रोनाल्डोको गोललाई मान्यता नदिने रेफ्रीले मागे माफी

काठमाडौं, चैत १५

फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत गत राति पोर्चुगल र सर्बियाको खेल दौरान पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको गोललाई मान्यता नदिने रेफ्रीले खेल दौरान ध्यान नपुगेको स्वीकार गरेका छन् । सर्बियामा भएको सो खेल २–२ को बराबरीमा सकिएको थियो । सर्बियाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पोर्चुगलले ०–२ को अग्रता बचाउन नसक्दा दोस्रो हाफमा २ गोल खाएर बराबरीमा चित्त बुझाउन बाध्य भयो । तर, सो खेल विवादित बन्यो ।

खेल २–२ को बराबरी स्थितिमा भएका खेल ९० मिनेटपछि थप समयको अन्तिम समय चौथो मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरेका थिए । तर, रेफ्रीले सो गोललाई मान्यता दिएनन् । मैदानको माथिल्लो भागबाट सर्बियन गोलकिपरलाई बिट गर्दै उनले हानेको हलुका लो प्रहार पोस्टमा छिरिसकेको थियो । तर, भित्र छिरिसकेको गोललाई सर्बियन डिफेन्डरले भित्रबाटै बाहिर निकाले । र, खेललाई निरन्तरता दिए । त्यो स्पष्टै गोल थियो । तर, रेफ्रीले सही निर्णय दिन सकेनन् । उनले स्पष्ट गोललाई गोल नभएको भन्दै मान्यता दिन स्वीकार गरिदिए ।

आफ्नो विजयी गोललाई रेफ्रीले मान्यता नदिएपछि कप्तान रोनाल्डोले रेफ्रीमाथि चर्को आपत्ति जनाएका थिए । गोलका लागि अपिल गर्दा रेफ्रीले उनलाई उल्टै पहेंलो कार्ड देखाइदिए । रेफ्रीको त्यस्तो व्यवहारबाट बिच्किएका रोनाल्डोले खेलको समय नसकिँदै खेल चलिरहेका बेला तत्कालै मैदान छाडे । उनले कप्तानको आर्मब्यान्ड समेत फ्याँकेर ‘यस बदमासीलाई स्वीकार गर्न सकिँदैन’ भन्दै खेल नसकिँदै मैदान छाडेका थिए । सो विषय अहिले चर्चामा छ ।

सो खेल सकिएपछि खेल खेलाउने नेदरल्यान्ड्सका रेफ्री डनी माकेइलीले पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषसँग क्षमायाचना गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा भाग लिँदै सान्तोषले सो कुरा बताए । ‘त्यो गोल थियो भन्ने थाहा पाएपछि खेलपछि रेफ्री मकहाँ आउनुभयो र क्रिस्टियानाको गोलमा त्यहाँ ध्यान नपुगेको भन्दै पश्चाताप गर्नुभयो । आफूले नियोजित रूपमा निर्णय त्यस्तो निर्णय नलिएको उहाँले मलाई बताउनुभयो । उहाँलाई मेरा खेलाडी र मैले पनि आफ्ना कुरा राख्यौं । यस्ता खेलमा रेफ्रीका गलत निर्णयले कस्तो असर पर्छ भनेर हामीले उहाँलाई सम्झायौं,’ खेलपछि सान्तोषले भने ।

सान्तोषले रोनाल्डोको गोल सरासर स्पष्ट गोल रहेको बताउँदै रेफ्रीको लापरबाहीका कारण गोल गणना नभएको बताए । ‘क्रिस्टियाको प्रहारबाट गएको बलले गोल लाइन नाघेर गइसकेको थियो । त्यो गोल गणना नहुनु एक खेलाडीका लागि ठूलो अन्याय हो । यस्ता अफिसियल ठूला खेलमा पनि गोल लाइन टेक्नोलोजी नहुनु दुखद् हो,’ सान्तोषले भने, ‘जब कुनै टिमको विजयी गोल रेफ्रीको गलत निर्णय वा लापरबाहीका कारण गुम्छ भने त्यसको मूल्य कति हुन्छ ? यस्ता कुरा कहिल्यै पनि स्वीकार गर्न सकिँदैन ।’

प्रकाशित मिति १५ चैत्र २०७७, आईतवार ०७:४९
Loading...