साबिक च्याम्पियन बार्यन म्युनिख च्याम्पियन्स लिगबाट आउट : पिएसजी सेमिफाइनलमा

काठमाडौं, वैशाख १

गत सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलको च्याम्पियन जर्मन क्लब बार्यन म्युनिख यस सिजन क्वार्टरफाइनलबाटै आउट भएको छ । गत राति भएको अन्तिम आठको दोस्रो लेगको खेलमा उसले फ्रेन्च क्लब पिएसजीलाई ०–१ ले हराए पनि समग्रमा अवे गोलले पछि पार्दै प्रतियोगिताबाट आउट हुन पुगेको हो । यससँगै लगातार दोस्रोपटक च्याम्पियन्स लिग जित्ने बार्यनको सपना यहींनेर टुटेको छ ।

अघिल्लो साता बार्यनको घरेलु मैदानमा पिएसजीले २–३ को जित निकालेको थियो । गत राति बार्यनले पिएसजीलाई ०–१ ले हराउँदा खेल समग्रमा ३–३ को बराबरी भयो । तर, बढी अवे गाोलका आधारमा पिएसजीले बार्यनलाई पछि पार्दै आफू सेमिफाइनल प्रवेश गर्न सफल भयो भने गत सिजनको च्याम्पियन टोलीलाई घर फर्किने बाटो देखायो ।

यससँगै पिएसजीले बार्यनसँग गत सिजनको फाइनलमा भोगेको बदला यसपटक क्वार्टरफाइलनमा लिएको छ । गएको सिजन उपाधि नजिक पुगेको पिएसजीलाई बार्यनले फाइनल खेलमा १–० ले हराएर उपाधि जित्दा पिएसजी भने उपविजेतामै सीमित भएको थियो । तर, यसपटक पिएसजीले बायर्नलाई क्वार्टरफाइनलमा हराउँदै गत सिजनको हारको बदला लिन सफल भयो । बार्यन यसपटक पनि उपाधि दौडमा थियो । तर, उसको बाटोमा पिएसजी तगारो बनिदियो ।

गत राति बार्यनलाई जिताउन १ मात्रै गोल खेलको ४०औं मिनेटमा इरिक म्याक्सिमले गरेका थिए । तर, त्यसपछि बार्यनले दोस्रो गोल गर्न नसक्दा उसको कमब्याक सफल भएन । यदि थप १ गोल गर्न सकेको थियो भने उसले पिएसजीलाई समग्रमा ३–४ ले पछि पार्दै अर्को चरण प्रवेश गर्ने थियो । पिएसजीलाई घरेलु मैदानमा चर्को दबाब दिएर खेलेको बार्यनले पाटक–पटक गोलका अवसर बनाए पनि पिएसजीका गोलकिपर केलर नभासले उसका थुप्रै राम्रा प्रयास असफल पारिदिएका थिए ।

महत्त्वपूर्ण खेलमा बार्यनका प्रमुख खेलाडीहरू घाइते हुनु टोलीका लागि निकै महँगो पर्न गयो । टोलीमा प्रमुख फरवार्ड रोवर्ट लेवान्डोस्की, लियोन गोरेट्जा, सर्जियो गेनाब्री, निकालस सुले सहितका खेलाडीले चोटका कारण पिएसजीविरुद्धको खेल गुमाउनु बार्यनका लागि कठिन भयो पनि पिएसजीलाई फाइदा भयो । टोलीमा मुख्य खेलाडी नभएको मौकामा पिएसजीले बार्यनलाई आउट गराएर आफू अघि बढ्न सफल भयो । लेवान्डोस्कीले यसअघिको पहिलो लेग र दोस्रो गरी दुवै लेगका खेल गुमाए ।

प्रकाशित मिति १ बैशाख २०७८, बुधबार ००:१५
Loading...