लेवान्डोस्की चोटले एक महिना मैदानबाहिर रहने पक्का : पिएसजीको ठूलो तनाव हट्यो !

एजेन्सी, चैत १७

जर्मन क्लब बार्यन म्युनिखका प्रमुख खेलाडी फरवार्ड रोवर्ट लेवान्डोस्की घाइते भएका छन् । चोटका कारण उनी कम्तीमा एक महिना मैदानबाहिर रहने पक्का भएको छ । उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको क्लब बार्यनले अफिसियल रूपमा पुष्टि गरेको छ । क्लब बार्यनले आज अफिसियल प्रेस नोट जारी गर्दै भनेको छ– ‘लेवान्डोस्कीको दायाँ घुँडामा लिगामेन्ट समस्या देखिएको छ । फरवार्ड चार हप्तासम्म मैदान बाहिर रहनेछन् ।’

लेवान्डोस्की २ दिनअघि फिफा विश्वकप छनौटको दोस्रो खेल आन्डोराविरुद्ध खेल्नेक्रममा घाइते भएका थिए । सो खेलमा उनले २ गोल गरेका थिए । खेलपछि उनी चोटिल भएको पुष्टि भएको थियो । चोट परेपछि भोलिपल्टै लेवान्डोस्कीले राष्ट्रिय टोली छाडेर क्लब बार्यन फर्किएका थिए । अब उनको उपचार बार्यनमै हुनेछ । बार्यन पुगेपछि थप चेकजाँचबाट उनको उपचार गर्नुपर्ने र त्यसका लागि एक महिनासम्म लाग्ने पुष्टि भएको हो ।

लेवान्डोस्की घाइते भएसँगै अब च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा फ्रेन्च क्लब पिएसजीविरुद्धको खेलमा जर्मन टिमलाई समस्या पर्ने भएको छ । उनको चोटले पिएसजीको भने ठूलो तनाव घटेको छ । तर, बार्यनलाई तनाव बढेको छ । लेवान्डोस्कीले पिएसजीविरुद्ध क्वार्टरफाइनलका पहिलो र दोस्रो दुवै लेगका खेल गुमाउने पक्का छ । पलिो खेल बार्यनको मैदानमा अप्रिल ७ मा हुनेछ भने दोस्रो लेग त्यसको ६ दिनपछि पिएसजीको मैदानमा हुनेछ । यी दुवै खेलमा लेवान्डोस्की नहुने पक्का भएको छ ।

पिएसजी र बार्यनको भिडन्तलाई यसपटक च्याम्पियन्स लिग क्वार्टरफाइनल चरणकै सबैभन्दा ठूलो खेल मानिएको छ । यी दुवै टोली गत सिजन फाइनल खेलेका थिए । तर, यसपटक उनीहरूको भेट क्वार्टरमै भएको हो । यो खेललाई निकै प्रतीक्षासाथ हेरिएको थियो । तर, लेवान्डोस्कीको चोटले अब बार्यनलाई समस्या बढ्नेछ भने पिएसजीलाई लेवान्डोस्को खतरा नहुने भएको छ । उता, पिएसजीका नेइमार भने चोटमुक्त हुँदै बार्यनविरुद्धको खेल खेल्ने तयारीमा छन् ।

जारी सिजन शानदार लयमा रहेका लेवान्डोस्कीले बार्यनका लागि सबैखाले प्रतियोगिताबाट कूल ३५ खेलबाट ४२ गोल गरेका छन् । बुन्डेसलिगामा मात्रै उनले २५ खेलबाट ३५ गोल गरेका छन् । च्याम्पियन्स लिगमा भने उनले १० खेलबाट ६ गोल मात्रै गरेका छन् । यता, फिफा विश्वकप छनौटमा उनले सुरुआती २ खेलबाट ३ गोल गरेका थिए । क्लब र देशका लागि गरी उनले यो सिजन कूल ३७ खेलबाट ४४ गोल गरिसकेका छन् ।

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार १५:४०
Loading...