नेपालका गोलकिपर किरण एसियाकै बेस्ट खेलाडीको मनोनयनमा : भोट गर्ने लिंक सहित

काठमाडौं, चैत १९

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ एसियाली फुटबल महासंघ (एएफसी) को साताको बेस्ट अन्तर्राष्ट्रिय खेलाडीको मनोनयनमा परेका छन् । नेपाली टोलीका कप्तान समेत रहेका ३१ वर्षीय किरणलाई १० उत्कृष्ट खेलाडीको मनोनयनमा राखेको एएफसीले जनाएको छ । गत सोमबार मात्रै नेपालले नेपालमा आयोजित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको थियो । किरण सो प्रतियोगितामा नेपाली टोलीका प्रमुख हिस्सा थिए ।

काठमाडौंमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई फाइनल खेलमा २–१ ले हराएर उपाधि जित्दा टोलीको कप्तानी किरणले नै गरेका थिए । टोलीलाई फाइनलसम्म पुराएर उपाधि जिताउन कप्तानी भूमिकामा मुख्य योगदान दिएका उनलाई एएफसीले उत्कृष्ट खेलाडीको मनोनयमा राखेको छ । नेसन्स कपमा नेपालले ३ खेल खेल्दा किरणले दुई खेलमा क्लिन सिट राखेका थिए । उनले लिग चरणका दुई खेलमा कुनै गोल खाएनन् भने फाइनलमा १ गोल खाएका थिए ।

नेसन्स कपमा गरेको प्रदर्शनकै आधारमा एएफसीले किरणलाई उत्कृष्ट खेलाडीको मनोनयनमा राखेको पनि जनाएको छ । मनोनयन सूचीमा टप–१० खेलाडीमा किरणसँगै एसियाली फुटबलमा शीर्ष डिभिजनमा खेल्ने केही खेलाडी पनि परेका छन् । दुबईका अली मबखोउट, कतारका मोहमद मुन्टारी, जापानका युया ओसाको, इरानका सर्दार अजमौन, बहराइनका मोहमर मार्होन, जोर्डनका मुसा अल तमारी, साउदी अरेबियाका सलेहर अल सेहरी, इराकका अल अली, र ताजकिस्तानका अलिशेर जलीलोभ मनोनयनमा परेका छन् ।

अब मनोनयन सूची प्रकाशित भएपछि मनोयनमा परेका खेलाडीलाई फ्यानले पनि मतदान गर्न सक्नेछन् । भोटिङबाट सर्वाधिक मत पाउनेलाई एक सातापछि एएफसीले बेस्ट खेलाडी घोषणा गरेर अवार्ड दिनेछ । (नोटः मनोनयनमा परेका खेलाडीलाई एएफसीको अफिसियल वेबसाइटमा गएर भोट दिन सकिनेछ । यहाँ हामीले भोट गर्ने लिंक राखेका छौं । सम्पूर्ण नेपाली फुटबलप्रेमीले नेपाली खेलाडी किरणलाई भोट गरौं । र, यो पोस्ट सक्दो सेयर गरौं ।) नेपाली खेलाडी किरणलाई भोट गर्न यहाँ क्लिक गरौं !

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार १५:४३
Loading...