च्याम्पियन्स लिग : आज म्यानचेस्टर सिटीको ‘सिकार गर्ने’ दाउमा डर्टमुन्ड

काठमाडौं, वैशाख १

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनल अन्तर्गतका अन्तिम दुई खेल हुँदैछन् । आज हुने एक खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र इंग्लिस क्लब म्यानचेस्टर सिटीको रोमाञ्चक खेल हुँदैछ । प्रतियोगिताको क्वार्टरफाइनल अन्तर्गत हुन लागेको दोस्रो खेल डर्टमुन्डको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । आज यो खेलमाथि पनि धेरैको नजर रहनेछ ।

यसअघि सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले २–१ को जित निकालेको थियो । आज डर्टमुन्ड आफ्नो घरेलु मैदानमा उत्रिँदा सिटीविरुद्ध अप्रत्यासित नतिजा निकाल्ने दोउमा हुनेछ । सिटीविरुद्ध नतिजा उल्ट्याउन डर्टमुन्डका लागि आज ठूलो चुनौती पनि छैन । उसले सिटीलाई गोल गर्नबाट रोक्दै मात्रै १–० को जित निकाले ऊ सेमिफाइनल पुग्नेछ भने सिटी प्रतियोगिताबाट आउट हुनेछ ।

आज सिटीलाई आफ्नो घरमा गोल गर्नबाट डर्टमुन्डले रोक्न सक्यो र आफूले मात्रै १ गोल गरेर खेल जित्यो भने समग्रमा खेल २–२ को बराबरी हुन्छ र अवे गोलमा डर्टमुन्डले सिटीलाई पछि पारेर आफू अघि बढ्नेछ । आजको खेलमा डर्टमुन्ड र सिटी दुवैका लागि उत्तिकै सम्भावना छ । यता, सिटीले भने आज डर्टमुन्डको मैदानमा ०–० मै खेल सकाए पनि उसलाई अर्को चरण प्रवेशका लागि काफी हुनेछ ।

तसर्थ आज डर्टमुन्ड आफ्नो घरमा गोल नखाने रणनीतिसाथ खेल्नेछ भने सिटी सकेसम्म राम्रो नतिजाका लागि प्रयास गर्नेछ । यो सिजन उत्कृष्ट लयमा रहेको सिटीको धारिलो आक्रमण लाइनलाई रोक्न डर्टमुन्डलाई सजिलो हुनेछैन । तर, डर्टमुन्डका युवा खेलाडीको फ्रन्ट लाइन चल्न सके सिटीलाई पनि सजिलो हुनेछैन । किनभने, डर्टमुन्डमा अर्लिङ हल्यान्ड, जाडोन सान्चो, मार्को रेउसजस्ता युवा खेलाडीको उपस्थिति रहेको छ ।

आज सिटीविरुद्ध उत्रिँदा डर्टमुन्डका लागि सान्चो र हल्यान्ड मुख्य अस्त्र बन्न सक्नेछन् । क्लब र देशका लागि गरी पछिल्ला ६ खेलमा लगातार गोलविहीन बनेका हल्यान्डमाथि आज ठूलो दबाब हुनेछ । आज महत्त्वपूर्ण खेलमा गोलको खडेरी तोड्दै टिमलाई उपाधितर्फ अघि बढाउन व्यक्तिगत रूपमा योगदान दिने प्रयासमा हल्यान्ड हुनेछन् । पछिल्ला ६ खेलमा गोल गर्न नसकेका उनीमाथि आज गोल गर्नुपर्ने दबाब छ ।

प्रकाशित मिति १ बैशाख २०७८, बुधबार ०४:४८
Loading...