मेस्सीले रोजेका दुई खेलाडी अनुबन्ध नजिक बार्सिलोना : को–को हुन् ?

एजेन्सी, वैशाख १

स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना कप्तान लिओनल मेस्सीलाई क्लबमै राख्नका लागि उनलाई फकाउन मेस्सीले नै भनेका केही प्रमुख खेलाडी अनुबन्ध गर्ने तयारी गरेको छ । यस्तो रिपोर्ट बार्सिलोना निकट भनेर चिनिने चर्चित स्पेनिस पत्रिका ‘मुन्डो डेपोभर्टिभो’ले जनाएको छ । उसले ताजा संस्करणमा बार्सिलोना कम्तीमा ३ जना खेलाडी अनुबन्धको निर्णयमा पुगेको दाबी गरेको छ ।

मेस्सीले यो सिजनपछि क्लब छाड्ने पाउने विकल्प छ । तर, नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबमै राख्नका लागि उनले भने अनुसराका नयाँ खेलाडी भित्र्याउने तयारी गरेका छन् । मेस्सीसँग नयाँ सम्झौताका लागि नयाँ अध्यक्ष उनलाई फर्काउने प्रयासमा छन् । त्यसका लागि मेस्सीलाई खुसी बनाउनकै लागि क्लबले केही खेलाडी भित्र्याउने तयारी गरेको छ ।

जसमा यो सिजनको अन्त्यपछि इंग्लिस क्लब म्यानचेस्टर सिटी छाड्ने घोषणा गरेका फरवार्ड सर्जियो अगुएरो छन् । अगुएरो र मेस्सी दुवैजना अर्जेन्टिनाका हुन् । अगुएरो हाल ३२ वर्षका छन् । मेस्सी र उनलाई बार्सिलोनामा नयाँ सम्भावित जोडीका रूपमा हेरिएको छ । सिटीसँग सम्झौता सकिएकाले बार्सिलोनाले उनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न पाउनेछ । समर्थकहरू पनि मेस्सी र अगुएरोलाई बार्सिलोनामा सँगै खेलेको हेर्न चाहन्छन् ।

मेस्सीले बार्सिलोनामा चाहेका अर्का खेलाडी भनेको जर्मन क्लब बार्यन म्युनिखका भरपर्दा डिफेन्डर तथा मिडफिल्डर डेबिड अलबा हुन् । २८ वर्षका अस्ट्रियन खेलाडी उनलाई पनि बार्सिलोनाले निःशुल्क अनुबन्ध गर्न पाउँछ । यो सिजनको अन्त्यसँगै उनको सम्झौता सकिँदैछ । आफ्नो फितलो रक्षापंक्ति सुधार गर्नका लागि बार्सिलोनाले अलबालाई उत्तम विकल्प मानेको छ ।

तर, उनलाई भित्र्याउन स्पेनकै रियल मड्रिड मुख्य दाबेदार देखिएको छ । केही समयअघिका रिपोर्टअनुसार त रियल र अलबाबीच प्रारम्भिक सहमति समेत भइसकेको रिपोर्ट आएको थियो । अझै पनि रियल मड्रिडमा अलबाको सरुवा सम्भावित देखिन्छ । तर, बार्सिलोना अलबालाई फुत्काउन चाहन्छ । हाल टोलीमा रहेका जेरार्ड पिके, जोर्डी अल्बाको बढ्दो उमेरबीच बार्सिलोना विकल्पमा प्रभावकारी खेलाडीको खोजीमा रहेको छ ।

यता, बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान भने अगुएरोको स्थानमा फ्रेन्च क्लब पिएसजीका डच फरवार्ड मेम्फिस डिपे भित्र्याउने अडानमा छन् । उनले आफ्नै देशका फरवार्डलाई पूर्वखेलाडी लुइस स्वारेजको स्थानमा भित्र्याउन चाहेका छन् । तर, कोम्यानको यो योजनाप्रति भने कप्तान मेस्सी र नयाँ अध्यक्ष सकारात्मक नरहेको बताइन्छ । आगामी समर सिजनका लागि बार्सिलोनाले ७ देखि ९ जनासम्म खेलाडी बेचेर नयाँ खेलाडीमा लगानी गर्ने तयारी गरेको छ ।

यता, पछिल्ला केही ताजा रिपोर्टहरू अनुसार बार्सिलोनाले पूर्वफरवार्ड नेइमारलाई फ्रेन्च क्लब पिएसजीबाट फर्काउन सक्ने सम्भावना बढेको पनि चर्चा छ । तर, त्यो त्यत्ति सजिलो भने छैन । मेस्सी अझै पनि पहिलो प्राथमिकतामा नेइमारको पक्षमा देखिन्छन् । तर, सरुवा फीका कारण बार्सिलोनो नेइमारलाई अहिले नै भित्र्याउने सम्भावना न्यून छ । पिएसजीसँग नेइमारको सम्झौता सकिएपछि पनि नेइमारको बार्सिलोना फिर्ती सम्भावित देखिन्छ ।

यता, बार्सिलोनाले अनुबन्ध गर्ने ककि पक्का भएका खेलाडी म्यानचेस्टर सिटीका युवा डिफेन्डर इरिक गार्सिया हुन् । नयाँ सिजनबाट उनी बार्सिलोनाको खेलाडी हुने करिब पक्का छ । यसबाहेक जर्मन क्लब बोरुसिया डर्टमुन्डका अर्लिङ हल्यान्डमाथि पनि बार्सिलोनाका नयाँ अध्यक्षले विशेष रूपमा चासो देखाउँदै आएका छन् । तर, उनको अध्यधिक महँगो सरुवा फी बार्सिलोनालाई ठूलो तनावको विषय बनेको छ ।

प्रकाशित मिति १ बैशाख २०७८, बुधबार ०६:३०
Loading...