बार्सिलोनालाई चिन्ता : मेस्सी र डे जोङमाथि ‘इएल क्लासिको’मा प्रतिबन्ध लाग्न सक्ने !

एजेन्सी, चैत २३

स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख खेलाडी तथा कप्तान लिओनल मेस्सीले सिजनको दोस्रो इएल क्लासिको गुमाउने खतरा बढेको छ । त्यसैगरी, टोलीको मिडफिल्डका प्रमुख खेलाडी फ्रेन्क डे जोङले भने कट्टर प्रतिस्पर्धी रियल मड्रिडविरुद्ध हुने सिजनको दोस्रो खेल गुमाउने खतरा छ । दोस्रो इएल क्लासिको आगामी शनिबार राति रियल मड्रिडको घरेलु मैदानमा हुँदैछ । यसअघि भएको पहिलो क्लासिकोमा रियलले बार्सिलोनालाई उसकै घरमा १–३ ले हराएको थियो ।

अर्को साता हुने दोस्रो क्लासिकोअघि आज राति बार्सिलोनाले लिगको २९औं खेल आफ्नो मैदानमा १६औं स्थानको रियल भाल्लाडोलिडविरुद्ध खेल्दा २ जना खेलाडी प्रतिबन्धको उच्च जोखिममा रहेका छन् । यदि आज राति मेस्सी र डे जोङमध्ये कोही एक वा दुवैले एक पहेंलो कार्ड पाए उनीहरूमाथि रियल मड्रिडविरुद्धको निर्णायक र प्रतिक्षाको खेलमा प्रतिबन्ध लाग्ने पक्का छ । सो खेलमा २ जना प्रमुख खेलाडी सम्भावित प्रतिबन्धको खतरामा छन् ।

किनभने, कप्तान मेस्सी र डे जोङले यो सिजन ला लिगामा हालसम्ममा समान ४–४ पहेंलो कार्ड पाइसकेका छन् । यदि आज राति थप एक कार्ड पाएका उनीहरूले रियल मड्रिडविरुद्धको खेल गुमाउने पक्का छ । युरोपमा शीर्ष लिगमा पाँच पहेंलो कार्ड पुगेपछि त्यसपछिको एक खेलमा प्रतिबन्ध लाग्ने नियम छ । मेस्सी र डे जोङ दुवै यो जोखिमबीच आज राति खेल्दा टोलीमा हुनेछन् । यो बार्सिलोनाका लागि निकै जोखिमपूर्ण खेल हुने पक्का छ ।

टोलीका दुईजना प्रमुख खेलाडी सम्भावित प्रतिबन्धको खतरामा भए पनि प्रशिक्षक रोनाल्ड कोम्यानले आज रातिको खेलमा मेस्सी र डे जोङ दुवैलाई सुरुआतबाटै उतार्ने तयारी गरेका छन् । आज रातिको खेल जितेर लिग लिडर एथ्लेटिको मड्रिडसँगको अंक दूरी १ मा छोट्याउने सुनौलो अवसर रहेकाले कोम्यान त्यसका लागि मेस्सीबिना जोखिम मोल्ने पक्षमा छैनन् । बार्सिलोनालाई उपाधि होडमा अघि बढ्न र एथ्लेटिकोमाथि दबाब बढाउन आजको खेल ज्यादै महत्त्वपूर्ण छ ।

यदि आजको खेल जितेर अंक दूरी १ मा छाट्याउन सके अर्को खेलमा इएल क्लसिको हुँदा बार्सिलोना उच्च मनोबलमा हुन् । बार्सिलोनाका लागि उपाधि होडमा आफ्नो दाबेदारी कुन स्तरबाट दिने भन्नका लागि आज रातिको खेल र क्लािसको मुख्य खेल हुन् । यी दुवै खेल जितेर रियल मड्रिडलाई पछि पार्दै स्पष्ट रूपमा अघि बढ्ने दाउमा बार्सिलोना छ भने एथ्लेटिकोमाथि पनि उसले नजिकबाट दबाब बढाउनेछ ।

यस्तो अवस्थामा रहेको बार्सिलोनाले सम्भावित पाँचौं पहेंलो कार्ड र प्रतिबन्धलाई बचाउन के आज मेस्सी र डे जोङलाई आराम दिने निर्णय गर्लान् ? यो सम्भावना न्यून छ । खेलअघि मिडियासँग कुरा गर्दै प्रशिक्षक कोम्यानले भाल्लाडोलिडविरुद्ध मेस्सी र डे जोङ खतरामा रहने भए पनि सम्हालिएर ध्यानपूर्वक खेल्नुपर्ने बताएका थिए । यसको अर्थ कोम्यानले त्यसपछि मनस्थिति नबदले आज राति प्रतिबन्धको जोखिमबीच पनि मेस्सी र डे जोङ दुवैलाई सुरुआतबाटै मैदान उत्रार्ने सम्भावना प्रबल छ । जारी सिजन मेस्सीले ला लिगामा २७ खेलबाट २३ गोल र ८ गोलमा असिस्ट पनि गरेका छन् ।

हाल ला लिगाको अंक तालिकामा एथ्लेटिको मड्रिड २९ खेलपछि ६६ अंकका साथ शीर्ष स्थानमा रहँदा २९ खेल खेलेको रियल मड्रिड ६३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । २८ खेल खेलेको बार्सिलोना ६२ अंकका साथ तेस्रो स्थानमा छ । ताजा अवस्थामा बार्सिलोना एथ्लेटिकोभन्दा ४ अंकले पछि छ भने रियलभन्दा मात्रै १ अंकले छ । आज राति जिते उसले रियललाई २ अंकले पछि पार्दै दोस्रो स्थानमा चढ्दा एथ्लेटिकोसँग दूरी १ को झिनो अन्तरमा झर्नेछ ।

प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार ०६:४८
Loading...