करिअरको अन्त्यतिर पुग्दै गर्दा भावुक हुँदै मार्सेलोले रोनाल्डोलाई यसरी सम्झिए

एजेन्सी, साउन २७

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन खेलाडी मार्सेलोले पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोसँगको आफ्नो सहयात्राबारे मिठो टिप्पणी गरेका छन् । स्पेनिस सञ्चारमाध्यमसँग कुरा गर्दै उनले रोनाल्डो र आफूले जीवनमा सुन्दर फुटबल र मित्रताका थप्रै अद्भुत क्षणहरू साटेको बताएका छन् । रोनाल्डो अहिले ३६ वर्षका छन् भने मार्सेलो ३२ वर्षका छन् । यी दुई खेलाडीले रियल मड्रिडमा सन् २००९ देखि २०१८ सम्म गरी ९ वर्ष एकसाथ खेलेका थिए । रियलमा छँदा रोनाल्डो र मार्सेलोबीच मैदानमा जति राम्रो साझेदारी थियो, मैदानबाहिरको मित्रता त्योभन्दा मिठो थियो ।

एक कुराकानीक्रममा मार्सेलोले रोनाल्डोसँग अझै रियल मड्रिडमा बिताएको सुनौलो समय एकसाथ सहकर्मी बनेर खेल्न चाह व्यक्त गरेका छन् । तर, अब त्यो ९ वर्षको समय एक विगत बनिसकेको पनि मार्सेलाले बताएका छन् । ‘क्रिस्टियानो र मैले मड्रिडमा ९ वर्ष सँगै बितायौं । म त्यो समय आफ्नो करिअको सबैभन्दा मिठो र अद्भुत मान्छु । किनभने, हामीले दशकौंसम्म एकै जर्सीमा थप्रै स्मरण संगाल्यौं । आज म त्यो सुनौलो ९ वर्ष फेरि पहिलाकै जस्तो बिताउन चाहन्छु । तर, त्यो त अब विगत भइसक्यो,’ मार्सेलाले भनेका छन्, ‘सायद अब हामी फुटबलको अन्तिम मुभ बनाइरहेका छौं । अथवा, हामी खेलको विर्सजनतिर अघि बढिरहेका छौं । त्यो समय सम्झिँदा पनि म निकै स्तब्ध बन्ने गर्छु ।’

मार्सेलोले क्रिस्टियानोसँगको सम्बन्धबारे अर्को कुरा पनि खुलाएका छन् । रोनाल्डोसँग आफ्नो व्यक्तिगत मात्रै नभएर पारिवारिक सम्बन्ध पनि रहेकाले रोनाल्डोले इटाली जान स्पेन छाड्दा त्यसको असर पछिसम्म आफू र आफ्नो परिवारलाई परेको बताएका छन् । ‘जब २०१८ मा उनले स्पेन छाड्ने निर्णय गरेको, त्यसको असर हामी एकअर्कालाई मात्रै परेन । हाम्रो परिवार र बालबच्चाहरूलाई पनि पर्न गयो । किनभने, हामीबीच जति राम्रो सम्बन्ध थियो, त्योभन्दा हाम्रो परिवारबीच सम्बन्ध थियो । अवश्य पनि, उनी इटाली गएपछि हामीले उनी र उनको परिवारलाई धेरै सम्झियौं । सायद उनी र उनको परिवारले पनि हामीलाई पनि धेरै याद गरेको हुनुपर्छ ।’

मार्सेलोले आफूले विश्वकै नम्बर वान क्लबमा सुनौलो समय बिताइरहेको भन्दै खुसी व्यक्त गरेका छन् । ‘म यहाँ आँदा युवा थिए, आज ३२ वर्षको भएँ । मैले यहाँ मेरो जीवन र खेल करिअरको सुनौलो समय बिताइरहेको छु । मलाई गर्व लाग्छ कि, मैले विश्वकै सर्वोत्कृष्ट क्लबका लागि लामो समयदेखि खेलिरहेको छु । मैले सधैं दिलमा रियल मड्रिड राखेको छु । किनभने, यो क्लबले मलाई सबथोक दिएको छ । म आजका दिनसम्म पनि खुसीसायथ यहाँ रहेको छु,’ मार्सेलोले भने ।

मार्सेलोले आफ्नो भविष्य रियल मड्रिडमा के हुन्छ भन्ने विषयमा खास खुलाउन चाहेनन् । उनले भनेका छन्, ‘आजका दिनसम्म म रियल मड्रिडको खेलाडी हुँ । यहाँ अझै मेरो सम्झौता छ । यहींबाट करिअर अन्त्य गर्नु मेरो चाहना हो । समय कसरी अघि बढ्छ, त्यो हेर्नुपर्छ । अहिले मैले भविष्यबारे सोचेको छैन ।’

प्रकाशित मिति २६ चैत्र २०७७, बिहीबार ०४:४३
Loading...