेलको ८०औं मिनेटमा यानिक कारास्कोले गोल गरेर अग्रता दोब्बर बनाए । यसपटक पनि गोलमा लोरेन्टोले नै असिस्ट प्रदान गरेका थिए । सो गोलपछि खेलमा थप गोल नभएपछि एथ्लेटिकोले खेल २–० ले जित्यो ।

अब यो जितपछि एथ्लेटिकोले ३२ खेलबाट कूल ७३ अंक जोडेको छ । उसले ताजा अवस्थामा उसले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । गत रातिको जितपछि एथ्लेटिकोले रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा चढेको छ । रियलको खातामा ७० अंक छ । यता, तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ । अब एथ्लेटिको रियलभन्दा २ र बार्सिलोनाभन्दा ५ अंकले अघि छ । तर, बार्सिलोनाले एक खेल कम खेलेको छ ।

प्रकाशित मिति १० बैशाख २०७८, शुक्रबार ०१:५९
Loading...