कतार विश्वकप छनौट : पहिलो खेल हारेका नेदरल्यान्ड्स र क्रोएसियाले जिते

काठमाडौं, चैत १५

फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत आफ्नो पहिलो खेल हारेका नदेरल्यान्ड्स र क्रोएसिया दुवैले आ–आफ्नो दोस्रो खेलमा जित निकालेका छन् । गत राति भएको आफ्नो खेलमा नेदरल्यान्ड्सले आफ्नो घरेलु मैदानमा लाटभियामाथि २–० को सहज जित निकाल्यो । यसअघि पहिलो खेलला नेदरल्यान्ड्स टर्कीसँग अप्रत्यासित ४–२ हारको सिकार भएको थियो ।

आफ्नो भूमिमा नेदरल्यान्ड्सका लागि खेलको ३२औं मिनेटमा स्टेभेन बर्घिइजले पहिलो गोल गरेका थिए । त्यसपछि दोस्रो गोल खेलको ६९औं मिनेटमा लुका डे जोङले गरेका थिए । यसअघि पहिलो खेलमा पनि डे जोङले १ गोल गरेका थिए । डे जोङको दोस्रो गोेलपछि खेलमा थप गोल नभएपछि खेल डच टोलीले २–० ले जित्यो । अब यो जितपछि समूह ‘जी’मा रहेको नेदरल्यान्ड्सको २ खेलबाट ३ अंक भएको छ । टर्की र मोन्टेनेग्रो ३ वटै खेल जितेर समान ६–६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।

यता, गत राति नै भएको अर्को खेलमा अर्को बलियो टोली क्रोएसियाले पनि जित निकालेको छ । यसअघि पहिलो खेलमा स्लोभेनियासँग १–० ले पराजित क्रोएसियाले दोस्रो खेलमा जित निकालेको हो । क्रोएसियाका लागि १ मात्रै गोल खेलको ४०औं मिनेटमा इभान पेरिसिचले गरेका थिए । अब यो जितपछि क्रोएसियाले २ खेलबाट ३ अंक बनाएर समूह ‘एच’ को तेस्रो स्थानमा छ । दुवै खेल जितेको रसिया शीर्ष स्थानमा छ भने स्लोभेनिया ३ अंकसहित दोस्रोमा छ ।

प्रकाशित मिति १५ चैत्र २०७७, आईतवार ००:५७
Loading...