रोनाल्डोले ‘फ्याँकेको आर्मब्यान्ड’ लिलामीमा राखियो : घातक रोग लागेका बालकको उपचारमा खर्चिने

एजेन्सी, चैत १८

कतार विश्वकपका लागि युरोपियन क्षेत्रमा जारी छनौट खेल खेल्नेक्रममा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मैदानमा फ्याँकेको कप्तानको आर्मब्यान्ड लिलामीमा राखिएको छ । ४ दिनअघि सर्बियाविरुद्ध भएको छनौट खेल दौरान आफ्नो गोलले मान्यता नपाएपछि रेफ्रीको निर्णयसँग रुष्ट बनेका रोनाल्डोले आक्रोशित हुँदै मैदान छाडेका थिए । सर्बियाको बेलग्रेडमा भएको खेलमा पाहुना टोली पोर्चुगलले ०–२ को अग्रता गुमाएर खेल २–२ को बराबरीमा पुगेको थियो । सोही बेला रोनाल्डोले खेलको अन्तिम समय ९३औं मिनेटमा टिमका लागि विजयी गोल गरेका थिए ।

तर, रेफ्रीले सो गोललाई मान्यता दिएनन् । बल गोल लाइन पार गरेर भित्र छिरिसके पनि सर्बियन खेलाडीले बाहिर तानेर क्लियर गरेका थिए । त्यो स्पष्ट गोल भएपनि रेफ्रीले मान्यता दिएनन् । र, रोनाल्डो रुष्ट बने । विश्वकप छनौटमा गोल लाइन टेक्नोलोजी र भिएआर दुवैको प्रयोग व्यवस्था नभएकाले सो गोलका लागि रिभ्यु भएन । अन्ततः रोनाल्डोको गोलले मान्यता पाएन । उल्टै गोलका लागि अपिल गर्दा उनले पहेंलो कार्ड खानु परेको थियो । त्यसपछि झनै रोनाल्डो झनै रुष्ट बने । र, रिसाउँदै उनले आफूले लगाएको कप्तानको आर्मब्यान्ड नै भुइँमा फ्याँकेर खेलको समय सकिनुअघि नै मैदान छाडेर हिँडेका थिए ।

सो विषय निकै भाइरल बनेको थियो । रोनाल्डोले आफ्नो गोल रद्द हुँदा आक्रोश पोख्नु सामान्य भए पनि आफैंले लगाएको कप्तानको आर्मब्यान्ड फ्याँक्नु गलत रहेको भेरै धेरैले आलोचना गरेका थिए । त्यसरी रोनाल्डोले मैदानमै छाडेर हिँडेको आर्मब्यान्डलाई एक संस्थाले लिलामीमा राखेर पैसा जम्मा गर्ने भएको हो । सो रकम एक दुर्लभ रोगसँग जुधिरहेका एक साना बालकको उपचारमा खर्च हुने भएको छ । ‘स्पोर्ट्स क्लब’ नामक च्यानलले खेलको रिप्ले हेर्दा रोनाल्डोको आर्मब्यान्ड भुइँमा बवारिसे रहेको पाएपछि त्यसलाई एक च्यारिटी संस्थासँग मिलेर लिलामीमा राखिएको छ ।

रोनाल्डोले फ्याँकेको आर्मब्यान्ड कसैले नटिपेपछि त्यसबेला त्यहाँ रहेका एक स्टेवार्डले टिपेर एक क्षेत्रीय टिभीलाई डाकेर लिलामीमा राख्न सुझाव दिएका थिए । अब लिलामीबाट उठेको रकम एकक घातक रोगसँग जुधिरहेका ६ महिने बालक ग्राभिलो जुर्डेभिचको उपचारमा खर्च गर्ने घोषणा भएको छ । जसले रोनाल्डोले फ्याँकेको आर्मब्यान्ड टिपेका थिए, उनले भनेका छन्, ‘क्रिस्टियानोले आर्मब्यान्ड मेरो नजिकै फ्याँक्नुभएको थियो । त्यो देखेपछि मलाई तत्कालै त्यसलाई लिलामीमा राखेर आएको पैसाबाट रोगी बच्चाको उपचार गर्ने सोच आयो । उहाँले रिसले आर्मब्यान्ड फ्याँक्नुभएको थियो । तर, त्यसकै कारण अब कसैले नयाँ जीवन पाउने सम्भावना बढेको छ । लिलामीबाट आएको सबै पैसा हामी उपचारमा खर्च गर्नेर्छौ,’ आफ्नो नाम नखुलाएका ती व्यक्तिले भनेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार रोनाल्डोको आर्मब्यान्ड कतिसम्म लिलामी हुन्छ भन्ने यकिन भएको छैन । यसमा बोली लाग्नेक्रम जारी छ । ३ दिनसम्म यसलाई लिलामीमा राखिनेछ । तर, यसबाट कम्तीमा २ लाख युरो (नेपाली २ करोड ७७ लाखभन्दा बढी) सम्म न्यूनतम् बोली लाग्ने अपेक्षा गरिएको छ । ती रोगी बच्चालाई ‘स्पाइनल मस्कुलर अट्रोफी’ रोग लागेको बताइएको छ । यो विश्वकै सबैभन्दा खतरनाक र घातक रोगमा पर्छ । यो विश्वकै सबैभन्दा महँगो उपचार लाग्ने रोग हो । यसको उपचारमा २० लाख युरोभन्दा बढी खर्च लाग्ने बताइएको छ । रिपोर्टअनुसार रोनाल्डोको आर्मब्यान्डलाई सकेसम्म महँगो लिलामी पास गराइनेछ ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार १०:४२
Loading...