रोनाल्डो रियल मड्रिड फर्किने ढोका सधैंका लागि बन्द ………

काठमाडौं, वैशाख ९

इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो यो सिजनको अन्त्यपछि पूर्व स्पेनिस क्लब रियल मड्रिड फर्किने चर्चा छ । युभेन्टसमा समस्या बढेपछि हाल ३६ वर्ष पुगेका पोर्चुगिज फरवार्डले क्लब छाड्ने वा युभेन्टस आफैंले उनलाई कम मूल्यमा बेच्न सक्ने बताइन्छ । रोनाल्डो सन् २०१८ मा रियल छाडेर ११६ मिलियन युरोमा युभेन्टस पुगेका थिए ।

रोनाल्डो रियल छाडेर इटाली सर्दा ३३ वर्षका थिए । उनी अहिले ३६ वर्षका भए । अब उनको सक्रिय खेल समय धेरै छैन । तैपनि, रोनाल्डो अझै च्याम्पियन्स लिगसहित व्यक्तिगत ठूला अवार्ड जित्न चाहन्छन् । युभेन्टसमा आफ्नो प्रेरणामा च्याम्पियन्स लिग जित्न नसकेपछि उनले पूर्वक्लब रियल फर्किने मनासाय बनाएको चर्चा चल्दै आएको थियो । रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि यस विषयमा केही संकेत गरेका थिए कि, रोनाल्डोको रियल फिर्ती सम्भव छ ।

तर, रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यो विषय अब सधैंका लागि बन्द गरिदिएका छन् । उनले रोनाल्डो खेलाडीका रूपमा पुनः रियल फर्किने कुरा असम्भव रहेको एक अन्तर्वार्तामा बताएका छन् । रोनाल्डोले विगतमा रियललाई धेरैथोक दिएको र आफूले पनि रोनाल्डोलाई सधैं माया गर्ने भए पनि अब उनी पुनः रियल फर्किने कुरा नसोचेको पेरेजले बताएका छन् । नत्र सरुवा बजारमा रियलले रोनाल्डो फर्काउने अनि फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे भित्र्याएर टोली बलियो बनाउन सक्ने चर्चा चल्दै आएका थिए ।

तर, सन् २००९ मा रोनाल्डोलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा अनुबन्ध गर्ने उनै पेरेजले अब रोनाल्डो रियल फर्किने कुरा सम्भव नभएको स्पष्ट पारेका छन् । ‘क्रिस्टियानो रोनाल्डो अब रियल मड्रिड फर्किनेछैनन् । यसले कुनै अर्थ राख्दैन । किनभने, उनी युभेन्टससँग अनुबन्धित खेलाडी हुन् । यदि उनी त्यहाँबाट खुला हुन्छन् भने पनि रियल मड्रिडले अब उनलाई पुनः अनुबन्ध गर्नेछैन,’ पेरेजले भने ।

पेरेजले अघि थपे, ‘क्रिस्टियानोसँग मेरो अझै पनि एकदमै राम्रो सम्बन्ध छ । उनी यस क्लबका सर्वाधिक सफल खेलाडी हुन् । उनले यस क्लबका लागि धेरैथोक गरेका छन् । यस क्लबले उनलाई सधैं विशेष सम्मान दिनेछ । तर, अब उनी खेलाडी भएर पुनः पर्किने कुरा हामीले सोचेका छैनौं । म उनको आगामी भविष्यका लागि शुभकामना मात्रै भन्न सक्छु ।’

त्यसैगरी, पिएसजीका युवा स्टार केलियन एमबाप्पे अनुबन्ध गर्ने विषयमा पनि पेरेजले बताएका छन् । उनका अनुसार एमबाप्पे भित्र्याउन आजसम्म रियलले कुनै पनि औपचारिक प्रस्ताव गरेको छैन र छलफल पनि थालेको छैन । ‘किलियन एमबाप्पेजस्ता खेलाडीलाई सबैले चाहन्छन् । तर, रियल मड्रिडले आजसम्म उनका लागि अफिसियल प्रस्ताव गरेको छैन, न त छलफल नै अघि बढाएको छ । पिएसजीमा उनको भविष्य के हुन्छ, त्यो मलाई थाहा छैन,’ पेरेजले भने ।

रोनाल्डोलाई युभेन्टसले च्याम्पियन्स लिग जित्ने लक्षयसाथ अनुबन्ध गरेको थियो । तर, रोनाल्डो पुगेपछि पनि युभेन्टसले च्याम्पियन्स सोचेजस्तो प्रगति गर्न नसक्दा अहिले धेरैले रोनाल्डोको अप्रत्यासित सरुवाको आलोचना गर्न थालेका छन् । रोनाल्डो जानुअघि तीन वर्षको बीचमा दुईपटक च्याम्पियन्स लिगको फाइनल पुगेको युभेन्टस रोनाल्डोको अनुबन्धपछि लगातार तीन सिजन सेमिफाइनल पनि पुग्न नसक्दा रोनाल्डोको आलोचना बढेको छ ।

प्रकाशित मिति ९ बैशाख २०७८, बिहीबार १०:११
Loading...