प्रधानमन्त्री ओली नेपाल–बंगलादेशको फाइनल खेल हेर्न रंगशाला जाने

काठमाडौं, चैत १६

थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा आज हुने नेपाल र बंगलादेश बीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला जाने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार ओली नेपाली टोलीलाई सपोर्ट गर्न रंगशाला नै पुग्ने भएका हुन् । फाइनल खेल काठामाडौंको त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आज साँझ ५ः३० बजेबाट सुरु हुनेछ । खेल नेपाली टिभीबाट लाइभ हुनेछ ।

प्रम ओली प्रमुख अतिथि बनेर रंगशाला जानेछन् । खेलपछि उनैले विजेता टोली र खेलाडीलाई उपाधि तथा मेडल वितरण गर्नेछन् । नेपाल लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित ०–० को बराबरी खेल्दै फाइनल पुगेको थियो । नेपाल आज घरेलु रंगशाला र घरेलु दर्शकमाझ पाहुना टोली बंगलादेशलाई हराएर च्याम्पियन बन्ने दाउमा छ ।

बंगलादेश भने किर्गिस्तानसँग लिग चरणको पहिलो खेलमै स्पष्ट जितका साथ फाइनल पुगेको थियो । तर, नेपाल भने पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोली र त्यसपछि बंगलादेश दुवैसँग ०–० को बराबरी खेल्दै फाइनल पुगेको हो । दशरथ रंगशालामा यसअघि कतार विश्वकपअन्तर्गत छनौट खेल खेलाउने भनिए पनि समयमै रंगशालाको पुनर्निर्माण पूरा नहुँदा खेल पटक–पटक सरेको थियो । त्यसपछि एन्फाले थ्री नेसन्स कप आयोजना गरेको हो ।

प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार ०७:५३
Loading...