आज ला लिगामा एथ्लेटिको मड्रिड र बार्सिलोनाको खेल हुँदै : दुवै टोली चर्को दबाबमा

काठमाडौं, वैशाख ९

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज केही महत्त्वपूर्ण खेलहरू हुँदैछन्, जसमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड र चौथो स्थानको बार्सिलोनाले पनि आज आ–आफ्ना खेलहरू खेल्दैछन् । यी दुवै टोलीका खेलमाथि आज धेरैको नजर रहनेछ । लिगको उपाधि होड निर्णायक मोडतर्फ अघि बढ्दै गर्दा आज उपाधि दाबेदारहरू दुई टिमले एकै दिन आ–आफ्ना खेल खेल्न लागेका हुन् ।

जसमा दोस्रो स्थानको एथ्लेटिकोले आफ्नो ३२औं साताको खेल १८औं सथानको हुएस्कासँग खेल्दै छ । यो खेल एथ्लेटिकोको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १०ः४५ बजेबाट सुरु हुनेछ । आज हुने अर्को खेलमा चौथो स्थानको बार्सिलोेना र १५औं स्थानको गेटाफे पनि आमनेसामने हुँदैछन् । यो खेल बार्सिलोनाको घरेलु मैदानमा राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा रियल मड्रिड ३२ खेलपछि ७० अंकका साथ शीर्ष स्थानमा छ । गत राति उसले क्याडिजलाई हराउँदै शीर्ष स्थानमा चढेको छ । उसले शीर्ष टोली एथ्लेटिकोलाई उछिनेको हो । तर, रियलले एथ्लेटिकोले भन्दा एक खेल बढी खेलेको छ । अहिले दुवैको खातामा समान ७०–७० अंक छ । तर, गोलअन्तरमा रियल अघि छ । यदि आज राति एथ्लेटिकोले आफ्नो खेल जिते वा बराबरी मात्रै गरे पनि ऊ रियललाई उछिन्दै पुनः शीर्ष स्थानमा फर्किनेछ ।

यता, आज राति आफ्नो घरमा गेटाफेसँग भिड्न लागेको बार्सिलोना ताजा अवस्थामा चौथो स्थानमा छ । गत राति तेस्रो स्थानको सेभिल्लाले आफ्नो खेल जितेपछि बार्सिलोना चौथोमा चिप्लिएको हो । अहिले बार्सिलोना लिग लिडर रियल र दोस्रो स्थानको एथ्लेटिकोभन्दा ठीक ५ अंकले पछि छ । तर, बार्सिलोनाले रियलको भन्दा २ खेल र एथ्लेटिकोले भन्दा एक खेल कम खेलेको छ । त्यसैगरी, बार्सिलोना २ खेल बढी खेलिसकेको तेस्रो स्थानको सेभिल्लाभन्दा २ अंकले पछि छ ।

हालको अवस्थामा बार्सिलोना लिग लिडर र दोस्रो स्थानको टिमभन्दा ५ अंकले पछि भए पनि आफ्ना बाँकी दुवै खेल जितेको अवस्थामा बार्सिलोना सिधैं शीर्ष स्थानमा चढ्नेछ । त्यो बेला ऊसँग कम्तीमा १ अंकको अग्रता हुनेछ । अहिले उपाधि होडमा कडा प्रतिस्पर्धा छ । तर, यदि बार्सिलोनाले खेल्न बाँकी आफ्ना ८ वटा सबै खेल शतप्रतिशत जित्न सकेको खण्डमा ऊ सजिलै उपाधि च्याम्पियन बन्नेछ । यसको अर्थ उसले एथ्लेटिको मड्रिडलाई पनि हराउनुपर्छ ।

उपाधि च्याम्पियन बन्ने भए बार्सिलोनाले आफ्ना अबका हरेक खेल जित्नैपर्छ । यदि रियल र एथ्लेटिकोले थप खेल हारे वा बराबरी गरेर अंक गुमाए बार्सिलोनालाई थप सजिलो हुनेछ । हालकै अवस्थामा अहिले सबै क्लबका लागि उपाधि होड खुला छ । तर, बार्सिलोना सहज अवस्थामा छ । खेल्न बाँकी ८ खेलमध्ये बार्सिलोनाको कठिन खेल भनेको एथ्लेटिको मड्रिडसँग हो । यदि यो खेल जित्न सकेको खण्डमा बार्सिलोना उपाधिका लागि सबैभन्दा दाबेदार बन्नेछ ।

तर, एथ्लेटिकोसँग पराजित भए वा बराबरीमा रोकिए यसको सोझो फाइदा रियल मड्रिडलाई पुग्नेछ । र, बार्सिलोना सम्भवतः उपाधिबाट टाढा पुग्नेछ । तसर्थ, बार्सिलोना उपाधि जित्न सक्ने सम्भावनाबीच रहेकाले ऊ अबका हरेक खेल जितेर अघि बढ्न चाहन्छ । उसलाई अहिलेकै स्थितिमा उपाधि च्याम्पियन बन्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने अवस्था छैन । उसले आफ्ना खेल जिते मात्रै पनि उपाधि जित्ने अवस्था छ । उता, एथ्लेटिको पनि आफ्ना खेल जितेर उपाधि च्याम्पियन बन्ने अवस्थामा छ ।

तर, रियल मड्रिडलाई भने आफ्ना सबै खेल जितेर पनि च्याम्पियन बन्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ, जुन कठिन हुन्छ । यदि बार्सिलोना र एथ्लेटिकोबीच तीन सातापछि हुने सिजनको दोस्रो खेल बराबरी भएको खण्डमा रियलका लागि सबैभन्दा राम्रो नतिजा हुनेछ । यदि यस्तै भयो भने त्यहाँ बार्सिलोनाभन्दा अगाडि रियल मड्रिड हुनेछ । र, त्यसबेला उपाधिका लागि रियल र एथ्लेटिकोबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति ९ बैशाख २०७८, बिहीबार ०५:५०
Loading...