२० वर्षका हल्यान्डलाई प्रिमियर लिग इतिहासकै ठूलो अफर !

एजेन्सी, चैत १९

जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार फरवार्ड अर्लिङ हल्यान्ड भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटी सबैभन्दा खरो रूपमा उत्रिन लागेको चर्चा सुरु भएको छ । इंग्लिस मिडियाका ताजा रिपोर्टहरूअनुसार हल्यान्ड प्रिमियर लिग इतिहासकै ठूलो सम्झौतामा इंग्ल्यान्ड उत्रिन सक्ने नयाँ चर्चा सुरु भएको हो । यस दौडमा म्यानचेस्टर सिटी सबैभन्दा प्रमुख दाबेदार बन्ने देखिएको छ । १० वर्ष क्लबमा बिताएका फरवार्ड सर्जियो अगुएरोले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा भएसँगै सिटी आगामी समर सिजनमा नयाँ फरवार्डको खोजीमा बजारमा निस्किने पक्का छ । यदि त्यसो हो भने सिटीका लागि हल्यान्डभन्दा बेस्ट अर्को अर्को विकल्प के हुन सक्ला ?

ताजा रिपोर्टहरू अनुसार २० वर्षका नर्वेजियन गोल मेसिन खेलाडी अब सिटीमा अगुएरोको उत्तराधिकारी बन्न सक्ने बाटो खुलेको छ । सिटी अहिले हल्यान्ड भित्र्याउन सकिने सम्भावना र त्यसका सम्भावित सर्तहरूको बारेमा अध्ययन गरिरहेको छ । आगामी समर विन्डोमा आर्थिक क्षमताका हिसाबले हल्यान्डलाई भित्र्याउन सक्ने क्लब थोरै मात्रै छन् । र, सिटी त्यसमध्ये एक हो । सिटीभन्दा अघि स्पेनका दुई क्लब बार्सिलोना रियल मड्रिड हल्यान्डको सरुवासँग जोडिँदै आएका थिए । त्यसमा अब सिटी पनि थपिएको छ ।

सरुवा बजारमा हाल हल्यान्डको मार्केट भ्यालु ११० मिलियन युरोको रहेको छ । डर्टमुन्डले हल्यान्डका लागि न्यूनतम् १५० मिलियन युरोसम्मका अडान राख्न सक्ने अनुमान छ । यदि यसो हुँदा पनि सिटीले हल्यान्ड भित्र्याउने अवसर छ । तर, त्यसका लागि उसले हल्यान्डलाई ऐतिहासिक ठूलो अफर दिनुपर्छ । र, सिटी हल्यान्डका लागि यी सबै कुरा गर्न पनि सक्षम छ । किनभने, सिटी विश्वकै धनीमध्ये एक क्लबमा पर्छन । चर्चित इंग्लिस पत्रिका ‘द सन’को एक रिपोर्टअनुसार हल्यान्ड पेप ग्वार्डिओलाल नेतृत्व गरेका सिटी गएको खण्डमा प्रिमियर लिग इतिहासकै ‘हाईएस्ट पेड प्लेयर’ बन्न चाहन्छन् ।

सिटीले हल्यान्डलाई प्रतिसाता ६ लाख पाउन्ड तलब दिने गरी उनका एजेन्ट मिनो राईओलासँग छलफलमा जुट्ने भएको छ । यो भनेको हाल सिटीमा रहेका स्टार खेलाडीहरू रहिम स्टर्लिङ, रियाद महारेज र रुबेन डियाज ३ जनाले पाउने कूल तलब भन्दा पनि बढी हो । हल्यान्डसँग डिल हुने अवस्था आए सिटीले पहिलो चरणमा आगामी पाँच सिजनका लागि सम्झौता गर्नेछ । त्यसका लागि उसले सो अवधिका हल्यान्डलाई ३ सय मिलियन पाउन्ड प्याकेज रकम तिर्नुपर्ने हुन्छ ।

मिडिया रिपोर्ट अनुसार सिटीले साँच्चै नै हल्यान्ड भित्र्याउँछ र चर्चामा रहेको अंकको तलब दिन तयार हुन्छ भने यो प्रिमियर लिग इतिहासकै सबैभन्दा ठूलो रकम हुनेछ । आजसम्म यस लिगमा कुनै पनि खेलाडीले यति ठूलो तलब पाएका छैनन् । मानौं, यदि सिटीले हल्यान्डलाई १५० मिलियन पाउन्डमै अनुबन्ध गरेर रेकर्ड तलब दिन तयार भएछ । अब प्रश्न उठ्छ, के २० वर्षका हल्यान्ड साँच्चै नै यसका लायक छन् त ? वा हुन्छन् ? यो प्रश्न त स्वभाविक रूपमा उठ्ने नै छ ।

वर्तमान फुटबलमा हल्यान्ड सबैभन्दा राम्रो गोलकर्ता खेलाडीमध्ये एक हुन् । उनले आफ्ना पछिल्ला ४९ खेलमा ४९ गोल गरेर एक बेस्ट गोलकर्ता खेलाडीका रूपमा आफूलाई मार्किङ दिइरहेका छन् । तर, धेरैले हल्यान्डलाई गोलकर्ता खेलाडी मात्रै मान्छन् । उनमा एक कुशल प्लेमेकरमा हुनुपर्ने गुण नरहेको भन्दै उनका लागि ठूलो बजेट खर्च गर्नु सही निर्णय नहुने राय राख्दै आएका छन् । हाल अन्तर्राष्ट्रिय ड्युटीबाट क्लब फर्किनेक्रममा रहेका उनले फिफा विश्वकप छनौटमा खेलेका ३ वटै खेलमा गोल गर्न सकेनन् । त्यत्ति मात्रै हैन, उनले देशका लागि खेलेका पछिल्ला ६ खेलमा १ गोल पनि गर्न सकेका छैनन् ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार ०९:४७
Loading...