रियल मड्रिडलाई अर्को तनाव : रामोसलाई कोरोना संक्रमण

एजेन्सी, चैत ३१

स्पेनिस फुटबल क्लब रियल मड्रिडलाई अर्को तनाव थपिएको छ । टोलीका कप्तान तथा प्रमुख डिफेन्डर सर्जियो रामोस कोरोना भाइरसबाट संक्रमति भएका छन् । आज क्लब रियलले अफिसियल रूपमा जानकारी दिँदै आफ्ना कप्तान कोरोनाबाट संक्रमित भएको पुष्टि गरेको छ । यससँगै रामोसले अझै कम्तीमा दुई साताका खेल गुमाउने भएका छन् ।

कोरोनाबाट संक्रमित भएपछि रामोसले अब कम्तीमा १० दिनसम्म होम क्वारेन्टिनमा बस्नुपर्ने छ । त्यसपछि लगातार तीनपटक कोरोना जाँच रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनले मैदान उत्रिन अनुमति पाउनेछन् । रामोस दुई सातादेखि नै चोटका कारण टोलीबाहिर रहेका थिए । अब कोरोनाबाट समेत संक्रमित भएपछि उनले थप दुई साता अझै टोलीमा सहभागी हुन पाउनेछैनन् ।

युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा इंग्लिस क्लब लिभरपुलसँगको दोस्रो लेगको निर्णायक खेलअघि रामोसलाई कोरोना संक्रमण देखिएपछि टिमलाई झट्का लागेको छ । रियलले भोलि दोस्रो लेगको निर्णायक खेल लिभरपुलको घरेलु मैदानमा खेल्दै छ । यसअघि आफ्नो घरमा भएको पहिलो लेग रियलले १–३ ले जितेको छ ।

रामोसले यसअघि पहिलो लेगको खेल समेत गुमाइसकेका छन् । अब जिनेदिन जिदानले फेरि एकपटक लिभरपुलको मैदान एनफिल्मा आफ्ना प्रमुख डिपेन्डर तथा कप्तान रामोसबिनै आफ्नो टोली उतार्नुपर्ने भएको छ । यो खेल भोलि राति हुनेछ । लिभरपुलको घरेलु मैदानमा रियल ०–१ ले पराजित भए पनि सेमिफाइनल जान पर्याप्त हुनेछ । रामोसले यसअघि सिजनको दोस्रो इएल क्लासिको पनि चोटकै कारण गुमाएका थिए । सो खेल रियलले २–१ ले जितेको थियो ।

प्रकाशित मिति ३१ चैत्र २०७७, मंगलवार ०३:२७
Loading...