सहज जितका साथ रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लियो

काठमाडौं, चैत २१

अन्तर्राष्ट्रिय ब्रेकपछिको पहिलो खेलमा स्पेनिस क्लब रियल मड्रिडले घरेलु लिग ला लिगामा सहज जित निकालेको छ । आज शनिबार राति भएको खेलमा रियलले १९औं स्थानको पाहुना टोली एइबारलाई आफ्नो घरेलु मैदानमा २–० ले पराजित गरेको हो । रियलका लागि उपाधि होडमा लिग लिडर एथ्लेटिको मड्रिडमाथि दबाब बनाइराख्न यो जित महत्त्वपूर्ण हुनेछ । यो जितका साथ रियल बार्सिलोनालाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा पनि चढेको छ ।

घरेलु मैदानमा रियललाई जिताउन २ जना खेलाडी गोल गरे । पहिलो गोल खेलको ४१औं मिनेटमा मार्को एसेन्सियोले गरे । उनले निकै शानदार गोल गेर टिमलाई अग्रता दिलाएका थिए । उनको गोलमा कासेमिरोले असिस्ट गरेका थिए । सो गोलअघि रियलका २ वटा गोल रद्द भएका थिए । एउटा गोल भिएआरले रद्द गरेको थियो भने एसेन्सियोको एक खतरनाक फ्रि किक प्रहार बारमा लागेर बाहिरिएको थियो ।

त्यसपछि रियलले दोस्रो हाफमा १ गोल थपेर क्लिन सिट सहितको जित निकाल्न सफल भयो । यसपटक खेलको ७३औं मिनेटमा फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गोल गरेर टिमको अग्रता दोब्बर बनाए । भिनिसियस जुनियरको क्रस पासमा बेन्जेमाले हेडिङमार्फत् बुलेट शैलीमा गोल गरेका थिए । उनको डाइभिङ हेडिङ प्रहारलाई एइबारका गोलकिपरले रोक्ने मौका समेत पाएनन् । त्यसपछि खेलमा दुवै तर्फबाट थप गोल भएन । र, खेल रियलले २–० ले जित्यो ।

अब यो जितपछि रियलले २९ खेलबाट कूल ६३ अंक जोडेको छ । उसले अब एक खेल कम खेलेको एथ्लेटिको मड्रिडसँगको दूरी ३ मा छोट्याएको छ । एथ्लेटिकोले एक खेल खेल्न बाँकी छ । यता, रियलले एक खेल कम खेलेको बार्सिलोनालाई १ अंकले पछि पारेर दोस्रो स्थानमा चढेको छ । बासिलोना दोस्रोबाट तेस्रो स्थानमा झरेको छ ।

प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार १५:५३
Loading...