महान धावक बोल्टले कारणसहित रोनाल्डो र मेस्सीमा रोजे एक

एजेन्सी, साउन २८

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीमध्ये को उत्कृष्ट भन्नेमा लामो समयदेखि मतभेद र तुलना हुँदै आएका छन् । कतिपयले रोनाल्डोलाई सर्वकालीन महान खेलाडी मान्छन् भने कतिपयले मेस्सीलाई । यस विषयमा थुप्रैका आ–आफ्नो धारणा रहँँदै आएका छन् । यसैक्रममा जमैकाका महान खेलाडी (धावक) उसेन बोल्टले पनि रोनाल्डो र मेस्सीको उत्कृष्टताबारे धारणा राखेका छन् । एक अन्तर्वार्तामा उनले यस विषयमा बोलेका हुन् ।

आठपटकका ओलम्पिक स्वर्णपदक विजेता बोल्टलाई फुटबलका ठूला फ्यान मानिन्छ । कुनैबेला फुटबलमै लाग्न खोजेका उनले सधैं फुटबललाई पछ्याउने गरेका छन् । उनै बोल्टले मेस्सीलाई छाडेर रोनाल्डोलाई सर्वकालीन महान खेलाडी भनेका छन् । त्यसका लागि उनले दुई कारण पनि दिएका छन् । पहिलो कारण, बोल्टको बेस्ट क्लब म्यानचेस्टर युनाइटेडबाट रोनाल्डोले खेले ।

दोस्रो कारण, रोनाल्डोले तीन उत्कृष्ट लिगबाट खेलेर सबै ठाउँमा उपाधि जिते । यता, मेस्सी भने कहिल्यै पनि बार्सिलोनभन्दा बाहिर गएनन् । एक इटालियन पत्रिकासँग कुरा गर्दै बोल्टले आफूले सधैं रोनाल्डोलाई मेस्सीभन्दा उत्कृष्ट मान्ने बताएका छन् । बोल्टले भनेका छन्– ‘मेरा लागि यो केही कठिन प्रश्न हो । किनभने, अन्तर्राष्ट्रिय फुटबलको कुरा आउँदा म अर्जेन्टिनाको समर्थक हुँ । तर, म क्रिस्टियानो रोनाल्डोलाई सर्वोत्कृष्ट मान्छु । किनभने, उनले मलाई मनपर्ने क्लब म्यानचेस्टर युनाइटेबाट खेले । र, उनी सर्वोकृष्ट पनि छन् ।’

त्यसैगरी, बोल्टले भनेका छन्, ‘मलाई यो पनि लाग्छ कि– रोनाल्डोसँग केही यस्ता कुरा छन्, जुन मेस्सीसँग छैन । किनभने, रोनाल्डोले इंग्ल्यान्ड, स्पेन र इटालीबाट पनि उपाधि जिते । उनले तीनवटै लिगमा आफूलाई साबित गरेर देखाए । आज मेस्सीले कहिल्यै नजितेका कुरा रोनाल्डोले जितेका छन् । यसकारण म उनलाई मेस्सीभन्दा उत्कृष्ट मान्छु । र, सर्वश्रेठ खेलाडी पनि मान्छु ।’

रोनाल्डोले अन्तर्राष्ट्रिय उपाधि जितेकाले पनि मेस्सीभन्दा माथि रहने बोल्टले बताएका छन् । ‘यो मेरो विचार हो । रोनाल्डोले अन्तर्राष्ट्रिय उपाधि जितेका छन्, जुन मेस्सीले आजसम्म जितेको छैन । अन्तर्राष्ट्रिय उपाधिको महत्त्व कति हुन्छ भन्ने कुरा सबैलाई थाहा छ,’ बोल्टले भनेका छन्, ‘मलाई लाग्छ, रोनाल्डोले अझै यो कुरा जित्न सक्नेछन् । तर, मेस्सीले अर्जेन्टिनाबाट उपाधि जित्ने सम्भावना मैले निकै कम देखेका छु ।’

प्रकाशित मिति २७ चैत्र २०७७, शुक्रबार २२:२१
Loading...