सेभिल्लासँग एथ्लेटिको मड्रिड पराजित : बार्सिलोना र रियललाई फाइदा

काठमाडौं, चैत २३

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा सहज अग्रतासहित शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड महत्त्वपूर्ण खेलमा पराजित भएको छ । गत राति भएको लिगको २९औं साताको खेलमा एथ्लेटिको अवे मैदानमा सेभिल्लासँग १–० को साँघुरो अन्तरमा पराजित भएको हो । आफ्नो घेलु मैदानमा सेभिलाले पाहुना टोली लिग लिडरविरुद्ध १ पेनाल्टी मिस गरेर पनि १ गोल गर्दै आफूले १ गोल पनि नखाई जित निकालेर एथ्लेटिको मड्रिडको उपाधि यात्रा अब संकटतर्फ धकेलिदिएको छ ।

अब चौथो स्थानको सेभिल्लासँग हारेसँगै एथ्लेटिकोलाई उपाधि होडमा ठूलै झट्का लागेको छ । सेभिल्लाको यो जितले मूलतः दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई अब सोझै फाइदा पुगेको छ । सम्भवतः एथ्लेटिकोलाई यो हारको मूल्य निकै महँगो पर्न सक्नेछ । एथ्लेटिकोको यो हारले अब बार्सिलोना र रियललाई उपाधि होडमा स्पष्ट बाटो खुला भएको छ । शीर्ष स्थानमा अग्रता बचाइराख्न अति नै महत्त्वपूर्ण खेलमा एथ्लेटिको पराजित हुँदा सिजन अन्त्यतिर पुग्दै गर्दा उसको हातबाट जित्दै गरेको उपाधि फुत्किने भएको छ ।

सेभिल्लाले खेलको आठौं मिनेटमै पेनाल्टी पाएर खेलमा अग्रता बनाउने मौका पाएको थियो । एथ्लेटिकोका खेलाडीले बल लिएर बक्सभित्र अघि बढिरहेका सेभिल्लाका इभान राकिटिकलाई फउल गरेर लडाएपछि रेफ्रीले सेभिल्लालाई सोझै पेनाल्टीको मौका दिए । तर, अर्जेन्टिनी खेलाडी लुकास ओकाम्पसले हानेको पेनाल्टी एथ्लेटिकोको गोलकिपर जान ओब्लाकले बचाएपछि सेभिल्लाले सुरुआतमै अग्रता लिने मौका खेर फालेको थियो ।

त्यसपछि पनि खेलमा दुवै टोलीले पटक–पटक अवसर बनाएका थिए । तर, गोल हुन ७०औं मिनेटसम्म लागेको थियो । जहाँ घरेलु टोली सेभिल्लाले खेलमा अग्रता बनायो । खेल गोलरहित बराबरीतर्फ अघि बढेका बेला सेभिल्लाका मार्कोस अकुनाले गोल गर्दै एथ्लेटिकोलाई झट्का दिएका थिए । उनले बक्सभित्र सिक्स यार्डबाट हेडिङमार्फत् उत्कृष्ट गोल गरेका थिए । उनको गोलमा जेसस नाभासले सुन्दर क्रस असिस्ट प्रदान गरेका थिए, जसमा अकुनाले कुनै गल्ती नै गरेनन् । सो गोपछि सेभिल्लाले त्यही अग्रता बचाएर खेल १–० ले जित्यो ।

सेभिल्लाले आफ्नो घरमा शानदार खेलेको थियो । उसले एथ्लेटिकोविरुद्ध कूल ५७ प्रतिशत बल आफ्नो पक्षमा राख्दै १८ सट हान्दा ५ सट अन टार्गेट राखेको थियो । यता, एथ्लेटिकोले ४३ प्रतिशत बल आफ्नो पक्षमा राखेर कूल ९ प्रहार गर्दा मात्रै ४ प्रहार अन टार्गेट हानेको थियो । एथ्लेटिकोका फरवार्ड लुइस स्वारेजले खेलमा पटक–पटक गोल गर्ने अवसर पाए पनि उनी फिनिसिङमा चुक्दा एथ्लेटिको निराश बनेको हो ।

अब यो जितपछि सेभिल्लाले २९ खेलबाट कूल ५८ अंक जोडेको छ । उसका लागि अब यो सिजनको टप–४ पक्का भएको छ । ऊ अर्को सिजन च्याम्पियन्स लिगमा छनौट अब केही अंक मात्रै आवश्यक छ । यता, पराजित एथ्लेटिको पनि अझै त २९ खेलपछि ६६ अंकका साथ शीर्ष स्थानमा यथावत छ । समान खेल खेलेको रियल मड्रिड ६३ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना ६२ अंकका साथ तेस्रो स्थानमा छ । बार्सिलोनाले आफ्नो खेल आज राति भाल्लाडोलिडसँग खेल्दै छ । यदि आज बार्सिलोनाले स्पष्ट जित निकाले ऊ दोस्रो स्थानमा चढ्नेछ । र, समान खेलपछि एथ्लेटिकोसँगको दूरी अब मात्रै १ अंकमा झर्नेछ । अहिले बार्सिलोना एथ्लेटिकोभन्दा ४ र रिल ३ अंकल पछि छ ।

प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार ००:५३
Loading...