बालोन डिओर र्‍याङकिङ : एमबाप्पेको छलाङ, रोनाल्डो झन् ओरालो ! (टप–१० सूची सहित)

एजेन्सी, चैत ३१

विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डिओर अवार्ड वर्ष २०२१ मा कसले जित्ला ? यसको चर्चा, अनुमान र भविष्यवाणी हुन थालिसकेको छ । गत वर्ष रद्द भएको सो अवार्ड यसपटक वितरण हुनेछ छ । अहिलेबाटै यस अवार्डका प्रमुख दाबेदारहरूको चर्चा फुटबल जगतमा हुन थालिसकेको छ । यसैक्रममा, फुटबलको चर्चित संस्था ‘गोल’ले हालसम्मको प्रदर्शनका आधारमा बालोन डिओर–२०२१ का प्रमुख दाबेदार खेलाडीहरूको वरीयता सार्वजनिक गरेको छ !

सो वरीयता सूचीअनुसार यसपटक फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पे यस अवार्डका लागि सबैभन्दा मुख्य दाबेदार देखिएका छन् । पछिल्लो समय च्याम्पियन्स लिग र लिग वान फुटबलमा साथै अन्तर्राष्ट्रिय फुटबलमा गरेको उच्च प्रदर्शनका आधारमा उनले आफ्नो पोजिसनमा उल्लेख्य सुधार गरेका छन् । केही समयअघिसम्म सबैभन्दा अगाडि रहेका जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीलाई २२ वर्षका एमबाप्पेले पछि पार्न सफल भएका छन् ।

यसअघिको सूचीमा दोस्रो स्थानमा रहेका उनले यसपटक लेवान्डोस्कीलाई पछि पार्दै वरीयताको एक नम्बरमा छन् । यसअघि तेस्रो स्थानमा रहेका बार्सिलोनाका मेस्सी भने यसपटक पनि तेस्रो स्थानमै रहेका छन् । पिएसजीलाई च्याम्पियन्स लिगको उपाधितर्फ अघि बढाउनेक्रममा मुख्य योगदान दिइरहेका एमबाप्पेले यस अवार्डमा आफ्नो दाबेदारी अझै बलियो बनाउँदै लगेको देखिन्छ ।

अघिल्लो सूचीको आधारमा यसपटक इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोको अवस्था केही खस्किएको छ । उनी एक स्थान तल झरेका छन् । त्यसैगरी, जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्डको अवस्था खस्किएर एक स्थान तल झरेका छन् । टप–१० सूचीमा फ्रेन्च क्लब पिएसजीका नेइमार र इंग्लिस क्लब टोटनह्यामका ह्यारी केन परेका छैनन् । वर्ष २०२१ को यहाँसम्म खेलाडीका नाममा रहेको व्यक्तिगत तथ्यांक र टप–१० सूची तल हेरौं–:

१. केलियन एमबाप्पे (यसअघि दोस्रो) – १९ गोल, ३ असिस्ट
२. रोवर्ट लेवान्डोस्की (यसअघि पहिलो) – २५ गोल, ३ असिस्ट
३. लिओनल मेस्सी (यसअघि तेस्रो) – १९ गोल, ८ असिस्ट
४. केभिन डे ब्रुयाने (यसअघि छैटौं) – ७ गोल, ६ असिस्ट
५. रोमेलु लुकाकु (यसअघि पाँचौं) – १४ गोल, ५ असिस्ट

६. इकाए गुन्डोवान (यसअघि चौथो) – १४ गोल, ५ असिस्ट
७. करिम बेन्जेमा (यसअघि नवौं) – १३ गोल, १ असिस्ट
८. अर्लिङ हल्यान्ड (यसअघि सातौं) – १६ गोल, ७ असिस्ट
९. क्रिस्टियानो रोनाल्डो (यसअघि आठौं) – १७ गोल, ३ असिस्ट
१०. रुबेन डियाज (यसअघि १०औं) – १ गोल, १५ क्लिन सिट

प्रकाशित मिति ३१ चैत्र २०७७, मंगलवार १०:४०
Loading...