च्याम्पियन्स लिग : आज लिभरपुल र रियल मड्रिड निर्णायक भिडन्त गर्दै

काठमाडौं, वैशाख १

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलअन्तर्गतका अन्तिम दुई खेल हुँदैछन् । आज हुने एक खेलमा पूर्वच्याम्पियनहरू इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड आमनेसामने हुँदैछन् । यो खेल लिभरपुलको घरेलु मैदान एनफिल्ड रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । यसअघि आफ्नो घरेलु मैदानमा भएको खेलमा रियलले पाहुना टोली लिभरपुललाई १–३ ले हराएको थियो ।

आज आफ्नो घरमा उत्रिँदा लिभरपुल अघिल्लो लेगको नतिजा उल्ट्याउने दाउमा हुनेछ । त्यसका लागि उसलाई आज कम्तीमा २–० को स्पष्ट जित चाहिन्छ । यो अन्तरमा जित निकाले खेल समग्रमा ३–३ को बराबरी भए पनि अवे गोलमा आधारमा लिभरपुल अघि बढ्नेछ । तर, पहिलो लेगमा ३–१ को जित निकालेको रियलविरुद्ध आज नतिजा उल्ट्याउन लिभरपुलका लागि उति सजिलो भने हुनेछैन ।

यदि एनफिल्डमा रियलले मात्रै १ गोल गरेको खण्डमा खेल जित्न लिभरपुललाई थप ४ गोल गरेर स्पष्ट अन्तरमा जित निकाल्नुपर्छ । अघिल्लो वर्ष लिभरपुलले स्पेनकै बार्सिलोनाविरुद्ध ०–३ को नतिजा उल्ट्याउन आफ्नो घरमा ०–४ को नतिजा निकालेको थियो । तर, १३औं पटकको च्याम्पियन रियल मड्रिड बार्सिलोनाजस्तो होइन । र, आज पनि रियलले एनफिल्डमा स्पष्ट अन्तरमा जित निकाल्न प्रयास गर्नेछ । रियलले यस प्रतियोगितामा फराकिलो अन्तरमा कहिल्यै पनि हारेको छैन ।

अहिले रियलका प्रमुख खेलाडीहरू घाइते छन् भने कोही कोरोना भाइरसबाट संक्रमित छन् । कप्तान तथा प्रमुख डिफेन्डर सर्जियो रामोस चोट र कोरोनासँग जुधिरहेका छन् । राइट ब्याक ड्यानी कार्भाहाल घाइते छन् भने इडेन हावार्ड पनि घाइते छन् । अर्का प्रमुख डिफेन्डर राफाएल भाराने पनि कोरोना भाइरसबाट संक्रमित भएकाले टोलीमा छैनन् । यी प्रमुख खेलाडी नहुँदा पनि प्रशिक्षक जिनेदिन जिदानले रणनीतिक टोली बनाएर अघिल्लो लेग जितेका थिए । जिदानले आज लिभरपुलविरुद्ध सकेसम्म चाँडो गोल गरेर खेल पकडमा लिने रणनीतिसाथ टोली चलाउनेछन् ।

यदि आज लिभरपुलसँग नहारी अर्को चरण प्रवेश गरेको खण्डमा रियलले सेमिफाइलनमा इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ । चेल्सी गत राति पोर्चुगिज क्लब पोर्टोलाई हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । रियल यो सिजन १४औं उपाधि जित्ने होडमा छ । र, ऊ अहिले उत्कृष्ट लयमा रहेको छ ।

प्रकाशित मिति १ बैशाख २०७८, बुधबार ०३:५५
Loading...