यी ‘दुईटा कुरा’मा मेस्सीलाई ‘कन्भिन्स’ गराउने कसरतमा छन् नयाँ अध्यक्ष

एजेन्सी, चैत १९

स्पेनिस क्लब बार्सिलोनाका नयाँ अध्यक्ष जोन लापोर्टाले टोलीका कप्तान तथा मुख्य खेलाडी लिओनल मेस्सीसँग नयाँ सम्झौताका लागि छलफल थालेका छन् । यो सिजनको अन्त्यसँगै सम्झौता सकिन लागेका मेस्सीले क्लब छाड्ने चर्चा छ । उनको नाम इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पिएसजीसँग जोडिँदै आएको छ । तर, नयाँ अध्यक्ष लापोर्टा मेस्सीलाई बाहिर जान नदिनका लागि कुनै पनि हालतमा नयाँ सम्झौता गर्न चाहन्छन् । उनले सार्वजनिक रूपमै मेस्सीलाई क्लबमै राख्न र नयाँ सम्झौताका लागि मनाउन आफूले सबै प्रयास गर्ने बताउँदै आएका छन् ।

बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले छापेको ताजा रिपोर्टअनुसार अध्यक्ष लापोर्टा मेस्सीसँग नयाँ सम्झौता गर्न सकिनेमा आशावादी छन् । त्यसका लागि उनले दुई विषयमा मेस्सीलाई ‘कन्भिन्स’ गराउन प्रयास गरिरहेका छन् । मेस्सीसँग जोडिएका धेरै विषय भए पनि मुख्य रूपमा दुई विषयमा मेस्सीलाई सकारात्मक बनाउन सके दुई पक्षबीच नयाँ सम्झौता हुने देखिन्छ । मेस्सी र बार्सिलोनाबीच अबको साढे दुई महिनामा सम्झौता भइसक्नुपर्नेछ । अन्यथा, उनी फ्री एन्जेन्टका रूपमा क्लब छाड्न स्वतन्त्र हुनेछन् । मेस्सी १३ वर्षको उमेरदेखि लगातार बार्सिलोनामा छन् । उनले सिनियर टोलीमा १७ सिजनदेखि लगातार खेलिरहेका छन् ।

रिपोर्टअनुसार अध्यक्ष लापोर्टाले मेस्सीसँग मुख्य रूपमा विषयबारे छलफल गरिरहेका छन् । यी दुई कुरामा मेस्सीलाई क्लब नछाड्ने कुरामा सहमत गराउने नयाँ बोर्डको प्रयास हुनेछन् । पहिलो– आगामी सिजनका लागि टोलीको पुनर्निर्माण र च्याम्पियन्स लिग जित्ने वातावरण । सन् २०१५ यता बार्सिलोनाले च्याम्पियन्स लिग जित्न नसक्दा मेस्सी निराश छन् । लगातार ठूला प्रतियोगितामा खराब नतिजाको सिकार हुँदा मेस्सीले लज्जा महसुस गरेका छन् । यी सबैको प्रमुख कारण क्लबले समयअनुसार प्रतिभाशाली खेलाडी अनुबन्ध नगर्नु हो । महत्त्वकांक्षा साथ अनुबन्ध भएका मिडफिल्डर फिलिपे कौउटिन्हो र फरवार्ड एन्टोनी ग्रीजम्यान चम्किन नसक्दा त्यसको बोझ पनि मेस्सीमाथि नै पर्दै आएको छ ।

अब नयाँ अध्यक्ष लापोर्टा पछिल्ला सिजनहरूको खराब समयको अध्ययन गरेर नयाँ सिजनका लागि नयाँ ढंगले टोलीको पुनर्निर्माण गर्ने कुरामा गम्भीर छन् । उनले यसै कुरामा मेस्सीलाई कन्भिन्स गराउनेछन् । आवश्यकताअनुसार केही युवा र प्रतिभाशाली खेलाडी ल्याएर नयाँ सिजनमा च्याम्पियन्स लिग जित्न सक्ने वातावरण बनाउन अनि नम्बर वान टोली बनाएर नयाँ सिजनमा होमिने कुरामा मेस्सीलाई विश्वास दिलाउन चाहन्छन् लापोर्टा । यसका लागि लापोर्टाले मेस्सीले चाहेकै केही खेलाडी अनुबन्ध गर्ने निर्णय गर्ने नै छन् । यदि क्लबमा राम्रो वातावरण बने, नयाँ ढंगले टोली बने र च्याम्पियन्स लिग जित्न सकिने वातावरण बने मेस्सी बार्सिलोनामै निरन्तर रहन राजी हुनेमा लापोर्टा आशावादी छन् । मेस्सीसँग नयाँ सम्झौताका लागि तलब–भत्ता क्लब र मेस्सी दुवैका लागि पनि बाधा वा समस्या नबन्ने लापोर्टाले ठानेका छन् ।

दोस्रो– टोलीको पुनर्निर्माण मेस्सीकै वरिपरि रहेर हुने । भर्खरै पदमा आएका लापोर्टाले आफ्ना पहिलो सिजनलाई राम्रो बनाउनुपर्ने दबाब छ । यसका लागि क्लबले ठूला उपाधि जित्नुपर्छ र राम्रो बिजनेस गर्नुपर्छ । यसका लागि क्लबले ला लिगा र च्याम्पियन्स लिग जित्नुपर्छ । अनि यी कुरा प्राप्त गर्न बार्सिलोनालाई अहिले नै मेस्सीबना कठिन छ । मेस्सी उमेरले ३४ वर्ष पुग्न लागे पनि उनले अझै पनि टिमलाई सबैभन्दा धेरै योगदान दिइरहेका छन् । यो त उनको व्यक्ति तथ्यांकले नै देखाउँछ । यसको अर्थ मेस्सी अहिले पनि बार्सिलोनाको स्कावडका मुटु नै हुन् । मेस्सीको गोल र असिस्टलाई छाड्ने हो भने यो सिजन बार्सिलोनाको हालत के हुन्थ्यो वा के हुन्छ भनेर त्यो सबैले विचार गर्न सक्छन् ।

तसर्थ, यदि मेस्सीले क्लब नछाड्ने अवस्थामा बार्सिलोनाका लागि अझै पनि मेस्सी सबैभन्दा मुख्य खेलाडी हुनेछन । र, उनी सधैं झैं मुख्य भूमिकामै हुनेछन् । तसर्थ क्लबले जो नयाँ खेलाडी ल्याए पनि मेस्सीकै वरिपरि रहेर नयाँ टोली बन्ने र मेस्सी अझै केही समय टोलीको केन्द्रमा हुनेछन । अध्यक्ष लापोर्टा मेस्सीलाई यो कुरामा विश्वास दिलाउन चाहन्छन् । बार्सिलोनमा आफ्नो भविष्य के हुन्छ भन्नेमा मेस्सीलाई शंका रहे त्यसलाई क्लियर पारेर टोली उनकै कमान्डमा अघि बढ्ने विषयमा लापोर्टा मेस्सीलाई विश्वास दिलाउन चाहन्छन् । क्लब फेरि पनि मेस्सीकै नेतृत्वमा नयाँ ढंगले ठूला उपाधि जित्ने र उपाधिको खुसी फर्काउने लक्ष्यका साथ नयाँ यात्रामा अघि बढ्ने कुरामा मेस्सीलाई विश्वास दिलाउने प्रयासमा लापोर्टा रहेका छन् ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार ०३:५२
Loading...