‘हल्यान्डका लागि बगाउने पैसा’ले यी २ जना प्लेमेकर भित्र्याउन बार्सिलोनालाई आल्भेसको सुझाव

एजेन्सी, चैत १६

ब्राजिलियन क्लब सान पाओलोका खेलाडी ड्यानी आल्भेसले पूर्वक्लब स्पेनिस बार्सिलोनालाई नयाँ खेलाडी अनुबन्धका विषयमा आफ्नो सुझाव दिएका दिएका छन् । आगामी समर विन्डोमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्ड २० वर्षीय फरवार्ड अर्लिङ हल्यान्ड अनुबन्धका लागि प्रयास गरिरहेको छ । नर्वेका युवा खेलाडीका लागि डर्टमुन्डले निकै महँगो १८० मिलियन युरोको रिलिज क्लज कायम गरेको छ । जबकि, सरुवा बजारमा हल्यान्डको मार्केट भ्यालु मात्रै ११० मिलियन युरो रहेको छ ।

तर, डर्टमुन्डले भने सकेसम्म हल्यान्डलाई नबेच्ने र बेच्नु परे पनि सकेसम्म ठूलो पैसा लिएर बेच्न चाहन्छ । उसले हल्यान्डलाई अघिल्लो जनवरी विन्डोमा मात्रै २३ मिलियन युरोमा अस्ट्रियन क्लब रेड बुल साल्जवर्गबाट भित्र्याएको थियो । डर्टमुन्ड पुगेदेखि नै हल्यान्ड राम्रो लयमा खेलिरहेका छन् । त्यहाँ उनले हालसम्म ४९ खेलबाट ४९ नै गोल र ११ असिस्ट गरिसकेका छन् । उनलाई भित्र्याउन बार्सिलोनासँगै स्पेनकै रियल मड्रिड पनि लागिपरेको छ ।

तर, सन् २००८ देखि २०१६ सम्म बार्सिलोनामा बिताएका आल्भेसले बार्सिलोनालाई हल्यान्डका लागि धेरै लगानी नगर्न बरु त्यो पैसाले २ जना प्लेमेकर खेलाडी ल्याउन सुझाव दिएका छन् । हल्यान्ड गोलकर्ता खेलाडी मात्रै भएकाले उनको उपस्थितिले समग्रमा बार्सिलोनाको टिमलाई रचनात्मक सहयोग नपुग्ने आल्भेसले बताएका छन् । हल्यान्डमा प्लेमेकरको जस्तो गुण नरहेको आल्भेसको भनाइ छ । एक ताजा अन्तर्वार्तामा आल्भेसले भनेका छन्, ‘हल्यान्ड अहिले धेरैले चाहेका फरवार्ड हुन् । किनभने, उनी छिटा छन् र धेरै गोल गर्न सक्छन् । अनि, उनी भर्खर २० वर्षका भए । उनीसँग अझै १२–१४ वर्ष समय छ । यसकारण उनलाई धेरैले चाहेको हुन सक्छ,’ आल्भेसले भने ।

तर, बार्सिलोनाका लागि हल्यान्ड बेस्ट विकल्प नभएको आल्भेसले बताएका छन् । आल्भेसले भनेका छन्, ‘यति हुँदाहुँदै पनि बार्सिलोनाका लागि उनी बेस्ट विकल्प होइनन् । यदि उनी बार्सिलोना गए भने थुप्रै गोल गर्न सक्छन् तर उनले रचनात्मक सहयोग दिन सक्दैनन् । जस्तो मेस्सीले गर्दै–दिँदै आएका छन् । बार्सिलोनालाई गोल मात्रै गर्ने भन्दा पनि रचनात्मक योगदान दिने नयाँ खेलाडी आवश्यक छ । मेरो विचारमा बार्सिलोनाले हल्यान्डका लागि ठूलो महत्त्वकांक्षा राखेर ठूलो बजेट लगाउनु बुद्धिमानी होइन कि !’

आल्भेसका अनुसार बार्सिलोनाले हल्यान्डका लागि खर्च गर्ने पैसाले २ जना प्लेमेकर खेलाडी भित्र्याउन सक्छ । जसमा ब्राजिलियन डिफेन्डरले बोरुसिया डर्टमुन्ड तथा इंग्ल्यान्डका जाडोन सान्चो, जर्मनी तथा सोही देशको क्लब बार्यन म्युनिखका जोसुवा किमिच र अर्जेन्टिना तथा इटालियन इन्टर मिलानका लौटारो मार्टिनेजको नाम लिएका छन् । ‘हल्यान्डको अहिलेको मूल्य कति हो, मलाई थाहा छैन । तर, उनका लागि खन्याउने पैसामा बार्सिलोनाले जोसुवा किमिच, जाडोन सान्चो र लौटारो मार्टिनेजमध्ये २ जना खेलाडी भित्र्याउन सक्छ । क्लबका लागि यो फाइदाको बिजनेस हुनेछ । यी खेलाडी बार्सिलोनाका लागि सुहाउँदा खेलाडी हुन् । उनीहरूले टिमलाई मनग्ये योगदान दिनेछन्,’ आल्भेसले सुझाव दिँदै भनेका छन् ।

‘ट्रान्सफर मार्केट’का अनुसार सान्चोको हालको मार्केट भ्यालु १०० मिलियन युरो रहेको छ । त्यसैगरी, लौटारो मार्टिनेजको इन्टर मिलानसँग ११० मिलियन युरोको रिलिज क्लज भए पनि उनको मार्केट भ्यालु भने ७० मिलियन युरोको मात्रै छ । यता, किमिचको हालको मार्केट भ्यालु ६५ मिलियन युरो रहेको छ । अहिले सान्चो २१ वर्ष, मार्टिनेज २३ वर्ष र किमिच २६ वर्षका भए । ८ सिजन बार्सिलोनामा बिताएका आल्भेसले कूल ३९१ खेलबाट २१ गोल गर्दै विभिन्न २३ उपाधि जितेका थिए । उनले सन् २०१६ मा बार्सिलोना छाडेका थिए ।

प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार ०६:३०
Loading...