काठमाडौं, साउन १५
अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत आफ्नो दोस्रो खेलमा २०१८ को विश्व च्याम्पियन फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ । आज आइतबार राति भएको खेलमा फ्रान्सले तुलनात्मक रूपमा कमजोर टोली काजाकास्तानविरुद्ध उसकै भूमिमा ०–२ को जित निकालेको हो । यसअघि पहिलो खेलमा युक्रेनसँग १–१ को बराबरीमा रोकिएको फ्रान्सले दोस्रो खेलमा भने स्पष्ट जित निकाल्दै ३ अंक जोड्न सफल भयो ।
काजाकास्तानको एस्टाना एरिना रंगशालामा भएको खेलमा फ्रान्सले १ गोल आफैंले गरेको हो भने दोस्रो गोल उपहारमा पायो । फ्रान्सका लागि खेलको १९औं मिनेटमा पहिलो गोल उसामान डेम्बेलले निकै शानदार ढंगले गरेका थिए । उनले एन्थोनी मार्सियालको पासमा बक्स भित्रबाट लो सटमा बललाई सोझै जाली चुमाएका थिए । उनको कडा प्रहारलाई गोलकिपरले रोक्नका लागि कुनै मौका नै पाएनन् । स्पेनिस बार्सिलोनामा यो सिजन राम्रो लयमा रहेका डेम्बेलेले राष्ट्रिय टोलीमा आज राम्रो प्रदशन गरे ।
त्यसपछि फ्रान्सले खेलको ४४औं मिनेटमा उपहार गोल पायो । एन्टोनी ग्रीजम्यानले हानेको कर्नर किकबाट आएको बललाई बक्स भित्रबाट क्लियर गर्नेक्रममा काजाकास्तानका सेह्री माल्यीले हेडिङमार्फत् क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्सलाई ०–२ को अग्रता मिल्यो । तुलनात्मक रूपमा निकै कमजोर टोलीविरुद्ध पहिलो रोजाइका खेलाडी सहितको फ्रान्सले गोलका लागि ठूलै संघर्ष गर्नु परेको थियो । उसका पटक–पटकका प्रयासलाई गोलकिपरले असफल पारिदिएका थिए ।
आजको खेलमा युवा स्टार केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न असफल भए । खेलको ७५औं मिनेटमा पाएको पेनाल्टीमा उनको प्रहार काजाकास्तानका गोलकिपरले सहजै छेकेर बाहिर फालिदिएका थिए । बल लिएर बक्सभित्र पुगेका उनलाई विपक्षी खेलाडीले लडाएपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टीको मौका दिएका थिए । तर, एमबाप्पे पेनाल्टीमा चुके । त्यसपछि खेलमा थप गोल हुन सकेन । र, खेल फ्रान्सले ०–२ ले जित्यो ।
अब यो जितपछि फ्रान्सले २ खेलबाट ४ अंक बनाएको छ । ऊ समूह ‘डी’ को शीर्ष स्थानमा रहेको छ । यो समाचार बनाउँदासम्म एक खेल खेलेको बोस्निया एन्ड हर्जगोभिना दोस्रो, फिनल्यान्ड तेस्रो र युक्रेन चौथोमा छ । आज रातिका खेलपछि अंक तालिका फेरबदल हुनेछ । यी सबैको खातामा समान १–१ अंक रहेको छ । फ्रान्सले पहिलो चरणको तेस्रो खेल अब बोस्निया एन्ड हर्जागोभिनासँग खेल्नेछ । सो खेल बुधबार राति हुनेछ ।
प्रकाशित मिति १५ चैत्र २०७७, आईतवार १४:२५