म्यानचेस्टर सिटी छाडेका अगुएरोलाई भित्र्याउन बार्सिलोनालाई एउटै कुराको चिन्ता

एजेन्सी, चैत २६

इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले यो सिजन सकिएसँगै क्लब छाड्ने पक्का भएपछि उनको सरुवा चासोको विषय बनेको छ । सिटमिा १० वर्ष बिताएका ३२ वर्षका फरवार्डको इंग्लिस टोलीसँगको सहयात्रा यो आगामी समरमा सकिँदैछ । क्लब सिटीले अगुएरोसँग नयाँ सम्झौता नगर्ने र उनले समरमा क्लब छाड्ने पुष्टि गरिसकेको छ । यसको अर्थ अगुएरोलाई अब नयाँ सिजनमा कुनै नयाँ क्लबको जर्सीमा देख्न पाइने भएको छ ।

सिटीलाई स्पेनिस क्लब बार्सिलोनाले भित्र्याउन चाहेको चर्चा केही समयअघि बाटै सुरु भएको छ । उमेरले ३२ वर्ष भए पनि फ्री ट्रान्सफरमा एक गोलकर्ता खेलाडी बार्सिलोनाका लागि राम्रै विकल्प हुन सक्छन् । सिटीसँग सम्झौता सकिएकाले अगुएरोलाई भित्र्याउन बार्सिलोना वा अन्य कुनै पनि क्लबले १ रुपैयाँ पनि खर्च गर्नुपर्नेछैन । अब अगुएरो अनुबन्ध गर्ने दौडमा बार्सिलोनालाई सबैभन्दा सम्भावित दाबेदार मानिएको छ । त्यसो त अगुएरो विगतमा एथ्लेटिको मड्रिडबाटै सिटीमा गएकाले पनि उनी पुनः पूर्वक्लब फर्किन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । अगुएरोले सन् २००६ देखि २०११ सम्म एथ्लेटिकोबाट खेलेका थिए । त्यस दौरान उनले कूल २३४ खेलबाट १०१ गोल गरेका थिए ।

स्पेनिस मिडियाका अनुसार बार्सिलोनालाई अगुएरो भित्र्याउन निकै सजिलो छ । तर, क्लबलाई एउटै कुराको चिन्ता छ– अगुएरोको चोट । गत वर्ष मांशपेसी र घुँडाको जोर्नीमा गम्भीर चोट बोकेका अगुएरोको चोट बल्झिने चिन्ता बार्सिलोनालाई छ । यही चिन्ताले प्रशिक्षक रोनाल्ड कोम्यानले अगुएरो अनुबन्धमा के गर्छन् भन्नेमा निर्णय लिन कठिन पर्ने देखिएको छ । गत वर्षबाट पटक–पटक चोट बोक्दै आएका अगुएरोको फिटनेसमा बार्सिलोनालाई अहिले पनि ठूलो शंका छ । उनलाई फ्री ट्रान्सफरमा भित्र्याए पनि भोलि चोट र फिटनेसको सास्ती झेल्नुपर्ला कि भन्नेमा कोम्यान चिन्तित रहेको स्पेनिस मिडियाले जनाएका छन् ।

यदि प्रशिक्षक कोम्यानले चाहेमा अगुएरो नयाँ सिजनमा बार्सिलोनाको खेलाडी हुने सम्भावना ९९ प्रतिशत नै रहेको बताइन्छ । तर, यो पूरा निर्णय कोम्यानमाथि नै भर पर्छ । किनभने, अगुएरो भित्र्याउने अवस्थामा कोम्यानले चाहेका इंग्लिस क्लब लिभरपुलका विंगर जर्जिन्हो विज्नाल्डुम र फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपेमध्ये एक खेलाडी सूचीबाट आउट हुनेछन् । यी दुवै कोम्यानकै देश नेदरल्यान्ड्सका खेलाडी हुन् । यदि बार्सिलोनाले अगुएरो भित्र्याएको अवस्थामा दुई सिजनका सम्झौता हुनेछ ।

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ०४:५२
Loading...