थ्री नेसन्स कप फाइनलको पहिलो हाफ : बंगलादेशविरुद्ध नेपाललाई २–० को अग्रता

काठमाडौं, चैत १६

नेपालमा जारी थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको फाइनल भिडन्तमा अहिले आयोजक देश नेपाल र पाहुना टोली बंगलादेशबीचको खेल जारी छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ः४० बजेबाट सुरु भएको खेलको पहिलो हाफमा नेपालले २–० को सहज अग्रता बनाएको छ । नेपालका लागि खेलको १८औं मिनेटमा सन्जोग राईले उत्कृष्ट गोल गरेर टिमलाई सुरुआती अग्रता दिलाएका हुन् ।

कर्नर किकबाट आएको बल बंगलादेशका डिफेन्डरबाट क्लियर हुन नसक्दा बक्सभित्र अनमार्क रहेका सन्जोगले कडा लो सटमा बललाई माथिल्लो बारबाट प्रहार गर्दै जाली चुमाए । उनले वान टचमै हानेको कडा प्रहारले बंगलादेशका डिफेन्डरको भिड छिचोल्दै जाली चुमेको थियो । नेपालले पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलमा लगातार गोल गर्न नसकेको अवस्थामा आज आठौं खेलमा गोल गरेर गोलको खडेरी पनि टार्न सफल भएको छ ।

नेपालका पहिलो गोलकर्ता सन्जोग राईले दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्नेक्रममा पहिलो गोल गर्न सफल भए । त्यसपछि नेपालका लागि दोस्रो गोल खेलको ४१औं मिनेटमा विशाल राईले निकै राम्रो फिनिसिङमा गर्न सफल भए । लामो दूरीबाट आएको बल उनले विपक्षी खेलाडीबाट पार गराए हलुका प्रहारमा पोस्टको दिशा दिएपछि नेपालले पहिलो हाफमै २–० को अग्रता बनाउन सफल भयो । आज नेपालको खेल हेर्न र नेपाली टोलीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा अ‍ोली समेत रंगशाला पुगेर खेल हेरिरहेका छन् ।

प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार १२:२४
Loading...