बार्सिलोना भर्सेस भाल्लाडोलिड : पहिलो हाफमा बराबरी

काठमाडौं, चैत २४

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा अहिले उपाधि होडमा रहेको तेस्रो स्थानको बार्सिलोना र १६औं स्थानको रियल भाल्लाडोलिड बीचको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित ०–० को बराबरीमा सकिएको छ । पहिलो हाफमा घरेलु टोली र पाहुना टोली दुवैले गोल निकाल्न सकेनन् ।

बार्सिलोनाको घरेलु मैदानमा लिगको पुछारतिरको पाहुना टोली भाल्लाडोलिडले कडै टक्कर दिएर खेलिरहेको छ । खेल बार्सिलोनाको पकडमा रहे पनि बढी आक्रमण भने भाल्लाडोलिडले गरिरहेको छ । पहिलो हाफमा भाल्लाडोलिडले बार्सिलोनाको पोस्टमा चारपटक आक्रमण मुभ बनाउँदा तीनपटक अवसर सिर्जना गरेको थियो । तर, उसलाई लकले साथ दिएन । एक प्रहार बारमा लागेर फर्कियो भने दुई अवसरमा खेलाडी फिनिसिङमा चुक्दा बार्सिलोना पटक–पटक गोल खानबाट बचेको थियो ।

यता, बार्सिलोनाले आफ्नो मैदानमा बल ज्यादा आफ्नो पक्षमा राखेको छ । तर, उसले राम्रा गोलका अवसर भने बनाउन सकेन । कप्तान लिओनल मेस्सीको एक फ्रि किक प्रहार वाइड भयो भने एक हलुका प्रहार गोलकिपरले सहजै रोकिदिएका थिए । पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाको खातामा गोल दर्ता हुनबाट थोरैले चुक्यो । बार्सिलोनाका युवा खेलाडी पेड्रीले हानेको प्रहार पोलमा लागेर फर्किंदा घरेलु टोली अग्रता लिनबाट चुकेको थियो । पोलमा लागेर फर्किएको बललाई गोलकिपरले समातेका थिए ।

आजको खेलमा बार्सिलोनाका मेस्सी र फ्रेन्की डे जोङले पहेंलो कार्ड पाएको खण्डमा अर्को साता हुने रियल मड्रिडविरुद्धको महत्त्वपूर्ण खेलमा प्रतिबन्ध लाग्नेछ ।

प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार १९:३१
Loading...