नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ बराबरीमा सकियो, नेपालको सुधारिएको प्रदर्शन

काठमाडौं, चैत १४

थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा अहिले लिग चरणको अन्तिम खेलमा आयोजक नेपाल र पाहुना टोली बंगलादेश बीचको खेल जारी छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपालका लागि फाइनलल पुग्न निर्णायक रहेको खेलमा उसले भ्रमणकारी टोलीविरुद्ध राम्रो प्रदर्शन गरिरहेको छ । यसअघि पहिलो खेलमा किर्गिस्तानसँग ०–० को बरारबी खेल्दा फितलो प्रदर्शन गरेको नेपालले आजको खेलमा उल्लेख्य सुधार गरेर बंगलादेशविरुद्ध लगातार दबाब बनाएर खेलिरहेको छ ।

पहिलो हाफमा नेपालले तीनपटक राम्रा अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेन । नेपालका लागि खेलको २१औं मिनेटमा अन्जन विष्टले गोलको अवसर पाए पनि फिनिसिङमा चुक्दा नेपाल निकै राम्रो अवसरमा अग्रता लिनबाट चुकेको थियो । त्यसपछि खेलको २८औं मिनेटमा नेपालका लागि मिडफिल्डर त्रिदेव गुरुङले बक्सभित्र अवसर पाए पनि उनले परिपक्व निर्णय गरेर राम्रो सट हान्न नसक्दा नेपालको दोस्रो प्रहार पनि बाहिर गएको थियो ।

तुलनात्मक रूपमा नेपालले पहिलो हाफमा अघिल्लो खेल हेरी निकै राम्रो प्रदर्शन गर्न सक्यो । उसले बंगलादेशविरुद्ध लगातार दबाब बनाएर खेल्यो । यता, बंगलादेशले भने पहिलो हाफमा नेपालको पोस्टमा एकपटक राम्रो आक्रमण बुन्न सकेन । आजको यो खेललाई फिफाले अन्तर्राष्ट्रिय खेलको मान्यता दिएको छ । बंगलादेश यसअघि नै पहिलो खेल जितेर फाइनल पुगिसकेको छ भने नेपाल फाइनल प्रवेश गर्न आज नहारी बराबरी गर्दै १ अंक जोडे पनि पुग्छ ।

प्रकाशित मिति १४ चैत्र २०७७, शनिबार १२:००
Loading...