कतार विश्वकप छनौट : फ्रान्सको जितमा ग्रीजम्यान बने नायक, एमबाप्पे लगातार निराश

काठमाडौं, चैत २०

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत आफ्नो तेस्रो खेलमा साबिक विश्वच्याम्पियन फ्रान्सले साँघुरो जित निकालेको छ । गत राति भएको तेस्रो छनौट खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनालाई उसकै घरेलु मैदानमा ०–१ पराजित गरेको हो । फ्रान्सको कठिन जितमा १ मात्रै विजयी गोल फरवार्ड एन्टोनी ग्रीजम्यानले गरे । उनले छनौटमा दोस्रोपटक गोल गरेका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा फ्रान्सका लागि केलियन एमबाप्पेले पहिलो हाफमा १ गोल गरे पनि त्यसले मान्यता पाएन । तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्न सफल भए । खेलको ६०औं मिनेटमा ग्रीजम्यानले आड्रेन राबिओटको पासमा गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । मैदानको तल्लो भागबाट राबिअ‍ोटले बक्समा दिएको पासमा बक्समा तैनाथ रहेको ग्रीजम्यानले हेडिङमार्फत् आकर्षक गोल गरेका थिए । त्यसपछि खेलमा दुवै तर्फबाट थप हुन सकेन । र, खेल फ्रान्सले ०–१ ले जित्यो । छनौट खेलमा फ्रान्सका लागि यो दोस्रो जित हो ।

अब यो जितपछि फ्रान्सले सुरुआती ३ खेलबाट ७ अंक बनाएर समूह ‘डी’को शीर्ष स्थानमा रहेको छ । फ्रान्स राम्रो अग्रताका साथ शीर्ष स्थानमा रहेको हो । दोस्रो स्थानको युक्रेनको खातामा मात्रै ३ अंक रहेको छ । २ अंक भएको फिनल्यान्ड तेस्रोमा छ । समान १–१ अंक भएका बोस्निया एन्ड हर्जगोभिना र काजकास्तान १–१ अंकसहित क्रमशः चौथो र पाँचौं स्थानमा छ ।

विश्वकप छनौट खेलमा फ्रान्सका लागि ग्रीजम्यानले राम्रो प्रदर्शन गर्दै टिमलाई सघाए । उनले ३ मध्ये २ खेलबाट २ गोल गरे । तर, अर्का स्टार फरवार्ड केलियन एमबाप्पे भने ३ वटै खेलमा लगातार गोलविहीन बने । फ्रान्सले पहिलो खेलमा युक्रेनसँग १–१ को बराबरी खेल्दा ग्रीजम्यानले नै १ गोल गरेका थिए । त्यसपछि दोस्रो खेलमा काजकास्तानविरद्ध उसामान डेम्बेले र सेह्री मिलीले गोल गरेका थिए । तेस्रो खेलमा ग्रीजम्यानले नै टिमका लागि १ मात्रै विजयी गोल गरे ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार ००:४७
Loading...