क्लासिको खेलाउने रेफ्रीले मेस्सीलाई ‘म तिमीलाई खेलको नियम सिकाउँछु’ भनेपछि ……..

काठमाडौं, चैत ३१

शनिबार राति स्पेनिस ला लिगा फुटबलमा भएको सिजनको दोस्रो इएल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले हरायो । आफ्नो घरेलु मैदानमा रियललाई जिताउन करिम बेन्जेमा र टोनी क्रुसले १–१ गोलको योगदान गरे । पराजित बार्सिलोनाका लागि डिफेन्डर ओस्कार मिङ्गुएजाले १ गोल गरेका थिए । सो खेलमा केही तनाव र विवाद पनि देखिएको थियो । बार्सिलोनाले खेलमा रियलविरुद्ध दुईपटक पेनाल्टीका लागि जोडदार अपिल गरेको थियो भने रियलले एकपटक पेनाल्टीका लागि माग गरेको थियो । तर, सो खेलमा दुवै टिमले पेनाल्टी पाएनन् ।

सो खेल दौरान बार्सिलोनाका कप्तान लिओनल मेस्सी र खेलका मुख्य रेफ्री गील मन्जानोबीच विवाद भएको थियो । अहिले त्यसको भिडियो फुटेज सार्वजनिक भएको छ । पेनाल्टी माग गरेको विषयमा रेफ्री र मेस्सीबीच विवाद हुँदा रेफ्रीले मेस्सीलाई खेलको नियम थाहा नभएको भए आफूले पछि सिकाउने बताएका थिए । उनको यस्तो जवाफबाट मेस्सी झनै रिसाएका थिए । सोही विषयमा दुवै पक्षका खेलाडीबीच भनाभन भयो भने खेल सकिएपछि पनि बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकले रेफ्रीसँग चर्को विवाद गरेका थिए । पछि बार्सिलोनाका अधिकारीले पिकेलाई रेफ्रीबाट अलग गराएका थिए ।

भएको के थियो भने, खेलको अन्तिम समयमा रियलका डिफेन्डर फोर्लान मेन्डीले बार्सिलोनाका फरवार्ड मार्टिन ब्रेथवेटलाई बक्समा तानेर रोकेका थिए । सो फउलमा बार्सिलोनाका खेलाडीले रियलविरुद्ध पेनाल्टीका लागि जोडदार माग गरेका थिए । तर, रेफ्रीले पेनाल्टी दिएनन् । न त उनले भिएआरमार्फत् नै जाँच गरे । रेफ्रीले आफूहरूको माग बेवास्ता गरेपछि बार्सिलोनाका कप्तान मेस्सी रिसाए । र, रेफ्रीसँग सोभैm विवादमा उत्रिए । सो दौरान मेस्सीले भिएआर जाँच गर्न पनि भनेका थिए ।

तर, रेफ्री मन्जानोले रिसाउँदै मेस्सीलाई फुटबलको नियम थाहा नभएको भन्दै पछि सिकाउने भनेका थिए । स्पेनिस सञ्चारमाध्यमका अनुसार रेफ्रीले मेस्सीलाई ‘के तपाईंलाई खेलको नियम थाहा छैन ? थाहा छैन भने पछि म बताउनेछु’ भनेर जवाफ फर्काएका थिए । सोही विवादका क्रममा बार्सिलोनाका फरवार्ड ब्रेथवेटले रियलका लुका मोड्रिचलाई जोडले धक्का मारेका थिए । तर, त्यसमा पनि रेफ्रीले कुनै एक्सन लिएनन् ।

क्लासिको खेल दौरान ‘मेस्सीलाई खेलको नियम सिकाउँछु’ भन्ने मन्जानो उनै रेफ्री हुन्, जसले मेस्सीलाई बार्सिलोना इतिहासमै पाएको एक मात्रै पहिलो कार्ड दिएका थिए । उनै रेफ्रीले रियलविरुद्धको खेल दौरान मेस्सीलाई नियम सिकाउने कुरा बताएका थिए । मेस्सीले रेफ्रीमाथि आक्रोशित हुँदै प्रतिवाद गरेपछि रेफ्रीले मेस्सीलाई त्यस्तो जवाफ दिएको रिपोर्टमा फुटेजमा देख्न सकिन्छ । मेस्सीले हालसम्म ला लिगामा चार पहेंलो कार्ड पाइसकेका छन् । उनले अब थप एक पहेंलो कार्ड पाए त्यसपछिको एक खेलमा प्रतिबन्ध लाग्नेछ ।

क्लासिकोमा पराजित भएपछि बार्सिलोनालाई उपाधि होडमा ठूलो झट्का लागेको छ । हालको अवस्थामा बार्सिलोना रियलभन्दा समान खेलपछि १ अंकले पछि छ भने लिग लिडर एथ्लेटिको मड्रिडभन्दा २ अंकले । लिगमा अब रियलले सबैजसो कठिन खेल खेलिसकेको छ भने बार्सिलोनाले अझै लिग लिडर एथ्लेटिको मड्रिडसँग खेल्नै बाँकी छ । बार्सिलोनाले यसपटक रियलसँग हार्दा क्लासिको इतिहासमा ४३ वर्षपछि पहिलोपटक लगातार तीन क्लासिको हारको खराब रेकर्ड पनि बनेको छ ।

प्रकाशित मिति ३१ चैत्र २०७७, मंगलवार १३:११
Loading...