रोनाल्डो हिँडेपछि मेस्सीको हालत खराब : इएल क्लासिकोमा आज खराब यात्रा टुंग्याउने लक्ष्य

काठमाडौ, चैत २८

स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी चर्चित खेल इएल क्लासिको इतिहासकै सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्टकर्ता खेलाडी हुन् । उनले आजसम्म आफ्नो कट्टर प्रतिस्पर्धी क्लबविरुद्ध कूल २६ गोल गरेका छन्, जुन सबैभन्दा बढी हो । तर, सन् २०१८ मा रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेर गएपछि मेस्सीले आजका मितिसम्म रियलविरुद्ध गोल पनि गर्न सकेका छैनन् । त्यत्ति मात्रै हैन, उनले ३ वर्षदेखि लगातार इएल क्लासिको खेल्दै आए पनि न १ गोल गर्न सकेका छन्, न त १ असिस्ट नै ।

पोर्चुगलका फरवार्ड रोनाल्डोले सन् २०१८ मा इटालियन युभेन्टस जानका लागि रियल छाडेका थिए । रोनाल्डोले रियल छाडेपछि रोनाल्डोका नाममा गोल र असिस्ट हुने कुरा पनि भएन । तर, लगातार खेलिरहेका मेस्सीका नाममा पनि त्यसयता ० गोल र ० असिस्ट नै छ । यसको अर्थ मेस्सीले रोनाल्डोले स्पेन छाडेपछि तीन वर्षका बीचमा कूल ६ पटक रियलविरुद्ध खेले पनि आजसम्म १ गोल र १ असिस्ट पनि गर्न सकेका छैनन् । मेस्सीजस्ता खेलाडीका लागि यो ज्यादै खराब रेकर्ड हो ।

मेस्सीले १७ वर्षे लामो करिअरमा यसअघि कहिल्यै पनि रियलविरुद्ध लगातार ३ खेलसम्म गोलविहीन वा असिस्टविहीन बन्नु परेको थिएन । तर, यसपटक त उनी ६ खेलसम्म गोविहीन र असिस्टविहीन बनिसकेका छन् । क्लासिको खेलमा खराब रेकर्डसँग जुधिरहेका मेस्सीले पछिल्ला ६ खेलमा कूल ६५७ मिनेट मैदानमा खेले पनि उनले १ गोल र असिस्ट पनि गर्न नसक्दा उनको आलोचना भइरहेको छ ।

आज राति ला लिगामा सिजनको दोस्रो क्लासिको भिडन्त रियलको घरेलु मैदानमा हुँदा मेस्सीले क्लासिकोमा लामो समयदेखि रहेको गोलको खडेरी अन्त्य गर्न प्रयास गर्नेछन् । ३ वर्षको अवधिमा ६ क्लासिकोमा लगातार सहभागी भए पनि लगातार न गोल, न असिस्ट गरेका मेस्सीको प्रदर्शनमा आज राति धेरैको चासो र नजर रहनेछ । यदि आज राति पनि गोल वा असिस्ट गर्न नसके मेस्सीको खराब रेकर्ड झनै बढ्नेछ ।

प्रकाशित मिति २८ चैत्र २०७७, शनिबार १५:१५
Loading...