पिएसजीमा नयाँ सम्झौता स्थगित : नेइमारको बार्सिलोना फिर्तीमा नयाँ मोड

एजेन्सी, चैत २२

फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारले क्लबसँग नयाँ सम्झौताका लागि छलफल स्थगित गरेका छन् । र, उनले पूर्वक्लब बार्सिलोना फर्किन चासो बढाएका छन् । यस्तो रिपोर्ट अन्तर्राष्ट्रिय खेल मिडियाले छापेका छन् । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले क्लब छाडेर कतै नजाने बुझेपछि स्पेन फर्किएर पुनः मेस्सीसँग खेल्ने नेइमारको चाहना छ । नत्र, पछिल्लो समय नेइमारले पिएसजीसँग सम्झौता लम्ब्याउने तयारी गरेको चर्चा थियो ।

तर, बार्सिलोनामा मेस्सीको भविष्य लम्बिने भएपछि नेइमारको सोच परिवर्तन भएको रिपोर्टहरूमा दाबी गरिएको छ । क्लब छाड्ने निर्णय गरेर बसेका मेस्सीले नयाँ अध्यक्ष जोआन लापोर्टाको नेतृत्वमा बार्सिलोनामै रहेर अघि बढ्ने स्थिति सिर्जना हुँदै गएपछि नेइमारको स्पेन फिर्ती चासो बढेको हो । नेइमार सन् २०१७ मा बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजीमा २२२ मिलियन युरोमा अनुबन्ध भएका थिए ।

तर, त्यसबेला नेइमार बार्सिलोनामा ‘मेस्सीको छायाँमा परेको’ पिएसजी पुगे पनि त्यहाँ सोचेअनुसार सफलता नपाएपछि उनी दुई वर्षअघिबाटै खुसी छैनन् । गत सिजन नेइमारले बार्सिलोना फर्किन निकै प्रयास गरे पनि पिएसजीले नछाड्दा उनी रोकिएका थिए । यता, मेस्सीले बार्सिलोना छाड्ने भएपछि उनी पिएसजी जाने चर्चा पनि सुरु हुँदा नेइमार र मेस्सी पिएसजीमै एक हुने चर्चा पनि चल्यो । तर, अब त्यो स्थिति बदलिइसकेको छ । किनभने, मेस्सी बार्सिलोनामै रहने करिब–करिब तय हुँदै गएको देखिन्छ ।

स्पेनको प्रतिष्ठित पत्रिका ‘मार्का’ले प्रकाशित गरेको रिपोर्टअनुसार नेइमारले स्पेन फर्किनका लागि बार्सिलोनामा रहेका आफ्ना नजिकका सर्कल र नयाँ बोर्डका अधिकारीसँग पनि सम्पर्क बढाइसकेका छन् । बार्सिलोनामा कप्तान लिओनल मेस्सी र जेरार्ड पिकेसँग अहिले नेइमार सरुवा विषयलाई लिएर सम्पर्कमा रहेको बताइएको छ । अहिलेका नयाँ अध्यक्ष जोआन लापोर्ट पनि नेइमारका शुभचिन्तक भएकाले नेइमारको फिर्ती सम्भव देखिन्छ । बार्सिलोनाका थुप्रै खेलाडीसँग अहिले पनि नेइमारको निकै राम्रो सम्बन्ध रहेको छ ।

नेइमारका पूर्वएजेन्ट आन्द्रे करीले पनि हालसालै एक अन्तर्वार्तामा नेइमार बार्सिलोना फर्किने र मेस्सीसँग पुनः सँगै खेल्ने बताएका थिए । यदि नेइमार र मेस्सीले फेरि सँगै खल्ने भए त्यो बार्सिलोनामा मात्रै सम्भव हुने उनले बताएका थिए । ‘मेस्सीको विषयमा अनेक चर्चा छन् । के मेस्सी र नेइमार पिएसजीमा सँगै खेल्छन् ? मलाई त्यतो लाग्दैन । यसमा कुनै सम्भावना छैन,’ करीले भनेका छन्, ‘मेस्सी र नेइमार सँगै खेल्छन् । तर, पिएसजीमा होइन, बार्सिलोनामा ।’

नेइमारले बार्सिलोनामा २०१३ देखि २०१७ सम्म खेलेका थिए । त्यसक्रममा उनले सबैखाले प्रतियोगितबाट कूल १८६ खेल खेल्दै कूल १०५ गोल गरेका थिए । बार्सिलोनामा नेइमारले एक च्याम्पियन्स लिग दुई ला लिगासहित कूल ९ उपाधि जितेका थिए । २०१७ विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाड्दा नेइमार २५ वर्षका थिए । आज उनी २९ वर्षका भए । बार्सिलोनामा कुनैबेला मेस्सी, नेइमार र स्वारेजको धारिलो आक्रमणपंक्ति थियो । तर, अहिले त्यसमध्ये मेस्सी मात्रै छन् ।

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार १०:५६
Loading...