रियल मड्रिडलाई तनाव : सिजनकै ठूला खेलका मुखमा रामोस घाइते

एजेन्सी, चैत १९

स्पेनिस क्लब रियल मड्रिडका कप्तान समेत रहेका प्रमुख डिफेन्डर सर्जियो रामोस घाइते भएका छन् । आज क्लब रियलले अफिसियल रूपमा पुष्टि गर्दै रामोस घाइते भएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय ड्युटीबाट क्लब फर्किएका रामोसको देब्रे पिडुलामा चोट परेको छ । यो चोटका कारण उनी अब कम्तीमा एक महिनासम्म मैदान बाहिर रहनेछन् । रामोसको चोटले रियल र प्रशिक्षक जिनेदिन जिदानलाई अब तनाव बढेको छ ।

टोलीको डिफेन्सका मुख्य खेलाडी ठूला खेलका मुखमा घाइते हुँदा रियललाई आगामी केही खेलमा अब ठूलै चुनौती हुनेछ । रियलले केही दिनका बीचमा ला लिगामा सिजनको दोस्रो इएल क्लासिको बार्सिलोनाविरुद्ध खेल्नेछ भने त्यसपछि च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलसँग क्वार्टरफाइनलका पहिलो र दोस्रो लेगका खेल एक साताका बीचमा खेल्नेछ । रामोसले यी तीन वटै ठूला खेल गुमाउने पक्का भएको छ । रियलका लागि यी तीन खेल यो सिजनकै ज्यादै महत्त्वपूर्ण हुन् । तर, रामोसको चोटले अब टोलीमाथि दबाब बढेको छ ।

दुई हप्ताको अन्तर्राष्ट्रिय ब्रेकपछि रियलले पहिलो खेल आगामी शनिबार घरेलु मैदानमा ला लिगामा एइबारसँग खेल्दै छ । त्यसको ३ दिनपछि च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा रियलले आफ्नै घरमा लिभरपुलसँग खेल्नेछ । यो खेलको ३ दिनपछि नै रियलले ला लिगामा बार्सिलोनाविरुद्ध आफ्नै घरमा खेल्नेछ । बार्सिलोनासँग क्लासिको खेलेको ३ दिनपछि रियलले लिभरपुलसँग च्याम्पियन्स लिगको अवे खेल खेल्नेछ । रियलले लगातार यी ३ वटै खेल आफ्नो घरेलु मैदानमा खेल्नेछ भने लिभरपुलसँगको दोस्रो लेग अवे मैदानमा खेल्नेछ । रियलले मात्रै ९ दिनको बीचमा यी ३ खेल खल्नेछ ।

रियल हाल च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ भने ला लिगामा तेस्रो स्थानमा रहेको छ । रियल २८ खेलपछि ६० अंक बनाएर तेस्रो स्थानमा छ । रियल हाल लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ६ र दोस्रो स्थानको बार्सिलोनाभन्दा २ अंकले मात्रै पछि परेको छ । रियल दोस्रो क्लासिकोमा बार्सिलोनालाई हराएर लिगको दोस्रो स्थानमा चढ्ने दाउमा छ । यसअघि भएको पहिलो लेगमा रियलले बार्सिलोनालाई उसकै घरेलु मैदानमा १–३ ले हराएको थियो ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार १३:१४
Loading...