दोस्रो इएल क्लासिको आज : बार्सिलोना र रियल मड्रिडको महाभिडन्त हुँदै

काठमाडौं, चैत २८

विश्व क्लब फुटबलमा सबैभन्दा ठूलो भिडन्त मानिने र एक प्रतिष्ठाको खेलका रूपमा हेरिने इएल क्लासिको भिडन्त आज राति हुँदैछ । स्पेनिस ला लिगा फुटबलमा यो सिजनको दोस्रो क्लासिको भिडन्तमा आज राति स्पेनका दुई कट्टर प्रतिस्पर्धी क्लब बार्सिलोना र रियल मड्रिड आमनेसामने हुँदैछन् । यो खेलमाथि अहिले विश्वभरको नजर रहेको छ । यसकारण पनि कि, यो खेलको नतिजापछि ला लिगाको उपाधि होडमा लिड गर्ने टोली पनि स्पष्ट रूपमा नै अघि दखिनेछ ।

क्लासिको सधैं महत्त्व र प्रतिष्ठाको खेल हुन्छ नै, यो दुनियाँलाई थाहा नै छ । यसबाहेक यी दुई टोली सिजन निर्णायक मोड नजिक पुगेका बेला भिड्न लागेकाले दुवै टोलीका लागि आजको खेल ज्यादै महत्त्वपूर्ण हुने अवस्था छ । यसको हार–जितले हाल लिगको टप–३ मा रहेका टिमलाई प्रत्यक्ष प्रभावित पार्नेछ । बार्सिलोना लिगको दोस्रो स्थान र रियल तेस्रो स्थानमा रहेका बेला क्लासिको भिडन्त हुन लागेको हो ।

ताजा अवस्थामा ला लिगामा एथ्लेटिको मड्रिड २९ खेलपछि ६६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेको बार्सिलोना ६५ अंकसहित दोस्रो स्थानमा रहँदा समान खेल नै खेलेको रियल मड्रिड ६३ अंकका साथ तेस्रो स्थानमा छ भने सेभिल्ला ५८ अंकसहित चौथो स्थानमा छ । ताजा अवस्थामा बार्र्सिलोेना एथ्लेटिकोभन्दा मात्रै १ अंकले पछि परेको छ भने तेस्रो स्थानको रियलभन्दा २ अंकले अघि रहेको छ ।

आज राति क्लासिको स्पष्ट अन्तरमा जित्ने टिम एथ्लेटिको मड्रिडसँग उपधि होडमा सोझै उत्रिनेछ । यदि बार्सिलोनाले जिते ऊ उपाधि होडमा अघि मात्रै बढ्दैन, तत्कालका लागि लिगको शीर्ष स्थानमा पनि चढ्नेछ । यो सिजन बार्सिलोना हालसम्म लिगको शीर्ष स्थानमा चढ्न सकेको छैन । यता, आज रियलले बार्सिलोनालाई पराजित गर्ने सके ऊ पनि तत्कालका लागि लिडर टिम नै बन्नेछ । आज हुने क्लासिको जितेर रियल र बार्सिलोना दुवैलाई एथ्लेटिकोले अर्को खेल नखेल्दासम्म लिगको शीर्ष स्थानमा चढ्ने अवसर रहेको छ ।

आजको खेलमा बार्सिलोनाले पहिलो रोजाइको टोली उतार्दा रियल भने केही समस्यामा छ । उसका ३ जना प्रमुख डिफेन्डर टोलीमा छैनन् । तर, दुवै टिमका प्रशिक्षकका लागि लिगको उपाधि होडमा स्पष्ट दिशा बनाउन एक निर्णायक कदम मानिएको खेल जित्नुपर्ने दबाब छ । अंकगणित यस्तो छ कि, यो खेल स्पष्ट रूपमा जित्ने टिमसँग अब एथ्लेटिको मड्रिडले प्रतिस्पर्धा गर्नेछ । उपाधि दाबेदार दुई टिम सिजनको दोस्रो खेलमा भिड्न लागेकाले यो खेलको हार–जित दुवैका लागि निकै अर्थपूर्ण हुने पक्का छ ।

लिगका अन्तिम ९ खेल मात्रै बाँकी रहेको अवस्थामा लिगको ३०औं खेलका रूपमा हुन लागेका क्लासिको जितेर रियल बाँकी खेलबाट लिगको उपाधि जित्ने दाउमा रहेको छ । बार्सिलोनालाई हराउन सके रियलले बार्सिलोनालाई १ अंकले पछि मात्र पार्दैन, एथ्लटिकोलाई पनि दबाब बढाउनेछ । यता, क्लासिको जित्दा रियललाई भन्दा बढी फाइदा बार्सिलोनालाई हुने भएकाले यो खेल कुनै पनि मूल्यमा जितेर लिग जित्ने आफ्नो गति र वेगलाई कायमै राख्न बार्सिलोना चाहन्छ ।

आजको खेल रियल मड्रिडको घरेलु मैदान अर्थात् टिम ‘बी’को रंगशाला अल्फ्रेडो स्टेफानो रंगशालामा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । यसअघि भएको पहिलो लेगमा रियलले बार्सिलोनालाई उसकै घरेलु मौनमा १–३ गोलले धुलाइ गरेको थियो । आज बार्सिलोना रियलको घरमा पुग्दा अघिल्लो लेगको हारको बदला पनि लिने दाउमा हुनेछ ।

प्रकाशित मिति २७ चैत्र २०७७, शुक्रबार २२:३१
Loading...