बार्सिलोनापछि हल्यान्डका पिता र एजेन्टको रियल मड्रिडसँग पनि लगत्तै बैठक !

एजेन्सी, चैत १९

जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार फरवार्ड अर्लिङ हल्यान्डको सरुवा बजार एकाएक तातेको छ । खेलाडीका पिता र एजेन्टले हल्यान्डलाई चाहने क्लबसँग पालो–पालो बैठक गर्दै हिँडिरहेका छन् । आज बिहीबार हल्यान्डका एजेन्ट मिनो राईओला र उनका पिता अचानक स्पेनको बार्सिलोना सहरमा देखिए । मिडियाले उनीहरूलाई पछ्याउँदै जाँदा उनीहरू बार्सिलोनाको कार्यालय पुगे । र, त्यहाँ क्लबका अधिकारीसँग करिब डेढ घन्टासम्म बैठक चलेको स्पेनिस मिडियाले जनाएका छन् । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा आफैं बैठकमा सहभागी भएका थिए ।

बार्सिलोनासँग बैठक सक्नासाथ हल्यान्डका पिता र एजेन्ट तुरुन्तै रियल मड्रिडको कार्यालय पुगेका थिए । त्यहाँ उनीहरूले अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग २ घन्टासम्म गोप्य छलफल गरेको स्पेनिस मिडियाले जनाएका छन् । एकैदिन खेलाडीका एजेन्टले बार्सिलोना र रियलसँग घन्टाको बीचमा बैठक गरेपछि सो विषय ठूलै चर्चाको विषय बनेको छ । त्यत्ति मात्रै हैन, राईओला र हल्यान्डका पिताको टोली हल्यान्डलाई चाहने इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समेत पुगेर तत्कालै वार्ता गर्न निस्किसकेको स्पेनिस मिडियाले जनाएका छन् ।

२० वर्षीय नर्वेयिन फरवार्ड हल्यान्डलाई स्पेनका दुई कट्टर प्रतिस्पर्धी बार्सिलोना र रियल दुवैले चाहेका छन् । तर, बार्सिलोना ज्यादा गम्भीर देखिन्छ । हल्यान्डको समर सरुवालाई लिएर बजारमा अनेक चर्चा भइरहेका बेला उनका एजेन्ट र पिता स्वयं हल्यान्डलाई चाहने क्लबको कर्यालय नै पुगेर बैठक गर्न थालेपछि यसलाई निकै अर्थपूर्ण मानिएको छ । त्यसमा पनि खेलाडीको पक्षले रियल र बार्सिलोनासँग एकैदिन केही समयको बीचमा लगालग बैठक गरेपछि यो झनै रोचक बनेको छ ।

रिपोर्टअनुसार बार्सिलोना र रियल दुवैसँग हल्यान्डको सरुवाको सम्भावनाबारे सामान्य छलफल मात्रै भएको छ । दुवै क्लब र खेलाडीका प्रतिनिधिले आ–आफ्ना कुरा राख्ने काम पहिलो चरणमा भएको र अन्य क्लबका पनि प्रस्ताव सुनेर खेलाडीका पक्षले थप छलफल अघि बढाउने भनेर बैठकमा कुरा भएको खुलेको छ । न बार्सिलोना, न रियल । दुवै क्लबसँग हल्यान्ड सरुवाको विषयमा खास सर्त वा सहमति नबनेको खबरमा उल्लेख छ ।

जर्मन क्लब डर्टमुन्डले हल्यान्डका लागि १८० मिलिन युरोको रिलिज क्लज कायम गरेको छ, जुन निकै महँगो हो । हालकै अवस्थामा बार्सिलोना र रियल हल्यान्ड दुवैलाई यो सरुवा फी तिर्न सजिलो छैन । जर्मन मिडियाका रिपोर्टअनुसार डर्टमुन्ड १८० मिलियभन्दा तल झरेर हल्यान्डका लागि कुनै पनि प्रस्ताव सुन्न तयार छैन । यो बताइन्छ कि, हल्यान्डले बार्सिलोनाभन्दा रियलका लागि खेल्ने सम्भावना बढी छ । यो कुरा प्रष्टै छ कि– हल्यान्ड जहाँ आफ्नो भविष्य र भूमिका ज्यादा सुरक्षित हुन्छ, त्यही ठाउँ रोज्नेछन् । अब बार्सिलोना र रियलसँगै यस दौडमा इंग्लिस क्लब म्यानचेस्टर सिटी अहिले गम्भीरतापूर्वक लागेको चर्चा छ ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार १६:३५
Loading...