रोनाल्डोभन्दा मेस्सी बेस्ट : रियलका खेलाडीले यसरी गरे मेस्सीको उच्च प्रशंसा

एजेन्सी, चैत १४

स्पेनिस क्लब रियल मड्रिडका खेलाडी ड्यानी कार्भाहालले आफ्नो कट्टर प्रतिस्पर्धी क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीको प्रशंसा गरेका छन् । उनले विगतमा लामो समय आफ्नो सहकर्मी रहेका क्रिस्टियानो रोनाल्डो र मेस्सीको तुलना गर्दै मेस्सीलाई प्रतिभाका हिसाबले उत्कृष्ट खेलाडी भनेका छन् । पोर्चुगिज खेलाडी रोनाल्डो सन् २००९ देखि २०१२ सम्म रियलमा थिए । त्यस दौरान कार्भाहालले रोनाल्डोसँग सहकर्मी भएर खेले, थुप्रै उपाधिहरू जिते । रोनाल्डोको नायकत्वमा रियलले ऐतिहासिक सफलताहरू पाएको थियो । उनले सन् २०१८ मा इटालियन युभेन्टस जान रियल मड्रिड छाडेका थिए ।

हाल चोटबाट फिट हुनेक्रममा रहेका स्पेनिस राइट ब्याक खेलाडीले मेस्सीलाई फुटबलको विद्धताका हिसाबले रोनाल्डोभन्दा बेस्ट मान्ने बताए । विपक्षीको बक्समा डिफेन्डरका लागि मेस्सी सधैं खतरनाक हुने र उनले जस्तोसुकै अवस्थामा पनि बलका लागि स्पेस बनाउने भन्दै कार्भाहालले तारिफ गरेका छन् । ‘क्रिस्टियानोभन्दा मेस्सीले फुटबललाई बढी विद्धता प्रदान गर्छन् । किनभने, उनीसँग बल पास गर्न र सप्लाई गर्न बौद्धिक दृष्टि हुन्छ । यदि उनको खुट्टामा बल छ भने जस्तोसुकै घेराबन्दी वा कडा डिफेन्समा पनि उनले स्पेस निकाल्छन् र बललाई दिशा दिएरै छाड्छन् । बक्स क्षेत्रमा वा त्यसको नजिक मेस्सीले बल पाए भने सजिलै छाड्दैनन् । त्यहाँ उनले गोलका अवसर सिर्जना गरेरै छाड्छन् । त्यो बेला उनलाई रोक्न कुनै पनि डिफेन्डरले सही वा गलत फउल गर्नैपर्छ,’ मेस्सीको प्रशंसा गर्दै कार्भाहालले भनेका छन् ।

कार्भाहालले क्रिस्टियानो मानसिक रूमा खतरनाक खेलाडी भएको र उनीसँग खेलेर उपाधि जित्न सकिने बताएका छन् । मेस्सीसँग खेल्दा खेल जित्न सकिने र रोनाल्डोसँग खेलेर उपाधि जित्न सकिने कार्भाहाले बताएका छन् । ‘मैले भनें, मेस्सी बौद्धिक फुटबलका लागि बेस्ट हुन् । उनीसँग खेल्दा खेल जित्न सकिन्छ । तर, क्रिस्टियानोसँग खेल्दा उपाधि जित्न सकिन्छ । च्याम्पियन बन्न सकिन्छ । किनभने, क्रिस्टियानोसँग च्याम्पियन अठोट र आत्मविश्वास छ, जुन मेस्सीसँग छैन । खेल प्रतिभाका हिसाबले म मेस्सीलाई लिन्छु । तर, उपाधि जित्नका लागि क्रिस्टियानोलाई । तपाईं क्रिस्टियानोसँग कुनै पनि फाइनल खेल्दै हुनुहुन्छ भने त्यहाँ सधैं च्याम्पियन बन्ने सम्भावना ९९ प्रतिशत हुन्छ । मैले रियल मड्रिडमा क्रिस्टियानोसँग ११ वटा फाइनल खेलें र ती सबै हामीले जित्यौं । क्रिस्टियानो फाइनलका नायक हुन् ।’

मेस्सीले बार्सिलोना छाड्न लागेको विषयमा पनि कार्भाहालले सम्मानजनक भनाइ राखेका छन् । मेस्सी र उनको टिमसँग आफ्नो प्रतिस्पर्धा रहे पनि एक खेलाडीका रूपमा उनले बार्सिलोनाबाटै फुटबल करिअर अन्त्य गर्दा राम्रो हुने कार्भाहालले बताएका छन् । ‘मेस्सी र उनको टिम मेरा लागि प्रतिस्पर्धी हो । तर, मैदानबाहिर एक उत्कृष्ट खेलाडीका हिसाबमा उनीप्रति सधैं उच्च सम्मान छ । सबैप्रति रहन्छ । उनले बार्सिलोना छाड्दैछन् कि छैनन्, त्यो मलाई थाहा छैन । तर, उनले बार्सिलोनाबाटै करिअर अन्त्य गर्नु राम्रो हो । किनभने, उनी र बार्सिलोनाबीच विशेष सम्बन्ध छ,’ कार्भाहालले भने ।

जारी सिजन ला लिगा उपाधिबारे पनि कार्भाहालले आफ्नो भनाइ राखेका छन् । ‘अब लिगमा धेरै खेल बाँकी छैनन् । अहिलेको अवस्थामा एथ्लेटिको मड्रिड राम्रो स्थितिमा छ । तर, बार्सिलोना र हामी पनि उपाधि दौडमा छौं । लिगमा सबैले केही महत्त्वपूर्ण खेलहरू खेल्न बाँकी रहेकले लिग अझै सबैका लागि खुला छ । मलाई लाग्छ, दोस्रो क्लासिको र बार्सिलोना–एथ्लेटिकोबीचको खेलपछि उपाधि दाबेदार टिम अगाडि देखिनेछ,’ कार्भाहालले भनेका छन्, ‘रियल मड्रिड अहिले ठीक छ । ला लिगामा हाम्रो प्रयास अन्तिम खेलसम्म राम्रो गर्दै जानु हो । मलाई लाग्छ, अंकगणित र व्यवहारिक दुवै हिसाबले रियल पनि उपाधि होडमा छ । खेलहरू कसरी अघि बढ्दै जान्छन्, हामी हेर्छौं ।’

कार्भाहालले रियल मड्रिडको मुख्य लक्ष्य यो सिजन च्याम्पियन्स लिग हुने र त्यसका लागि टिमले अन्तिमसम्म नै संघर्ष गर्ने बताए । रियल १४औं युरोपियन उपाधिका लागि सही दिशामा रहेको पनि कार्भाहालले बताएका छन् । ‘हामी सधैं सबै कुरा जित्न नै चाहन्छौं । सबै यही चाहन्छन् । हामीले यो सिजन सुपर कप जित्यौं भने कप गुमायौं । हाम्रा लागि अहिले पनि ला लिगा र च्याम्पियन्स लिग दुवै खुला छ । अबको हाम्रो लक्ष्य ला लिगा र च्याम्पियन्स लिग दुवै हो,’ कार्भाहालले भनेका छन्, ‘ तर, हाम्रो मुख्य ध्यान च्याम्पियन्स लिगमा छ । किनभने, हामी यसपटक १४औं पटक यो उपाधि जित्न चाहन्छौं । र, रियल मड्रिड त्यसका लागि सही दिशामा छ ।’

प्रकाशित मिति १४ चैत्र २०७७, शनिबार ०६:३७
Loading...