थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल : बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौं, चैत १४

नेपाल आफ्नो भूमिमा जारी थ्री नेसन्स कप अन्तर्राष्ट्रिय कप फुटबलको फाइनल प्रवेश गरेको छ । आज शनिबार भएको अन्तिम लिग खेलमा नेपाल पाहुना टोली बंगलादेशसँग गोलरहित ०–० को बराबरी खेल्दै फाइनल पुग्न सफल भएको हो । फाइनल प्रवेशका लागि आज नेपाललाई कम्तीमा पनि नहारी बराबरी नतिजा आवश्यक रहेको अवस्थामा घरेलु टोलीले न्यूनतम नतिजा सुरक्षित गर्दै कपको फाइनल प्रवेश गर्न सफल भएको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु भएको खेलमा नेपालले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि गोलविहीन नतिजामा चित्त बुझाउन बाध्य भयो । आज पनि नेपाललाई गोलको खडेरी उस्तै रह्यो ।

यसअघि पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोलीसँग पनि ०–० को बराबरी खेलेको नेपालले लिग चरणको अन्तिम खेलमा पनि बंगलादेशसँग गोलरहित अर्को ०–० को बराबरीमा सीमित हुन पुग्यो । बंगलादेशले भने यसअघि पहिलो खेलमा किर्गिस्तानलाई हराएर ३ अंक जोडेको थियो । आज नेपालसँग खेल्नुअघि नै बंगलादेश भने फाइनल पुगिसकेको थियो । यता, नेपाललाई भने फाइनल प्रवेशका लागि आजको खेलमा जित वा कम्तीमा बराबरी नतिजा आवश्यक थियो । नेपालले बंगलादेशसँगको खेलमा १ अंक जोडेपछि किर्गिस्तानलाई पछि पार्दै नेपाल फाइनल पुग्न सफल भयो ।

यसअघि किर्गिस्तानविरुद्ध निकै फितलो खेलको नेपालले आज बलियो टोली बंगलादेशविरुद्ध सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न भने सकेन । नेपाले खेलभरि नै बंगलादेशविरुद्ध दबाब बनाएर आक्रामक खेल पस्किए पनि नेपाली फरवार्ड लाइनले बललाई जाली चुमाउन सकेनन् । खेलभरिमा नेपालले कम्तीमा ६ पटक अवसर बनाए पनि चुकेका थिए । पहिलो हाफमा नेपालले २१औं मिनेटमा अवसर पाउँदा अन्जन विष्ट चुकेका थिए । त्यसपछि २८औं मिनेटमा मिडफिल्डर त्रिदेव गुरुङ पनि चुकेका थिए ।

दोस्रो हाफमा नेपालले अझै बढी आक्रामक खेल खेल्यो र पटक–पकट अवसर बनायो । ५ जना खेलाडी परिवर्तन गरेको नेपाल दोस्रो हाफमा कम्तीमा दुई राम्रा अवसर सिर्जना गरेको थियो । तर, पाहुना टोलीको रक्षापंक्ति नेपालले तोड्न सकेन । यसै खेलबाट नेपालमा ३ जना युवा खेलाडीले अन्तर्राष्ट्रिय डेब्यु गरे । अब फाइनल खेल नेपाल र बंगलादेशबी सोमबार साँझ हुनेछ ।

प्रकाशित मिति १४ चैत्र २०७७, शनिबार १३:१२
Loading...