बार्सिलोना यो एक अवस्थामा मात्रै नेइमारलाई फर्काउन तयार

एजेन्सी, साउन २४

सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजी पुगेका ब्राजिलियन स्टार नेइमारको नयाँ यात्रा सोचेजस्तो भएन । पेरिसमा तीन सिजन सकिएर चौथो सिजन बिताउँदै गर्दा पनि उनले चाहेको युरोपियन च्याम्पियन्स लिग र व्यक्तिगत रूपमा बालोन डिओर अवार्ड जित्न सकेका छैनन् । यो सिजन पिएसजी च्याम्पियन्स लिगको उपाधि दौडमै छ । तर, यात्रा सजिलो छैन । जसका कारण आज धेरै मानिस नेइमारको दुनियाँ चकित पर्ने महँगो कीर्तिमानी सरुवा किन थियो भनेर प्रश्न गरिरहेका छन् ।

पिएसजी पुगेदेखि नै लगातार विवाद र चोटको सास्ती भोग्दै आएका नेइमार गत वर्षबाटै पूर्वक्लब बार्सिलोना फर्किन चाहेको चर्चा छ । गत समर विन्डोमा उनले खुलेरै बार्सिलोना फर्किन खोजेका थिए । तर, पिएसजीले नमानेपछि उनी थच्चिए । बार्सिलोनामा आज पनि नेइमार फर्किएको हेर्न चाहने थुप्रै खेलाडी छन् । हालका कप्तान लिओनल मेस्सी र उपकप्तान जेरार्ड पिके आज पनि नेइमार फिर्तीको पक्षमा खुलेरै वकालत गरिरहेका छन् । तर, बार्सिलोनाको मुख्य योजनामा नेइमार पर्न सकिरहेका छैनन् । यता, न त नेइमार पिएसजीमा खुसी हुन सकिरहेका छन् ।

पछिल्लो समय सरुवा बजारमा एकाएक चर्चा फैलियो कि, बार्सिलोनाका नयाँ अध्यक्षले नेइमारलाई फर्काउन सक्छन् । यता, नेइमारले पनि पिएसजीमा नयाँ सम्झौता गर्नका लागि सुरु भएको छलफल स्थगित गरेर बार्सिलोना फर्किन नयाँ बोर्डका अधिकारीसँग सम्पर्कमा पुगेको चर्चा एकसाथ आयो । यस्तो हल्ला बजारमा फैलिएपछि स्पेनका केही भरपर्दा सञ्चारमाध्यमले भने नयाँ खबर छापेका छन् । उनीहरूले नेइमालाई एक अवस्थामा मात्रै बार्सिलोनाले फर्काउन चाहेको दाबी गरेका छन् । त्यो भनेको ‘फ्री ट्रान्सफर’ हो ।

हो, पिएसजीमा नेइमारको सम्झौता सकिएपछि मात्रै बार्सिलोना आफ्ना पूर्वस्टारलाई फर्काउन अघि सर्न सक्छ । तर, हालकै अवस्थामा क्याटलान क्लब २९ वर्षका नेइमारमाथि ठूलो लगानी गरेर अनुबन्ध गर्ने पक्षमा छैन । पिएसजीमा नेइमारको सम्झौता सन् २०२२ अर्थात् सिजन २०२१–२२ को अन्त्यमा मात्रै सकिन्छ । नेइमारले पिएसजीसँग पहिलो चरणमा ५ वर्षका लागि सम्झौता गरेका थिए, जुन सकिने अझै थप एक सिजन बाँकी छ । त्यो सम्झौताअघि नेइमारले क्लबसँग सम्झौता नवीकरण नगरी फ्री एजेन्ट बनेको अवस्थामा बार्सिलोना उनका लागि अघि सर्न सक्छ ।

तर, पिएसजीसँग सम्झौता बाँकी रहेकै अवस्थामा बार्सिलोनाले नेइमारका लागि सरुवा पूरा गर्न महँगो फी तिर्नुपर्ने हुन्छ, जुन अवस्था बार्सिलोनाको छैन । किनभने, बार्सिलोना आगामी समर विन्डोमा केही नयाँ खेलाडी अनुबन्ध गर्ने प्रयासमा छ । त्यसका लागि उसले जर्मन क्लब बोरुसिया डर्टमुन्डका अर्लिङ हल्यान्डलाई मुख्य योजनामा राखेको छ । टोलीलाई नयाँ ढंगले बनाउने तयारीमा रहेको बार्सिलोना अब पटक–पटक गम्भीर चोटसँग जुध्दै आएका नेइमालाई महँगो सरुवा फी तिरेर फर्काउने मनसायमा नरहेको बताइन्छ ।

बार्सिलोनाले अपेक्षा गरे जसरी फ्री ट्रान्सफरमा नेइमार फर्काउने बेला उनी ३१ वर्ष नजिक पुगिसक्नेछन् । उमेरका हिसाबले पनि बार्सिलोनालाई त्यो बेलाको स्थितिले फरक पार्न सक्नेछ । तर, बार्सिलोनामा कप्तान लिओनल मेस्सीले नयाँ सम्झौता नवीकरण गरेको खण्डमा नेइमारको फिर्ती अझै चाँडो हुन सक्ने चर्चा पनि सँगै छ । मेस्सीले अझै पनि नेइमारसँग एकसाथ खेल्न चाहेकाले उनले नेइमार फिर्तीका लागि क्लबमका भूमिका खेल्न सक्नेछन् । पछिल्लो समयका केही ताजा चर्चाअनुसार पनि नेइमारको बार्सिलोनाफिर्तीमा अझै पनि मेस्सीको मुख्य भूमिका रहने बताइन्छ ।

सन् २०१३ मा बार्सिलोना पुगेका नेइमारले सो क्लबका लागि चार सिजनमा कूल १८५ खेल खेल्दै १०५ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा ४० खेलबाट २१ गोल गरेका थिए । यता, २०१७ मा बार्सिलोना छाडेर पिएसजी पुगेपछि उनले १०५ खेल खेल्दै कूल ८३ गोल गरेका छन् । पिएसजीबाट उनी गत सिजन च्याम्पियन्स लिगको फाइनल पुगेका थिए । हालसम्म उनले त्यहाँबाट ९ उपाधि जितिसकेका छन् । उनी पिएसजीमा १०० गोल पूरा गर्नबाट मात्रै ७ गोलले टाढा छन् । बार्सिलोनाबाट उनले दुई ला लिगा र एक च्याम्पियन्स लिगसहित कूल ९ उपाधि जितेका थिए ।

प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार २२:०८
Loading...