कतार विश्वकप छनौट : लेवान्डोस्कीबिनाको पोल्यान्डलाई इंग्ल्यान्डले हरायो

काठमाडौं, चैत २०

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत आफ्नो तेस्रो खेलमा इंग्ल्यान्डले तेस्रो जित दर्ता गरेको छ । उसले सुरुआती ३ वटै खेल जितेर १०० प्रतिशत विजयी यात्रालाई कायम राख्न सफल भएको छ । गत राति भएको खेलमा इंग्ल्यान्डले आफ्नो भूमिमा पाहुना टोली पोल्यान्डलाई २–१ ले पराजित गरेको हो । स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीबिनाको पोल्यान्डले इंग्ल्यान्डसँग हार पन्छाउन सकेन ।

पोल्यान्डका कप्तान समेत रहेका लेवान्डोस्कीले दोस्रो खेल खेल्नेक्रममा चोट बोकेपछि तेस्रो खेलअघि नै राष्ट्रिय टोली छाडेर क्लब बार्यन म्युनिख फर्किएका थिए । उनी चोटका कारण कम्तीमा एक महिनासम्म मैदानबाहिर हुने पक्का भएको छ । क्लब बार्यनले यसको पुष्टि गरिसकेको छ । उनले विश्वकप छनौटमा सुरुआती २ खेलबाट ३ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

गत राति वेम्बली स्टेडियममा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डका लागि खेलको १९औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत् गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा पोल्यान्ड खेलमा फर्किएको थियो । ५८औं मिनेटमा जाकुब मोडरले गोल गरेर खेल १–१ बनाएका थिए । तर, खेलको ८५औं मिनेटमा इंग्ल्यान्डका लागि डिफेन्डर ह्यारी मागुइरेले गोल गरेपछि घरेलु टोली इग्ल्यान्डले खेल २–१ जित्न सफल भयो ।

अब यो जितपछि इंग्ल्यान्डले ३ खेलमा सबै खेल जितेर ९ अंक बनाएको छ । ऊ समूह ‘आई’को शीर्ष स्थानमा रहेको छ । ७ अंक भएको हंगेरी दोस्रो स्थानमा छ । ६ अंक भएको अल्बानिया तेस्रो स्थानमा रहँदा ४ अंक भएको पोल्यान्ड चौथो स्थानमा छ । आन्डोरा र सान मारिनो भने ३ वटै खेल हारेर पुछारतिर रहेका छन् ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार ०१:३४
Loading...