बार्सिलोनाको टोलीमा ठूलै उथलपुथल हुने : समरमा हुँदैछ यी ९ खेलाडीको बिदाइ

एजेन्सी, चैत १९

स्पेनिस फुटबल क्लब बार्सिलोनाले आगामी समर सिजनमा टोलीका करिब दर्जन खेलाडीको कोठा खाली गर्ने तयारी गरेको छ । नयाँ अध्यक्ष जोन लापोर्टाले नयाँ सिजनका लागि टोली पुनर्निर्माण गर्ने योजानाअनुसार कम महत्त्वका खेलाडी बेचेर रकम बटुल्ने र त्यो नयाँ खेलाडीका लागि तथा क्लबको आर्थिक बोझ हलुका बनाउन खर्च गर्ने योजना बनाएका छन् । स्पेनिस मिडयाका रिपोर्टअनुसार बार्सिलोनाले समर सिजनमा कम्तीमा ७ जना बढीमा ९ जनासम्म खेलाडीलाई बेच्ने भएको छ । यीमध्ये केही स्टार खेलाडी बेचिने सूचीको प्राथमिकतामा छन् ।

नयाँ सिजनका लागि नयाँ ढंगले टोली तयार पार्ने योजनाअनुसार क्लबले कम महत्त्वका खेलाडी बेचेर केही नयाँ खेलाडीका लागि लगानी गर्ने तयारी गरेको छ । समर सिजनका लागि बार्सिलोनाले केही स्टार र महँगा खेलाडी भित्र्याउन खोजिरहेको छ । त्यसका लागि उसले आफ्नो टोलीमा भएका खेलाडी बेचेर पैसा जम्मा गर्नुपर्ने स्थिति छ । क्लब आर्थिक हिसाबले समस्यामा रहेकाले पनि क्लब अनावश्य खेलाडी बेचर आर्थिक बोझ कम गर्ने योजनामा छ ।

‘क्याटलान रेडियो’को अनलाइन संस्करणमा प्रकाशित रिपोर्टअनुसार बार्सिलोनाले समरमा ९ जनासम्म खेलाडीलाई बिदा गर्ने भएको छ । जसमा क्लब इतिहासकै २ जना महँगा खरिद खेलाडी फिलिपे कोउटिन्हो र एन्टोनी ग्रीजम्यान पनि छन् । त्यसैगरी, मिडफिल्डर मिरालेम पियानिच पनि बेचिने खेलाडीको सूचीमा छन् । यी ३ जना खेलाडी बेचेर बार्सिलोना सकेसम्म धेरै पैसा जम्मा पार्न चाहन्छ । बार्सिलोनाले ग्रीजम्यानलाई १२० मिलयन युरो, कोउटिन्होलाई १६० मिलियन युरो र पियानिचलाई ६५ मिलियन युरोमा भित्र्याएको थियो ।

यीमध्ये कोउटिन्हो बार्सिलोना क्लबकै सबैभन्दा महँगा खरिद खेलाडी हुन् । कोउउटिन्हो र ग्रीजम्यान बार्सिलोनामा जम्न नसकेकाले बार्सिलोनाले यी खेलाडी बेच्दा खरिद मूल्यका आधारमा ठूलो घाटा व्यहोर्ने पक्का छ । ट्रान्सफर मार्केटका चर्चाअनुसार बार्सिलोना कोउटिन्होलाई ५० मिलियन युरो, ग्रीजम्यानलाई ७५ मिलियन युरो र पियानिचलाई ५० मिलियन युरोसम्मा बिदा गर्न तयार छ । त्यसैगरी, बार्सिलोनाले बेच्ने सूचीमा राखेका अन्य खेलाडी फरवार्ड मार्टिन ब्रेथवेट, डिफेन्डर जुनियर फिर्पो, अर्का डिफेन्डर सामुएल उम्टिटी र गोलकिपर नेटो पनि छन् । त्यसैगरी, फरवार्ड ट्रिनकाओ र अर्का डिफेन्डर क्लेमेट लेङलेटका लागि पनि आकर्षक प्रस्तावमा बार्सिलोना छलफल गर्न तयार छ ।

यता, बार्सिलोना नयाँ सिजनका लागि केही स्टार खेलाडी अनुबन्ध गर्न खोजिरहेको छ । जसमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड अर्लिङ हल्यान्ड नम्बर वान टार्गेटमा छन् । उनका लागि बार्सिलोनाले कम्तीमा १५० मिलियन युरो खर्चनुपर्ने हुन्छ । त्यसैगरी, इंग्लिस क्लब म्यानचेस्टर सिटी छाड्ने निर्णय गरेका सर्जियो अगुएरो र फ्रेन्छ क्लब लियोनका फरवार्ड मेम्फिस डिपेमध्ये एक खेलाडी बार्सिलोनाको योजनामा छन् । यी दुवै खेलाडी फ्री ट्रान्सफरमा उपलब्ध छन् ।

बार्सिलोनाले चाहेका अर्का खेलाडी जर्मन क्लब बायर्न म्युनिखका डिफेन्डर डेभिड अलबा हुन् । उनी पनि फ्री ट्रान्सफरमा उपलब्ध खेलाडी हुन् । र, अलबाका लागि बार्सिलोनाले रियल मड्रिडका प्रतिस्पधा गर्नुपर्नेछ । बार्सिलोनाले समरमा म्यानचेस्टर सिटीबाट युवा डिफेन्डर इरिक गार्सिया भित्र्याउने करिब–करिब पक्काजस्तै छ ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार ०६:२४
Loading...