यस सिजन च्याम्पियन्स लिगको विजेताबारे बार्सिलोनाका प्रशिक्षकले गरे यस्तो भविष्यवाणी

एजेन्सी, वैशाख ९

स्पेनिस फुटबल क्लब बार्सिलोना जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै आउट भयो । अन्तिम १६ मा उसलाई फ्रेन्च क्लब पिएसजीले समग्रमा ५–२ को अन्तरमा पराजित गर्दै लगातार छैटौं वर्ष प्रतियोगिताबाट हात धुन बाध्य बनायो । बार्सिलोनाले सन् २०१५ मा यो प्रतियोगिता जितेयता ६ वर्षको बीचमा उपाधि जित्नु त परकै कुरा, एकपटक पनि फाइनल पुग्न सकेको छैन । बरु, उसका नाममा सबैभन्दा खराब हारको रेकर्ड छ ।

जारी सिजन अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनालाई उसकै घरमा पिएसजीले १–४ को अन्तरमा हरायो भने पिएसजीको घरमा भएको दोस्रो लेग १–१ को बराबरीमा सकियो । दुवै लेगको नतिजा जोड्दा बार्सिलोना ५–२ ले पराजित भयो । बार्सिलोना पछिल्ला ६ वर्ष हरेक सिजन आउट हुँदा सधैं लज्जास्पद हार व्यहोर्दै आउट हुँदै आएको छ, जुन बार्सिलोनाका लागि निकै पीडादायी छ ।

जारी सिजन बार्सिलोना सिजनको सुरुआतमै स्पेनिस सुपर कपबाट आउट भयो भने त्यसपछि च्याम्पियन्स लिगबाट । त्यसपछि उसले कोपा डेल रे कपको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४–० ले हराउँदै उपाधि जित्यो । यता, बार्सिलोना अहिले ला लिगाको उपाधि होडमा बलियो दाबेदारीसाथ उभिएको छ । अब बार्सिलोनाले लिगमा खेल्न बाँकी अन्तिम ८ वटा सबै खेल स्पष्ट जितेको खण्डमा उसलाई उपाधि उचाल्नबाट कसैले रोक्न सक्दैन । यी ८ खेलमध्ये एक खेलमा उसले एथ्लेटिको मड्रिडलाई पनि हराउनुपर्छ ।

यसैबीच, बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले यस सिजनको च्याम्पियन्स लिगको उपाधि कसले जित्न सक्छ भन्ने विषयमा आफ्नो भविष्यवाणी राखेका छन् । बार्सिलोनाले आज राति ला लिगामा आफ्नो घरेलु मैदानमा गेटाफेसँग लिगको ३१औं खेल खेल्दैछ । सो खेलअघि आयोजित मिडिया कन्फेरेन्समा सहभागी हुनेक्रममा उनलाई मिडियाले च्याम्पियन्स लिगबारे पनि केही प्रश्न सोधेका थिए । सुरुमा बोल्न नमाने पनि डच कोचले पछि बोलेका थिए ।

च्याम्पियन्स लिगमा अहिले सेमिफाइनल चरणका खेल हुने तयारीमा छन् । सेमिमा इंग्लिस प्रिमियर लिगबाट म्यानचेस्टर सिटी र चेल्सी पुगेका छन् भने स्पेनिस ला लिगाबाट रियल मड्रिड तथा फ्रेन्च लिग वानबाट पिएसजी पुगेको छ । यीमध्ये फाइनलमा रियल र पिएसजी भेट हुन सक्ने कोम्यानले अनुमान गरेका छन् । कोम्यानले यदि बार्सिलोना सेमिफाइनल पुगेको भए फाइनल पुगेर च्याम्पियन बन्ने थियो भन्दै ठट्टा पनि गर्न भ्याए । ‘(हाँस्दै) यदि बार्सिलोना आज सेमिफाइनलमा हुन्थ्यो भने म बार्सिलोना भन्थें होला । तर ….. । अब च्याम्पियन को बन्छ भनेर भविष्यवाणी गर्न कठिन छ । किनभने, सेमिमा रहेका ४ वटै टिम उपाधि जित्न सक्षम छन् ।’

कोम्यानले अघि थपे, ‘उनीहरूले बलिया–बलिया टोलीलाई हराएर त्यहाँसम्म पुगेका छन् । तर, मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने फाइनलमा रियल मड्रिड र पिएसजी पुग्न सक्छन् । हालकै अवस्थामा यी दुईले फाइनल खेले भने रियल मड्रिड बढी दाबेदार हुन्छ होला । किनभने, उनीहरूसँग च्याम्पियन्स लिगको धेरै लामो र राम्रो अनुभव छ । तर, अहिलेको पिएसजी रियल मड्रिडभन्दा वेगिलो छ ।’

कोम्यानले अन्तिममा आफ्नो ध्यान अहिले च्याम्पियन्स लिग कसले जित्छ भन्नेमा नभई बार्सिलोनालाई कसरी ला लिगा च्याम्पियन बनाउने भन्नेमा रहेको बताए । ‘खासमा अहिले हाम्रो ध्यान च्याम्पियन्स लिग कसले जित्दैछ भन्नेमा छैन । हाम्रो ध्यान कसरी ला लिगा जित्ने भन्नेमा छ । हारिसकेको प्रतियोगिताबारे हामीले किन सोच्ने ? हामी जित्न सकिने प्रतियोगिताबारे सोचिरहेका छौं । अब बार्सिलोनाको सम्पूर्ण ध्यान ला लिगामा छ, यसबाहेक हामी दायाँ–बायाँ सोच्न सक्दैनौं,’ कोम्यानले भने ।

कोम्यानले कोपा डेल रे उपाधि जितेपछि आफ्ना खेलाडी ला लिगाका लागि संघर्ष गर्न उच्च मनोबलमा रहेको बताएका छन् । साथै, उनले आफ्नो टिमले लिग जित्नका लागि अन्तिम खेलसम्म कडा महेनत र संघर्ष गर्ने पनि बताए । ‘कप जितेपछि मेरा खेलाडीले आत्मविश्वास आर्जन गरेका छन् । यसले अब ला लिगामा लागि ऊर्जा थपेको छ । हाम्रा हातमा अझै ८ खेल बाँकी छन् । हामी यी सबै खेल जितेर च्याम्पियन बन्न चाहन्छौं,’ कोम्यानले थपे ।

प्रकाशित मिति ९ बैशाख २०७८, बिहीबार ०६:५७
Loading...