बार्यनलाई हराएर सेमिफाइनल पुग्दा पिएसजीले उपाधि जितेजसरी पार्टी मनाएपछि (भिडियो)

काठमाडौं, वैशाख १

फ्रेन्च क्लब पिएसजी जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति क्वार्टरफाइनलमा भएको दोस्रो लेगको खेलमा पिएसजी आफ्नै मैदानमा ०–१ ले पराजित भयो । तर, समग्रमा ३–३ को बराबरी भए पनि अवे गोलमा अघि रहेर पिएसजी अर्को चरण पुग्यो भने गत सिजनको च्याम्पियन बार्यन यसपटक अन्तिम आठभन्दा अघि बढ्न सकेन ।

गत सिजन फाइनलमा बार्यन र पिएसजी नै भिडेका थिए । पोर्चुगलको लिस्वन सहरमा भएको उपाधि भिडन्तमा बार्यनले पिएसजीलाई १–० ले हराएर उपाधि जितेको थियो । यसपटक पिएसजीले बार्यनलाई अन्तिम आठमै त्यसको बदला लियो, बार्यनलाई उपाधि होडबाटै बाहिर पठाएर । साबिक च्याम्पियन त्यसमा पनि फाइनलमा आफूलाई हराउने टिमलाई नै क्वार्टरफाइनलमा हराएपछि पिएसजीले गत राति राम्रै गरी खुसीयाली मनायो ।

खेल सकिएर खेलाडी ड्रेसिङ रुममा पुगेपछि खेलाडी, प्रशिक्षक र अफिसियल सबै सहभागी भएर पिएसजीको टिमले यसरी पार्टी मनायो मानौं कि, टिमले अहिले नै उपाधि जितिसक्यो । पूर्वतयारी अनुसार नै पिएसजीले जितको खुसीयाली मनायो । भलै, यो खुसीयाली र पार्टी उसका लागि उपाधि च्याम्पियन नभई सेमिफाइनल प्रवेशका लागि मात्रै थियो । पिएसजी आफैंले अफिसियल सामाजिक सन्जालमार्फत् पनि बार्यनलाई आउट गराएपछिको खुसीयालीमा खेलाडी रमाउँदै गरेको भिडियो सार्वजनिक गरेको छ ।

पिएसजीले बार्यनलाई हराएर सेमिफाइनल प्रवेश गर्दैमा उपाधि जितेजसरी गरेर पार्टी मनाएपछि पिएसजीकै कतिपय फ्यानले आलोचना गरेका छन् । आलोचकहरूले भने गत सिजनको यस्तै घटना सम्झाएका छन् । गत सिजन पनि पिएसजीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई हराएपछि यसरी नै पार्टी मनाएको थियो, जुन निकै विवादित पनि बन्यो । त्यसबेला त टोलीका मुख्य खेलाडी नेइमारले आफ्नो घरमै सहकर्मीलाई बोलाएर पार्टी नै दिएको भिडियो समेत सार्वजनिक भएको थियो ।

गत सिजनकै जस्तो सम्झाउने गरी पिएसजीले यसपटक सेमिफाइनल प्रवेश गरेपछि खुसीयाली मनाउन कुनै कसर बाँकी राखेर । पिएसजीको ड्रेसिङ रुममा पहिल्यैबाट पेयपदार्थको व्यवस्थापनसहित अन्य तयारी थियो । जब टिम सेमिफाइनल पुग्यो, खेलाडीले ठूलै उत्सवको झल्को दिए । गत सिजन फाइनलमा हारेको टिम यसपटक सेमिफाइनल पुग्दैमा उपाधि जितेझैं गरेर पार्टी मनाएपछि आलोचकहरूले भने यसलाई केटाकेटीपना भनेर मजाक उडाएका छन् । पिएसजीले क्लब इतिहासमा आजसम्म एकपटक पनि च्याम्पियन्स लिग उपाधि जित्न सकेको छैन । भिडियो तल हेरौं–

प्रकाशित मिति १ बैशाख २०७८, बुधबार ०२:५३
Loading...