‘विजयी गोल’को मामिलामा रोनाल्डो नम्बर वान : छेउछाउ पनि छैनन् मेस्सी ! (तथ्यांक सहित)

काठमाडौं, चैत २७

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीबीच हरेक कुरामा चर्को प्रतिस्पर्धा छ । व्यक्तिगत प्रदर्शन, शैली, लिडिङ पावरदेखि गोल संख्या, असिस्ट संख्या, उपाधि र अवार्ड संख्यामा पनि यी दुईबीच दशकौंदेखि कडा प्रतिस्पर्धा छ । यदि सोझो प्रतिस्पर्धा छैन भने पनि यी दुई खेलाडीका आ–आफ्ना समर्थक र मिडियाले जबर्जस्त प्रतिस्पर्धा सिर्जना गरिदिहाल्छन् । र, यी दुईको सधैं हरेक कुरामा तुलना हुने गर्छ । मिडिया अनि खास गरी रोनाल्डो र मेस्सीका समर्थकहरू आ–आफ्ना खेलाडीलाई बेस्ट साबित गर्न कडै गरी लागेका हुन्छन् । यस कुराले पनि रोनाल्डो र मेस्सीबीच लामो समयदेखि चर्को प्रतिस्पर्धा देखाउँदै आएको छ ।

आज हामी यहाँ यी दुई खेलाडीले आफ्नो करिअरमा कसले चाहिँ बढी विजयी गोल गरेका छन् भनेर एक ताजा तथ्यांक तुलना गरेका छौं । सबै कुरा तुलना हुने रोनाल्डो र मेस्सीको यो पक्ष पनि तुलना नगरी बस्ने त कुरै भएन । फुटबलको तथ्यांक संकलन गर्ने चर्चित संस्था ‘ओप्टा’ले एक ताजा तथ्यांक प्रकाशित गरेको छ, जसमा रोनाल्डो र मेस्सीमध्ये कसले चाहिँ आफ्नो टिमका लागि सबैभन्दा धेरैपटक विजयी गोल गरेका छन् भनेर तुलना गरिएको छ । यस तथ्यांकमा खेलाडीले क्लब र देशका लागि खेलेका सबै प्रतियोगिता र गोललाई समावेश गरिएको छ ।

‘ओप्टा’का अनुसार खेल दौरान विजयी गोलको तुलनालाई विषय बनाउने हो भने इटालियन युभेन्टसबाट खेलिरहेका ३६ वर्षका रोनाल्डो धेरै नै अघि रहेको देखिन्छ । जब विजयी गोलको कुरा आउँछ, बार्सिलोनाबाट खेलिरहेका ३४ वर्ष नजिक रहेका मेस्सी रोनाल्डोसँग प्रतिस्पर्धा त के, छेउछाउ पनि पुग्दैनन् । यो तथ्यांक केवल कोही एक खेलाडीको नम्बरलाई बढावा दिन मात्रै तयार पारिएको छैन । यदि यी दुईमध्ये कसले चाहिँ आफ्नो टिमका लागि बढी विजयी गोल गरेका छन् भनेर तथ्यांक केलाउने वा मिल्छ भने कुनै मेसिनमा हालेर जाँच गर्ने हो भने रोनाल्डो धेरै अघि देखिन्छन् ।

यस तथ्यांकमा खेलाडीले क्लब फुटबलअन्तर्गत घरेलु लिग, च्याम्पियन्स लिग, अन्य कप फुटबलदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलको तथ्यांक समेत समावेश छ । अन्तर्राष्ट्रिय फुटबलअन्तर्गत फिफा विश्वकप छनौट, युरो कप, कोपा अमेरिका र यी सबै प्रतियोगिताका लागि भएका छनौट खेलको समेत तथ्यांक समावेश गरिएको छ । अब समग्र नम्बरको कुरा गरौं । क्लब फुटबलको मात्रै कुरा गर्दा मेस्सीले आजसम्म बार्सिलोनाका लागि कूल ७६८ खेल (ताजा तथ्यांक) खेल्दा जम्मा १७९ खेलमा टिमका लागि विजयी गोल गरेका छन् । उनले बार्सिलोनाका लागि कूल ६६३ गोल गरेका छन् ।

जबकि, रोनाल्डोले विभिन्न क्लबमा खेल्नेक्रममा आजसम्म ८८६ खेलबाट २०७ खेलमा टिमका लागि विजयी गोल गरेका छन् । यो मेस्सीको भन्दा २८ ले बढी हो । रोनाल्डोले क्लब करिअरमा कूल ६६८ गोल गरेका छन् । तर, बढी विजयी गोलको कुरा गर्दैगर्दा रोनाल्डोले मेस्सीको भन्दा बढी खेल खेलेका छन् भन्ने कुरा पनि भुल्नु हुँदैन । यो तथ्यांक क्लबको मात्रै हो । अब कुरा गरौं अन्तर्राष्ट्रिय खेलहरूको । यस मामिलामा पनि मेस्सीभन्दा रोनाल्डो एकदमै अघि छन् । मेस्सीले अर्जेन्टनाका लागि कूल १४२ खेल खेलेर ७१ गोल गर्दा कूल १९ खेलमा विजयी गोल गरेका छन् । जबकि, रोनाल्डोले पोर्चुगलका लागि १७३ खेलबाट कूल १०३ गोल गर्दा उनले ३१ खेलमा देशका लागि विजयी गोल गरेका छन् । यो मेस्सीको भन्दा १२ ले बढी हो ।

रोनाल्डोभन्दा मेस्सीले बढी विजयी गोल गरेको प्रतियोगिता फिफा क्लब विश्वकप र युइएफए सुपर कपमा मात्रै हो । यस प्रतियोगितामा मेस्सीले ५ खेलमा विजयी गोल गरेका छन् भने रोनाल्डोले ४ खेलमा टिमका लागि विजयी गोल गरेका छन् । के यही तथ्यांकका आधारमा यी दुईमध्ये को चाहिँ बेस्ट हो भनेर निचोड निकाल्न मिल्छ ? अवश्य मिल्दैन । किनभने, यति लामो करिअर दौरान कति कुरामा रोनाल्डो मेस्सीभन्दा अघि छन् भने कतिमा मेस्सीभन्दा रोनाल्डो अघि छन् । यो त केवल एक पक्षको मात्रै तुलना हो । यस्ता विभिन्न पक्षको कुरा यहाँ एकै ठाउँमा गर्न सकिँदैन ।

यद्यपि, मेस्सीले व्यक्तिगत रूपमा जितेका केही ठूलो अवार्डको संख्यालाई छाड्ने हो भने बाँकी सबै कुरामा मेस्सीभन्दा रोनाल्डो अघि नै छन् । आजसम्म मेस्सीले जितेका खास–खास सबै कुरा रोनाल्डोले पनि जितेका छन् । तर, रोनाल्डोले जितेको अन्तर्राष्ट्रिय उपाधि मेस्सीले कहिल्यै पनि जितेका छैनन् । यही भएर पनि उनलाई मेस्सीभन्दा समग्रमा सफल खेलाडी मान्नेको जमात् ठूलो छ । फेरि पनि, यसरी रोनाल्डोलाई मेस्सीभन्दा सफल मान्नेहरूमध्ये धेरैले प्रतिभाका हिसाबले चाहिँ रोनाल्डोभन्दा मेस्सीलाई बेस्ट मान्न तयार हुन्छन् ।

आजसम्म मेस्सीले ६ वटा बालोन डिओर र ६ वटा गोल्डेन बुट जितेका छन् । रोनाल्डोले ५ वटा बालोन डिओर र ४ वटा गोल्डेन बुट जितेका छन् । मेस्सीले चार च्याम्पियन्स लिग जित्दा रोनाल्डोले पाँचपटक जितेका छन् । जबकि, मेस्सीले सधैं एकै क्लबमा खेलेर यी सफलता पाए भने रोनाल्डोले फरक–फरक समयमा फरक–फरक क्लबबाट खेलेर पाए । अर्को मुख्य कुरा, मेस्सीले आजसम्म देशका लागि जित्न नसकेको उपाधि रोनाल्डोले दुईपटक जितिसकेका छन् । आजका मितिसम्म समग्रमा क्लब फुटबल, च्याम्पियन्स लिग, अन्तर्राष्ट्रिय सबैमा गोल संख्यामा मेस्सीभन्दा रोनाल्डो नै अघि छन् ।

तर, रोनाल्डोभन्दा ३ वर्ष कान्छा रहेका मेस्सीले एक–दुई वर्ष बढी फुटबल खेलेमा रोनाल्डोका केही रेकर्ड भने तोडिनेछन् । तर, च्याम्पियन्स लिग र अन्तर्राष्ट्रिय गोलमा मेस्सीले रोनाल्डोलाई भेट्न वा बराबरी गर्न भने अब सम्भवजस्तै छ । अब तपाईं फ्यान–पाठकहरू भन्नुहोस्– रोनाल्डो र मेस्सीमध्ये को चाहिँ ‘असली गोट’ हो ?

प्रकाशित मिति २६ चैत्र २०७७, बिहीबार ०६:२५
Loading...