ला लिगामा आज ६ खेल : रियल मड्रिडलाई क्याडिजको चुनौती

काठमाडौं, वैशाख ८

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज एकै दिन कूल ६ खेल हुँदैछन् । आज लिगको ३१औं साताअन्तर्गत ६ खेल हुन लागेका हुन् । आज हुने खेलमध्ये सेभिल्ला, भ्यालेन्सिया, एथ्लेटिक बिल्बाओ, भिल्लारियल र रियल मड्रिडले आ–आफ्नो खेल खेल्दैछन् । आजका खेलमध्ये सेभिल्ला र रियलका खेलमाथि धेरैको नजर रहनेछ ।

आज लिगको ३१औं साताको खेल खेल्न रियल क्याडिजको घरेलु मैदानमा उत्रिँदैछ । क्याडिज हाल लिगको १३औं स्थानमा छ भने रियल दोस्रो स्थानमा रहेको छ । उपाधि होडमा कायमै रहनका लागि रियलका लागि अबका हरेक खेल महत्त्वपूर्ण हुनेछन् । ऊ हाल समान खेल खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा स्पष्ट ३ अंकले पछि छ । यता, तेस्रो स्थानको बार्सिलोनाभन्दा २ अंकले अघि छ । तर, बार्सिलोनाले हालकै स्थितिमा पनि एक खेल कम खेलेको छ ।

यदि आज रियलले अवे मैदानमा क्याडिजलाई हराउन सके ऊ एथ्लेटिकोलाई पछि पार्दै शीर्ष स्थानमा चढ्नेछ, एथ्लेटिकोले आफ्नो खेल भोलि मात्रै खेल्नेछ । त्यसैगरी, आजको जितपछि रियलले बार्सिलोनालाई ५ अंकले पछि पार्नेछ । तर, बार्सिलोनासँग थप दुई खेल बाँकी नै हुनेछन् । रियलले आजका खेल जितेको अवस्थामा पनि बार्सिलोनाले आफ्ना बाँकी दुई खेल जिते उसले रियललाई १ अंकले पछि नै पार्नेछ । रियल र एथ्लेटिकोसँग प्रतिस्पर्धा कायमै राख्न रियलले अबका हरेक खेल जित्नुपर्ने दबाब छ । आजका खेल नेपाली समयअनुसार–:

ओसासुना भर्सेस भ्यालेन्सिया – राति १०ः४५ बजे
लेभान्टे भर्सेस सेभिल्ला – राति १०ः४५ बजे
रियल बेटिस भर्सेस एथ्लेटिक बिल्बाओ – राति १०ः४५ बजे
अलाभेस भर्सेस भिल्लारियल – राति १२ः४५ बजे
एइबार भर्सेस भाल्लाडोलिड – राति १२ः४५ बजे
क्याडिज भर्सेस रियल मड्रिड – राति १ः४५ बजे

प्रकाशित मिति ८ बैशाख २०७८, बुधबार ०५:२६
Loading...