गोलको खडेरी तोड्दै ३७ वर्षपछि घरेलु मैदानमा नेपालले जित्यो अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं, चैत १६

नेपालले ३७ वर्षपछि आफ्नो भूमिमा अन्तर्राष्ट्रिय उपाधि जितेको छ । नेपालले आफ्नो भूमिमा आयोजित थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । आज सोमबार भएको फाइनल भिडन्तमा आयोजक नेपालले पाहुना टोली बंगलादेशलाई २–१ ले हराउँदै च्याम्पियन बन्न सफल भयो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः४० बजेबाट सुरु भएको खेलमा नेपालले सुखद् नतिजा निकाल्न सफल भएको हो । नेपालले दशरथ रंगशालामा उपाधि नजितेको ३७ वर्ष भइसकेको थियो । तर, लामो समय र उत्तारचढावपछि नेपालले आफ्नो देशमा उपाधिको खुसीयाली मनाउन सफल भयो ।

घरेलु मैदान र घरेलु दर्शकमाझ सुरुआतबाटै आक्रामक खेल खेलेको नेपालका लागि १८औं मिनेटमा युवा खेलाडी सन्जोग राईले उत्कृष्ट गोल गरेर टिमलाई सुरुआती अग्रता दिलाएका थिए । सुनील बलले हानेको कर्नर किकबाट आएको बललाई बंगलादेशका डिफेन्डरले क्लियर गर्न नसक्दा बक्सभित्र अनमार्क रहेका सन्जोगले कडा लो सटमा बललाई माथिल्लो बारबाट प्रहार गर्दै जाली चुमाए । उनले वान टचमै हानेको कडा प्रहारले बंगलादेशका डिफेन्डरको भिड छिचोल्दै जाली चुमेको थियो ।

नेपालले पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलमा लगातार गोल गर्न नसकेको अवस्थामा आज आठौं खेलमा गोल गरेर गोलको खडेरी पनि टार्न सफल भएको छ । नेपालले समय अवधिका हिसाबले १८ महिनापछि अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सफल भएको हो । यसअघि ७ खेलमा नेपालले १ गोल पनि गर्न सकेको थिएन । यतिसम्म कि, यसै प्रतियोगितामा पनि नेपालले लिग चरणका दुई खेल खेल्दा १ गोल पनि नगरी फाइनल पुगेको थियो ।

नेपालका पहिलो गोलकर्ता सन्जोग राईले दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्नेक्रममा पहिलो गोल गर्न सफल भए । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । दोस्रो खेल फाइनल खेल्नेक्रममा उनले महत्त्वपूर्ण गोल गरेर देशलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपालका लागि दोस्रो गोल खेलको ४१औं मिनेटमा विशाल राईले निकै राम्रो फिनिसिङमा गर्न सफल भए । रन्जित धिमालको लामो पासमा सन्जोग राईले छोएर आएको बललाई उनले विपक्षी खेलाडीबाट पार गराएर हलुका प्रहारमा पोस्टको दिशा दिएपछि नेपालले पहिलो हाफमै २–० को अग्रता बनाउन सफल भएको थियो ।

विशालले वान भर्सेस वानमा उत्कृष्ट फिनिसिङमा गोल गरेका थिए । उनकै गोलपछि नै नेपाल जिततर्फ अघि बढेको थिया । तर, दोस्रो हाफको अन्त्यतिर बंगलादेशले १ गोल फर्काएर खेलमा फर्किन संकेत दिएको थियो । नेपालले बक्समा राम्रोसँग ध्यान दिन नसक्दा कर्नर किकबाट आएको बलमा ८२औं मिनेटमा महबुबु रहमानले गोल गरेर खेल २–१ बनाए । तर, बाँकी समयमा नेपालले पोस्ट बचाएर खेल २–१ ले जित्दै च्याम्पियन बन्न सफल भयो ।

आज नेपालको खेल हेर्न र नेपाली टोलीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत रंगशाला पुगेका थिए । खेलपछि उनैले विजेता खेलाडी र टिमलाई उपाधि तथा मेडल प्रदान गरेका थिए । प्रम ओली कार्यक्रमको प्रमुख अतिथि बनेर रंगशाला पुगेका हुन् । खेल सुरु हुनुअघि ओलीले दुवै टिमका खेलाडीसँग भेट गरेर हात मिलाउँदै शुभकामना दिएका थिए भने रेफ्रीलाई बल हस्तानतरण गरेका थिए ।

प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार १३:३०
Loading...