९०औं मिनेटमा गोल गर्दै जित्यो बार्सिलोनाले : एथ्लेटिकोसँग १ अंकमा घट्यो दूरी

काठमाडौं, चैत २४

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले निकै महत्त्वपूर्ण जित निकालेको छ । उसले लिगको २९औं साताको खेलमा रियल भाल्लाडोलिडविरुद्ध अन्तिम समयमा गोल गर्दै १–० को कठिन जित निकालेको हो । खेलको ९०औं मिनेटमा बार्सिलोनाका लागि फ्रेन्च विंगर उसामान डेम्बेलेले गोल गर्दै टिमलाई सन्जिवनी जित दिलाए । यो जित बार्सिलोनाका लागि उपाधि होडमा अघि बढ्न र लिग लिडर एथ्लेटिको मड्रिडमाथि चर्को दबाब बनाउन एकदमै महत्त्वपूर्ण हुनेछ ।

क्याम्प नोउ रंगशालामा बार्सिलोना निराशाजनक बराबरी नजिक पुगेका बेला निर्धारित समय सकिन केही सेकेन्ड मात्रै बाँकी छँदा डेम्बेलेले पाएको अवसरको सदुपयोग गर्दै बललाई जाली चुमाए । मैदानको माथिल्लो भागबाट फ्रेन्की डे जोङले दिएको क्रस पासमा भाल्लाडोलिडका खेलाडीले क्लियर गर्न नसक्दा बल फुत्किएपछि बक्सभित्र तैनाथ रहेका डेम्बेलेले कठिन गरी देब्रे खुट्टाले हानेको प्रहारले जाली चुम्यो । उनको प्रहारले पोल च्यापेर पोस्टको दिशा लिएको थियो ।

त्यसअघि पाहुना टोली भाल्लाडोलिड खेलको ७९औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । मिडफिल्डर ओस्कार पलानो दोहोरो पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडेपछि भल्लाडोलिड दबाबमा परेको थियो । तैपनि, उसले बार्सिलोनामाथि लगातार दबाब बनाइरहेको थियो । तर, अन्तिम समयमा बक्समा बार्सिलोनाका खेलाडीलाई राम्रोसँग मार्क गर्न नसक्दा पाहुना टोलीले गोल खाएपछि उसको हातबाट खेल गयो । र, बार्सिलोनाले आफ्नै घरमा १६औं स्थानको टिमसँग मरेर स्पष्ट नतिजा निकाल्यो ।

यदि यो खेल जित्न नसकेर बराबरीमै चित्त बुझाउनु परेको भए बार्सिलोनालाई उपाधि होडमा ठूलो झट्का लाग्ने थियो । यो खेलबाट ३ अंक जोड्न सक्दा उसले अब लिग लिडर एथ्लेटिको मड्रिडसँगको दूरी मात्रै १ मा छोट्याएको छ भने रियल मड्रिडलाई २ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । अब समान २९–२९ खेलपछि एथ्लेटिको मड्रिड ६६ अंकसहित पहिलो स्थानमा रहँदा ६५ अंक भएको बार्सिलोना दोस्रो तथा ६३ अंक भएको रियल तेस्रो स्थानमा रहेको छ ।

आफ्नो मैदानमा तुलनात्मक रूपमा निकै कमजोर टोलीविरुद्ध जितका लागि बार्सिलोनो कम्ता मात्रै संघर्ष गर्नु परेको थिएन । उसले खेलभरिमा कूल २५ पटक आक्रमण बुन्दा १० टक सही दिशामा हानेको थियो । यता, भाल्लाडोलिडले खेलभरिमा ७ पटक मात्रै सट हानेको थियो । तर, उसले बार्सिलोनालाई खेलभरि नै दबाबमा राख्न सकेको थियो, जसका कारण बार्सिलोनालाई १ गोलका लागि ९०औं मिनेटसम्म लड्नु परेको थियो ।

सिजनको दोस्रो इएल क्लासिको अघिको खेलमा स्पष्ट जित निकाल्दै दोस्रो थानमा चढेर अंक दूरी १ मा छोट्याएपछि बार्सिलोनालाई सहज भएको छ । अब उसले अर्को साता इएल क्लासिकोमा रियललाई पराजित गर्न सक्यो वा बबरीमा मात्रै गर्न सकेको खण्डमा पनि एथ्लेटिको मड्रिडलाई पराजित गरेर ऊ लिगको शीर्ष स्थानमा यो सिजन पहिलोपटक चढ्न सक्नेछ । तसर्थ, आजको जित बार्सिलोनाका लागि अति नै महत्त्वपूर्ण मानिएको हो ।

प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार २०:३५
Loading...