कतार विश्वकप छनौट : स्पेन र इटालीले निकाले सहज जित

काठमाडौं, चैत २०

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत आफ्नो तेस्रो खेलमा स्पेनले सहज जित निकालेको छ । गत राति भएको खेलमा स्पेनले आफ्नो भूमिमा पाहुना टोली कोसोभोलाई ३–१ हराउन सफल भयो । स्पेनको जितमा ३ जना फरक–फरक खेलाडीले गोल गरे । स्पेनका लागि यो दोस्रो जित हो । उसले एक खेलमा भने बराबरीमै चित्त बुझायो ।

स्पेनका लागि खेलको ३४औं मिनेटमा युवा खेलाडी ड्यानी ओल्मोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । सो गोलमा जोर्डी अल्बाले पास दिएका थिए । त्यसपछि दोस्रो गोल खेलको ३६औं मिनेटमा युवा स्टार फेर्रान टोरेजले गरे । सो गोलमा युवा खेलाडी पेड्रीले असिस्ट दिएका थिए । खेलको ७०औं मिनेटमा कोसोभोका लागि बेसार हालिमीले गोल गरेर खेललाई २–१ मा छोट्याएका थिए । तर, स्पेनले तत्कालै तेस्रो गोल हान्यो ।

खेलको ७५औं मिनेटमा जेर्राड मोरेनोले गरे । उनको गोलमा कोकेले असिस्ट प्रदान गरेका थिए । त्यसपछि खेलमा थप गोल भएन । र, खेल स्पेनले ३–१ ले जित्यो । अब यो जितपछि स्पेनले ३ खेलबाट ७ अंक बनाएको छ । २ खेल खेलेको स्वीडेन ६ अंकका साथ दोस्रो स्थानमा छ ।

यता, गत राति नै भएको अर्को खेलमा इटालीले पनि सहज जित निकालेको छ । इटालीले सुरुआती ३ वटै खेल जितेर १०० प्रतिशत विजयी यात्रा कायम राखेको छ । इटालीले अवे मैदानमा लिथुनियालाई उसकै घरमा ०–२ ले हराउँदा २ जना खेलाडीले गोल गरे । पहिलो गोल ४७औं मिनेटमा स्टेफानो सेन्सीले गरे भने दोस्रो गोल ९४औं मिनेटमा सिरो इम्मोबिलेले गरे । अब यो जितपछि इटालीले ३ खेलबाट ९ अंक बनाएर समूह ‘सी’को शीर्ष स्थानमा छ । स्वीट्जरल्यान्ड ६ अंकसहित दोस्रो स्थानमा छ । गत रातिका १५ खेलको नतिजा हेरौं–

१. अर्मानिया ३ – २ रोमानिया
२. माल्डोभा १ – ४ इजरायल
३. अस्ट्रिया ० – ४ डेनमार्क
४. जर्मनी १ – २ नर्थ म्याकेडोनिया
५. आन्डोरा १ – ४ हंगेरी
६. युक्रेन १ – १ काजकास्तान
७. नर्दन आयरल्यान्ड ० – ० बुल्गेरिया

८. स्कटल्यान्ड ४ – ० फारोए आयसल्यान्ड
९. बोस्निया एन्ड हर्जगोभिना ० – १ फ्रान्स
१०. ग्रीस १ – १ जर्जिया
११. स्पेन ३ – १ कोसोभो
१२. लिइच्टेन्सटेइन १ – ४ आइसल्यान्ड
१३. इंग्ल्यान्ड २ – १ पोल्यान्ड
१४. सान मारिनो ० – २ अल्बानिया
१५. लिथुनिया ० – २ इटाली

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार ०२:०१
Loading...