बार्सिलोनाले अब मेस्सीमाथि जोखिम नमोल्ने : कम्तीमा तीन खेलमा टोलीबाहिर

एजेन्सी, असोज ९
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले चोटका कारण तीन खेलसम्म गुमाउने भएका छन् । दुई दिनअघि ला लिगामा आफ्नो घरमा भिल्लारियलसँग खेल्नेक्रममा चोट बोकेपछि दोस्रो हाफमा मैदान नउत्रिएका मेस्सीलाई चोटले थप पिरोल्ने भएको हो । आज बार्सिलोनाले मेस्सीको चोटबारे थप अपडेट दिँदै मेस्सी अक्टोबर तेस्रो साता मात्रै मैदान फर्किन सक्ने जनाएको छ । बार्सिलोनाले मेस्सीको रिकभरी अवधिलाई हेर्दा उनी तीन खेलसम्म बाहिर रहन सक्ने जनाएको छ ।

बार्सिलानोले शनिबार ला लिगामा गेटाफेसँग खेल्नेछ । त्यससपछि बुधबार राति च्याम्पियन्स लिगमा आफ्नो घरमा इन्टर मिलानसँग खेल्ने तालिका छ । सो खेलपछि अक्टोबर ६ मा सेभिल्लासँग ला लिगाामा खेल हुनेछ । मेस्सी यी ३ वटै खेलमा टोलीमा हुने सम्भावना छैन । यी ३ खेलपछि अन्तर्राष्ट्रिय ब्रेक हुनेछ । र, त्यसपछि क्लब फुटबल सुरु भएपछि मात्रै मेस्सी बार्सिलोनाको टोलीमा उपलब्ध हुनेछन् । मेस्सी पटक–पटक घाइते भइसकेकाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डे अब मेस्सीमाथि कुनै पनि जोखिम मोल्ने पक्षमा छैनन् ।

यो कुरा उनले भिल्लारियलसँगको खेलपछि प्रष्ट पारिसकेका छन् । मेस्सीबिना अब बार्सिलोनालाई लिग र च्याम्पियन्स लिग दुवैमा कठिन हुन सक्छ । बार्सिलोना हाल ला लिगामा १० अंक जाडेर पाँचौं स्थानमा छ भने च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग गोलरहित बराबरी खेलेको छ ।

प्रकाशित मिति ९ आश्विन २०७६, बिहीबार १५:०४
Loading...